शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनसीसीहरूको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

शनिबार, ०६ कात्तिक २०७८, ०९ : ०३
शनिबार, ०६ कात्तिक २०७८

गैर आवासीय नेपाली संघ (एनआरएन) को दसौँ महाधिवेशन रोकिएपछिको अन्योल चिर्न एनसीसीहरूको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् । भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न उनीहरूले आग्रह गरेका हुन् ।

महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी ) हरूको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । आगामी आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए । ‘एनसीसीका साथीहरूले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि  नै भेला आयोजना गरेका हौँ’ उनले भने । यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे ।

‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौँ । यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौँ । विधानको १६.४ मा एनसीसी अध्यक्षहरूको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ । हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्‍याउने छौँ ।’

संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व  भेला आयोजना गर्न लागेको उनले बताए ।  भेला उद्घाटन समारोहमा परराष्ट्रमन्त्री, संघका पूर्व अध्यक्षहरू, आईसीसीका पदाधिकारीहरूलाई निमन्त्रणा गरिएको उनले बताए । त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरूबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले जानकारी दिए । सबै एनसीसीहरू केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए ।

एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक सङ्कटकालीन स्थितिमा  एनआरएनए पुगेको टिप्पणी गरे । ‘यो समयमा हामी आफै सक्रिय भएर निराकरण नगरेमा एनआरएनए नै रहने या नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौँ’, उनले भने, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो ।’

कार्यक्रममा एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरूको काँधमा पनि जिम्मेवारी आएको बताइन् । ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरू लाग्नुपर्छ’, उनले भनिन्, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु ।’

​कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरूको भेला विधान सम्मत नै रहेको स्पष्ट पारे।   । ‘संशोधित विधान अनुसार १६.१.४ मा आशय लेखिएको छ । राष्ट्रिय समितिहरूको आधारमा आईसीसी बनेको हो । १८ वर्षमा पहिलो पटक हुन लागेकाले असहज लागेको हुन सक्छ’, श्रेष्ठले भने, ‘कर्तव्य सँगसँगै अधिकार पनि आउने भएकाले आईसीसी प्यासिभ हुँदा एनसीसी एक्टीभ हुनसक्छ भन्ने आशय भएको श्रेष्ठले बताए । ‘एनआरएनए फुटाउने भन्ने होइन ।’

त्यसैगरी एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पहिलोपटक १० औं महाधिवेशन तोकिएको समयमै नभएकाले एनसीसीहरू अन्योलमा परेकाले अन्योल हटाउन आफुहरू लागि परेको जानकारी दिए । ‘नेपाल सरकारले मान्यता दिएको संस्थालाई एक ढिक्का बनाउनु पर्छ र अन्योल हटाउनु पर्छ भनेर नै लागेका छौँ’, उनले भने, ‘ दशौँ महाधिवेशन तथा चुनाव ३० नोभेम्बर भित्र हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । एनसीसी बिना आईसीसी चल्दैन । हामीले यो उहाँहरूलाई झकझक्याएको मात्र हो ।’

कार्यक्रम दुई तहमा गरिने  र भेलामा ६२ एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहने संयोजक सुवेदीले बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप