चीनले बाइडेनलाई भन्यो : सम्हालिएर बोल्नुस्

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । बाइडेनको उक्त अभिव्यक्तिको जवाफ दिदैं चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका विषयमा बोल्दा अमेरिकाले शब्द चयनमा सतर्कता अपनाउनुपर्ने बताए ।
उनले ताइवानका विभाजनकारीलाई गलत संकेत दिन नहुने बताए । यस्तो अवस्था निर्माण भएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने बताए । ‘ताइवान चीनको अविवादित अंग हो । ताइवानको मुद्दा पुरै रुपमा चीनको आन्तरिक मामिला हो र यसमा कुनै पनि विदेशी दखलका लागि अनुमति छैन,’ नियमित प्रेस बिफ्रिङका क्रममा उनले भने ।
बाइडेनले के भनेका थिए ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपतिलाई के तपाईहरु ताइवानको रक्षा गर्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा बाइडेनले भने, ‘हो, हामी यसका लागि प्रतिवद्ध छौं ।’
भर्खरै चीनले परीक्षण गरेको हाइपसोनिक मिसाइलको प्रसङ्ग जोड्दै अमेरिकी न्युज च्यानल सीएनएनको टाउनहल कार्यक्रममा एक सहभागीले बाइडेनलाई चिनियाँ सेनाको सामना कसरी गर्नुहुन्छ भनेर पनि सोधेका थिए । जवाफमा बाइडेनले भने, ‘हो, उनीहरु मजबुत हुँदैछन् । तर यसैलाई लिएर निराश हुनुपर्ने अवस्था छैन । किनकी, चीन, रुस र बाँकी दुनियाँलाई विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हामीसँग छ भन्ने थाहा छ ।’
ताइवानले के भन्यो ?
ताइवानको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कसैको दबाबमा नझुक्ने र कसैको समर्थन मिल्दैमा हतारोमा कुनै कदम नचाल्ने प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपतिका प्रवक्ता जेवियर चेंगले भने, ‘ताइवानले बलियो रुपमा आत्मरक्षा गर्नेछ ।’ बाइडेन प्रशासनले लगातार ताइवानलाई ठोस समर्थन दिइरहेको चेंगले बताए ।
सधैंको जटिल सम्बन्ध
चीन र ताइवानबीच दशकौंदेखि तनाव छ । १९४० को दशकमा भएको गृहयुद्धका दौरान चीनबाट ताइवान अलग भएको थियो । ताइवानले आफुलाई स्वतन्त्र देश मान्ने गरेपनि चीनले यसलाई आफ्नो स्वायत्त प्रान्तका रुपमा हेर्छ । उसले आवश्यकता परेका बेला बल प्रयोग गरेर यस प्रान्तलाई नियन्त्रण लिन सकिने जनाएको छ ।
ताइवानको आफ्नै संविधान, लोकतान्त्रिक रुपले चुनिएका नेता र झन्डै तीन लाख सक्रिय सैनिक छन् । ताइवानलाई केही देशले मात्रै मान्यता दिएका छन् । अमेरिकाले पनि ताइवानसँग आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध राख्दैन । तर, ताइवान रिलेसक्स एक्टअन्तर्गत उसले हतियार बेच्छ । अमेरिकाले ताइवानको आत्मरक्षाका लागि आवश्यक सहयोग दिने विषय यस एक्टमा उल्लेख छ ।
बिग्रँदो सम्बन्ध
पछिल्लो समय चीन र ताइवानबीच एकपटक फेरि गहिरो तनाव देखिएको छ । लगातार ताइवानको हवाई क्षेत्रमा हस्तक्षेप गरेपछि चिनियाँ नेताहरुले ताइवानलाई एकिकरण गर्ने बताएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको एकिकरण पूरा हुनुपर्ने बताएका थिए ।
सीले एकिकरण शान्तिपूर्ण रुपमा हुनुपर्ने बताउँदै आएका छन् । चिनियाँ जनतामा विभाजनकारी तत्वको विरोध गर्ने एक ‘महान् परम्परा’ रहिआएको उनले बताएका थिए । जवाफमा ताइवानले आफ्नो भविष्यमा आफ्ना जनताको हातमा रहेको प्रतिक्रिया दिएको थियो ।
ताइवानका राष्ट्रपति साई इंग वेनले ताइवानले आफ्नो सुरक्षा बलियो बनाउने बताएका थिए । चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएमा यसको परिणाम विनाशकारी हुने उनले बताएका थिए । चिनियाँ जनमुक्ति सेनाले अक्टुबर महिनाको पहिलो चार दिन झन्डै १ सय ५० वटा लडाकु विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल