बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारम्बार पेटमा ग्यास किन भरिन्छ ?

शनिबार, ०६ कात्तिक २०७८, १३ : २९
शनिबार, ०६ कात्तिक २०७८

पेटमा ग्यास भरिने समस्याले धेरैलाई सताएको छ । प्रायः ग्यासको समस्या केही समयपछि आफै ठिक पनि हुन्छ । त्यसैले मानिसहरु यो समस्यालाई गम्भीर रुपमा लिने गर्दैनन् । विशेषगरी, ग्यासको समस्याले सताएमा यसको उपचारको रुपमा घरेलु विधि अपनाउने गरिन्छ । कहिलेकाँही ग्यासको समस्या धेरै दिनसम्म रहँदा धेरै गाह्रो हुने गर्छ । जीवनशैली र खानामा परिवर्तन गर्दै जाने हो भने यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसभन्दा अगाडि ग्यासको समस्या के कारणले हुन्छ भन्ने कुरा जान्न आवश्यक छ । 

केही व्यक्तिहरुलाई कुनै विशेष खाना पचाउन समस्या हुन्छ । खासगरी, कार्बोहाइड्रेटयुक्त खानेकुरा पचाउन समय लाग्छ । यस्तै, कसैलाई दूधयुक्त खानेकुरा पचाउन समस्या हुन्छ । कसैलाई फ्रुक्टोस ड्रिंक्स पचाउन समस्या हुन्छ । कसैलाई ग्लुटेन डाइट पचाउन समस्या हुने भएकाले यसले पेटमा ग्यासको समस्या निम्त्याउँछ । 

यसका साथै, इरिटेबल बाउल सिन्ड्रोमका कारण पनि पेटमा दुखाई र दिसा गर्न समस्या हुन्छ । यसले पखाला लाग्ने र कब्जियतको समस्या गराउँछ । जसको कारण पेटमा ग्यास जम्मा हुन्छ । र दुख्न थाल्छ । कहिलेकाँही उपचारका लागि खाइने औषधि, भावनात्मक तनावको कारण पनि यस्तो समस्या हुन सक्छ । इरिटेबल बाउल सिन्ड्रोमको लक्षण अचानक नै देखिन्छ र आफै निको पनि हुन्छ । यस्तो समस्या बारम्बार भइरहेमा डाक्टरको सल्लाह लिन आवश्यक छ । 

यस्तै, ग्यास्ट्रोएसोफेगल रिफ्लक्स रोगका कारण पनि ग्यासको समस्या आउँछ । यसमा खाना खाएपछि खाना नलीबाट खाना बाहिर आउन लागेको जस्तो अनुभव हुन्छ । जसले छातीमा जलन, पेटमा एसिड भरिने र घाँटीमा केही अड्किएजस्तो महसुस हुन्छ । यसको कारण भने धेरै तारेको, भुटेको र पोलेको खाना, चकलेट, कफी र मादकपदार्थको सेवन गर्नु हो । मोटोपन र गर्भावस्थामा पनि यस्तो समस्या आउँछ । 

त्यसैगरी, आन्द्रामा ब्याक्टेरियाको संख्या बढ्नुले पनि पेटमा समस्या पैदा गर्छ । आन्द्रामा भएको ब्याक्टेरियाले अतिरिक्त ग्यास बनाउँछ । जसले गर्दा सधैँ ग्यास भरिएको अनुभव हुने गर्छ । 

पेटमा अत्यधिक ग्यास बन्नु अन्य विभिन्न प्रकारका रोगहरुको संकेत पनि हुन सक्छ । डंपिङ सिन्ड्रोम (एक यस्तो रोग हो जसमा खाना पाचन तन्त्रबाट छिट्टै बाहिरिन्छ), हर्निया, ट्युमर जस्ता कारण आन्द्रामा रोकावट आउन थाल्छ । पथ्थरी, पित्त थैलीमा पथ्थरी, पित्ताशय सुन्निनु, पेप्टिक अल्सर जस्ता रोगका कारण पनि पेटमा ग्यास भरिने गर्छ । त्यसैले यस्तो समस्या बारम्बार भएमा तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप