एअर इन्डिया किन बेचियो ?
कुनै समय एअर इन्डियालाई विश्वकै उत्कृष्ट हवाई सेवा प्रदायक मानिन्थ्यो । विलासी यात्रा, विश्व स्तरीय खाना र विमानभित्र अद्भुत सजावट ! एअर इन्डिया यति आकर्षक थियो कि सिंगापुर एयरलाइन्सले पनि आफ्ना विमान सजाउन एअर इन्डियाबाटै प्रेरणा लिएको थियो ।
हवाई उड्डयनमा विश्वकै मानक बनेको एअर इन्डिया पछिल्लो दशकमा निकै जर्जर बन्यो । खर्बौँ रुपैयाँ घाटा भएपछि भारत सरकार यो विमान कम्पनीलाई बेच्न अर्थात् निजीकरण गर्न बाध्य भयो । विश्वकै महानतम् विमान सेवा बनेको एअर इन्डिया कसरी यो हालतमा आइपुग्यो ? यो सामग्रीमा हामी एअर इन्डियाकै उत्थान र पतनबारे चर्चा गर्दैछौँ ।
भारतमा पहिलो हवाई उडान
सन् १९०३ मा राइट ब्रदर्सले विश्वकै पहिलो विमान उडाएका थिए । त्यसको आठ वर्षपछि सन् १९११ मा भारतले पहिलो विमान उडायो । सो विमानका पाइलट फ्रेञ्च नागरिक हेनरी पिकेट थिए । हेनरीले अलाहबादबाट नैनीसम्म १५ मिनेट उडान भरे । उनले उडाएको विमानमा हजारौँ चिठ्ठी थिए । भारतमा उडाइएको सो पहिलो विमानले महाकुम्भ मेलाका लागि पठाइएको चिठ्ठी पत्र बोकेको थियो ।
चिठ्ठी पत्र बोकेको पहिलो विमान उडाएको भारतमा त्यसको २० वर्षपछि सन् १९३२ मा व्यवसायिक हवाई उडान सुरु गरिएको थियो । सो वर्षको अक्टोबर १५ मा जहाँगिर रतनजी दादाभाइ टाटा (जेआरडी टाटा) ले कराँचीदेखि मुम्बईसम्म एअर इन्डियाको पहिलो विमान उडाएका थिए । त्यतिखेर जहाँगिरले उडाएको सो विमानको नाम टाटा एयरलाइन्स थियो । त्यो यात्रा निकै ऐतिहासिक थियो ।
कोही भारतीय नागरिकले विमान उडाउने आकाङ्क्षा पूरा गर्न त्यतिखेर सहज थिएन । जहाँगिरले त्यसका लागि नै संघर्ष गरेका थिए । यो विमान उडाउनुभन्दा ३ वर्ष पहिले जेआरडी टाटा त्यस्ता भारतीय थिए–जोसँग उडान अनुमतिपत्र (फ्लाइङ लाइसेन्स) थियो । हवाईजहाज उडाउनु जेआरडी टाटाका लागि एक जोस र सपना थियो ।
उनले भारतदेखि बेलायतसम्म विमान उडाउने प्रतिस्पर्धामा भाग लिएका थिए । भारतमा नागरिक उड्डयन सुरु गर्नुका पछाडि जेआरडी टाटाको प्रमुख महत्त्वाकाङ्क्षा थियो–आम नागरिकलाई हवाईजहाजमा उड्ने मौका दिनु ।
टाटा एयरलाइन्स स्थापना
तर, सो मौका सृजना गर्न त्यति सहज थिएन । सरकारको सहयोग आवश्यक थियो । त्यतिखेर त भारतमा बेलायती राज (औपनिवेशिक शासन) चलिरहेको थियो । इष्ट इन्डिया कम्पनीको सरकार भारतीयका लागि त्यति सहयोगी थिएन । बेलायती शासकका लागि जेआरडी टाटालाई भारतमा नागरिक उड्डयन स्थापना गर्न रकम दिने कुरा फाइदाजनक हुने पनि भएन ।
तर, ती दिनमा दोरब्जी टाटा बेलायत अधीनस्थ भारतका एक प्रमुख व्यवसायी थिए । दोरब्जीले जेआरडी टाटाको आकाङ्क्षालाई मूर्तरूप दिन लगानी गर्न चाहे । टाटाले भारतमा नागरिक उड्डयन सुरु गराउन अङ्ग्रेज सरकारलाई मनाउन निकै प्रयास गरे । उनले एकपछि अर्को प्रस्ताव राखे, तर अङ्ग्रेज सरकारले सबै प्रस्तावलाई अस्वीकार गर्यो । अनेक कोसिस गर्दा पनि नमानेपछि अङ्ग्रेज सरकारका अधिकारीहरूकहाँ पुगेर उनले भने, ‘ठिक छ ! हामीलाई तिमीहरूको पैसा चाहिँदैन । हामीले थालेको सेवा तिमीहरूलाई नै दान गर्छौँ । तिमीहरूले हामीलाई विमान र त्यसलाई उडाउन अनुमति देऊ ।’
दोरब्जीले गरेको यो आग्रह अङ्ग्रेज सरकारले स्वीकार ग¥यो र भारतमा टाटा एयरलाइन्स स्थापना भयो । अङ्ग्रेज सरकारले अनुमति दिएपछि टाटा एयरलाइन्सले कराँचीदेखि बम्बईसम्म पहिलो उडान भर्‍यो । सो उडान भरेको विमानले २५ किलोग्राम चिठ्ठी पत्र बोकेको थियो । स्वयम् जेआरडी टाटाले यो विमान उडाएका थिए । सोही वर्ष टाटा एयरलाइन्सले आन्तरिक उडान सेवा थाल्यो । त्यतिखेर बम्बईबाट मद्राससम्म हवाई यात्रा गर्ने यात्रुले २५६ भारतीय रुपैयाँ तिरेर टिकट किन्न सक्थे ।
सन् १९४६ मा टाटा एअरलाइन्सको नाम एअर इन्डिया राखियो र पब्लिक लिमिटेड कम्पनी बनाइयो । अर्थात्, यो कम्पनीको शेयर सर्वसाधारण नागरिकले पनि खरिद गर्न पाए । सन् १९४८ मा भारत स्वतन्त्र भइसकेको थियो । स्वतन्त्र भएपछि बनेको भारतीय सरकारले एअर इन्डियाको ४९ प्रतिशत शेयर किन्यो । सोही वर्ष जेआरडी टाटाले एअर इन्डिया इन्टरनेशनल कम्पनी स्थापना गरे । सो कम्पनीमार्फत चलाइने विमानले अन्तर्राष्ट्रिय उडान भर्न थाल्यो ।
नेहरुले राष्ट्रियकरण गरेपछि ...
सन् १९५३ मा एअर इन्डियामा ठुलो परिवर्तन देखियो, एअर इन्डिया सुरु गरेका जेआरडी टाटाका लागि सो घटना निकै दुःखद थियो । भारत सरकारले त्यहाँको सम्पूर्ण विमान सेवा राष्ट्रियकरण गरिदियो । त्यसको अर्थ भारतमा रहेका सबै विमान सेवा कम्पनीहरू सरकारीकरण हुनु थियो ।
भारत सरकारले आठवटा आन्तरिक विमान सेवा प्रदायक कम्पनीहरूलाई गाभेर एउटै बनाइदियो र इन्डियन एयरलाइन्स नामकरण गरिदियो । एअर इन्डियाको आन्तरिक उडान गर्ने कम्पनी पनि इन्डियन एअरलाइन्सको एक हिस्सा बनाइयो । सरकारले एअर इन्डिया इन्टरनेशन पनि राष्ट्रियकरण गरिदियो । सो कम्पनीलाई सार्वजनिक क्षेत्रको एउटा इकाई अर्थात् सरकारी कम्पनी बनाइयो ।
सन् १९५० मा ठूलाठूला उद्योगलाई राष्ट्रियकरण गर्नु जवाहरलाल नेहरु सरकारको प्रमुख नीति नै बन्यो । उद्योगहरूलाई सरकारी माध्यमबाटै सहयोग दिएर देशको उन्नति गर्ने लक्ष्य राखेको नेहरु सरकारले दाबी ग¥यो । तर, निजी व्यवसायी र लगानीकर्ताहरूले अवसर गुमाएका थिए । उद्योगी र ठूला व्यवसायीहरू नेहरु सरकारको नीतिप्रति खुसी थिएनन् । जेआरडी टाटा पनि तिनै व्यवसायीमध्ये एक थिए ।
इतिहासको यो हिस्सा निकै चाखलाग्दो छ । किनकी, तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र जेआरडी टाटा निकै असल साथी थिए । नेहरुले भारतमा वैज्ञानिक प्रगतिको वकालत गर्थे । एअर इन्डियाले भारतको नागरिक उड्डयन क्षेत्रमा गरेको परिवर्तनको उनी प्रशंसा गरिरहन्थे । जेआरडी टाटा पनि पण्डित नेहरुको निकै प्रशंसा गर्थे ।
तर, सन् १९५३ मा जब भारत सरकारले ‘एअर कर्पोरेशन ऐन’ पारित ग¥यो र एअर इन्डियालाई राष्ट्रियकरण गरिदियो–जेआरडी टाटाले सरकारको यो कदमलाई आफूमाथिको धोका सम्झिए । उनले आफ्ना परम मित्र नेहरुको यो कदमलाई स्वीकार गरेनन् । राष्ट्रियकरणबारे जेआरडी टाटाको अवधारणा सुरुदेखि नै नेहरुको भन्दा भिन्न थियो । उनी जब राष्ट्रियकरणबारे नेहरुसँग कुरा गर्न चाहन्थे–नेहरु आफ्नो अनुहार अर्कैतिर फर्काउँथे । टाटाले भनेका छन्, ‘जब म अर्थतन्त्र, राष्ट्रियकरण र कर्मचारीतन्त्रबारे नेहरुसँग कुरा गर्न चाहन्थेँ–तब उनले यसमा रुचि नै देखाउँदैनथे । त्यतिमात्र होइन, उनी यी मामिलामा कुरा नै चाहँदैनथे । जब म यी विषयमा कुरा गर्न थाल्थेँ–उनी आफ्नो टाउको झ्यालतिर घुमाउँथे । मैले उनको इच्छाको भेउ पाइहाल्थेँ ।’
नेहरुले पछि टाटालाई एउटा पत्र लेख्दै राष्ट्रियकरणको नीति किन लिइयो भन्नेबारे व्याख्या गरे । उनले सो पत्रमा काँग्रेस पार्टीले २० वर्ष अघिदेखि नै यस्तो गर्न चाहेको, तर नसकेको उल्लेख गरेका थिए । सरकार एअर इन्डियाको विरुद्धमा नरहेको, तर एअर इन्डियालाई राष्ट्रियकरण गर्नु भारतका लागि उपयुक्त हुने लागेको सो पत्रमा उल्लेख गरिएको थियो ।
नेहरुले चालेको कदमप्रति जेआरडी टाटा असन्तुष्ट थिए । तर, उनले सरकारी निर्णयविरुद्ध केही गर्न सकेनन् । अन्ततः एअर इन्डियालाई नेहरु सरकारले राष्ट्रियकरण गरिछाड्यो । त्यसो हुँदा पनि जेआरडी टाटा एअर इन्डियाको एक महत्त्वपूर्ण हिस्सा थिए । किनकी, उनलाई नेहरुले एअर इन्डिया इन्टरनेशनको अध्यक्ष बनाइदिए । इन्डियन एअरलाइन्सको निर्देशकमा पनि उनै टाटालाई नियुक्त गरियो ।
‘आकाशको दरबार’ मा गर्वलायक उडान
बरफमा राखेर चिस्याइएको माछाको अण्डाको परिकार, संसारकै स्वादिष्ट सेकुवा, मदिरा र प्रसिद्ध ताज होटलका भान्से (सेफ) ले बनाएका खाना तथा शान्ति निकेतनका कलाकारले डिजाइन गरेका लाउञ्ज–सन् १९५० देखि ६० को अवधिमा एअर इन्डियाका विमानमा यात्रा गर्ने हरेक यात्रुले यी सुविधाको मज्जा लिए ।
विश्वस्तरीय सुविधाले भरिपूर्ण एअर इन्डियालाई आकाशको दरबार (प्यालेस अफ दि स्काइ) भनिन्थ्यो । विलासी यात्रा गराउँदै विमानमै विश्वस्तरको खाना पस्कने यो उत्प्रेरणा सिंगापुर एअरलाइन्सले पनि इन्डियन एअरलाइन्सबाटै लिएको थियो । एअर इन्डियालाई सो स्तरमा पुर्याउने श्रेय जेआरडी टाटालाई नै जान्छ ।
टाटा आफैँ एअर इन्डियाको विमानमा यात्रा गर्थे र सेवा ठिक ढंगले चलेको छ/छैन भन्ने हेर्थे । विमान सेवामा कतै कमजोरी देखिए सुधार्न उनी आफैँ खटिन्थे । यतिसम्म कि–विमानको कुनै कुनामा फोहोर या धुलो देखिए उनी आफैँ सफा गर्न तम्सिन्थे । टाटा नै सफा गर्न तम्सिएपछि यसकै लागि खटिएका कर्मचारी थप सजग बन्ने नै भए ।
एअर इन्डियाको नाम यसको मस्कटबिना अधुरो नै हुन्छ । एअर इन्डियाका हरेक सामग्रीमा महाराजाको मस्कट जताततै देखिन्छ । एअर इन्डियाको मस्कट महाराजा राख्ने अवधारणा सन् १९४६ मा ल्याइएको थियो । त्यतिखेर एअरलाइन्सका निर्देशक रहेका बबी कुकाले यो अवधारणा ल्याएका थिए । त्यसपछिका वर्षमा महाराजाको मस्कटलाई अलग–अलग देशको संस्कृति सम्बोधन गर्नेगरी तयार गरियो । यसको अर्थ एअर इन्डियाले आफ्ना यात्रुलाई विश्वका सबै देशमा पु¥याउन सक्छ भन्ने हो ।
सन् १९६० र ७० को दशकमा एअर इन्डिया एक विमान सेवाप्रदायकमात्र थिएन, बरु यसले त भारतको प्रतिनिधित्व नै गर्थ्यो । भारतप्रति हेर्ने विश्व दृष्टिकोणलाई सकारात्मक बनाउन एअर इन्डियाले त्यसताका प्रमुख भूमिका खेलेको थियो । सेवा, भारतीय संस्कृति, स्वादिष्ट खाना र कलाको अनुभूति लिन एअर इन्डिया नै प्रमुख माध्यम बन्यो ।
आठ हजारभन्दा कलाकृति सङ्कलन गरेर राखिएको एअर इन्डियाका जहाजमा पेन्टिङ, वस्त्र (कपडा), मूर्ति र काँच चित्रकला सङ्कलन गर्न एअर इन्डियाले ६० वर्षभन्दा धेरै समय खर्चिएको छ । यसो हुनुमा जेआरडी टाटाकै सुझबुझले काम गरेको थियो, जसले विमान सेवाको भविष्यबारे समेत सोचेका थिए । किनकी, त्यतिखेर विश्वमा अन्तर्राष्ट्रियस्तरको हवाई सेवा दिने कम्पनीहरू त्यति धेरै थिएनन् । एअर इन्डिया र अन्य विमान कम्पनीहरूबीचको प्रतिस्पर्धा निकै टक्करयुक्त थियो ।
अन्य विमान सेवा प्रदायकभन्दा अलग देखिन एअर इन्डियाको विज्ञापन विभागले भारतीय कला र कलाकृतिहरू विमान र लाउञ्जमा प्रदर्शन गर्ने योजना ल्यायो । त्यतिखेर विश्वभर रहेका प्रख्यात कलाकारहरूलाई एअर इन्डियाका लागि कलाकृति बनाउन नियुक्त गरियो । सन् १९६७ मा विश्वविख्यात कलाकार साल्भाडोर डालीलाई एअर इन्डियाका यात्रुका लागि विशेष एष्ट्रे (चुरोटको खरानी जम्मा गर्ने भाँडो) को डिजाइन बनाउने जिम्मा दिइयो । पोर्सिलिनबाट बनाइएको विशेष एष्ट्रे बनाएका डालीले काम गरेबापतको भुक्तानी नगदमा लिएनन् । बरु उनले कामको बदलामा भारतबाट हात्तीको छावा मागे । एअर इन्डियाले पनि बैंग्लोरबाट आफ्नो विमानमा हात्तीको छावा राखेर जेनेभा पुर्यायो । इतिहासको यो घटनाले पनि एअर इन्डिया कति प्रसिद्ध विमान सेवा थियो भन्ने प्रस्ट गर्छ । भारतीय यात्रुहरू एअर इन्डियाप्रति नै अक्सर झुकाव राख्थे ।
अधोगति र पतन
त्यति राम्रो विमान सेवा दिने एअर इन्डियालाई कसरी अधोगति र पतनतर्फ लगियो ? पछिल्लो ३० वर्षयता एअर इन्डियाले किन असफलता नै असफलताको उडान भर्‍यो ? हवाई उड्डयनका क्षेत्रमा संलग्न र यसप्रति चासो राख्ने जो–कोहीका लागि यो जानकारी शिक्षाप्रद हुनसक्छ ।
सन् २००७ मा मात्रै एअर इन्डियाले ५ अर्ब ४१ करोड ३० लाख र इन्डियन एअरलाइन्सले २ अर्ब ३० करोड ९७ लाख भारतीय रुपैयाँ घाटा बेहोरेको थियो । यी दुवै विमान सेवा सरकारमातहत थिए । यो सबै घाटा सरकारले व्यहोर्नुपरेको थियो ।
घाटा बढ्दै गएपछि भारत सरकारले दुवै एअरलाइन्सलाई गाभ्ने (मर्ज गर्ने) निर्णय लियो । मर्ज गर्दा घाटा कम हुने भारतीय सरकारको आङ्कलन थियो । तर, गाभेर बनाइएको नेशनल एभिएसन कर्पोशन अफ इन्डिया लिमिटेड (एनएसीआईएल) बाट पनि घाटा सहन भारत सरकार बाध्य भयो ।
आखिर विमान सेवा जसो गर्दा पनि किन घाटामा गइरहेको थियो त ? यसपछाडिका केही कारण स्पष्ट र सामान्य ढंगले नै बुझिने खालको थियो । उदाहरणका लागि : दुई कम्पनी मर्ज हुनुअघि भारत सरकारले निकै धेरै विमान र उडान संसाधन खरिद गरेको थियो । सो क्रममा ४४ हजार करोड भारतीय रुपैयाँ खर्च भएको थियो । यससँगै उडान खर्च पनि बढ्यो । उचित तलब माग गर्दै पाइलटहरू आन्दोलनमै उत्रिए । त्यसो हुँदा एअर इन्डियाले प्रभावकारी सेवा दिन सकेन र आम्दानी (राजस्व) गुमायो । पाइलटहरूले आन्दोलन गर्दा विमान उडेन र कम्पनीको काम अलपत्र भयो । भारत सरकारका लागि यो स्थिति निकै चुनौतीपूर्ण बनिरहेको थियो ।
त्यसपछिका वर्षमा पनि भारत सरकारले एअर इन्डियाबारे एकपछि अर्को खराब निर्णयहरू लिँदै गयो । यात्रुबाट आउने गरेको आम्दानी वर्षेनी घट्दै गएको थियो, किनकी सेवाको अनिश्चितता र गुणस्तर घट्दा यात्रुहरू एअर इन्डियाको साटो अन्य हवाई सेवा प्रदायकबाट सेवा लिन बाध्य भइसकेका थिए । अर्कातर्फ, भारतमा कैयन अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीहरूले उडान भर्न थालिसकेका थिए । यसो हुँदा यात्रुहरूसँग कुन कम्पनीको सेवा लिने भन्ने विकल्प प्रशस्त भयो ।
अस्तित्व जोगाउने अवस्थामा पुगेको एअर इन्डियाले यसबीच उडान गन्तव्य विस्तार ग¥यो । यसो हुँदा एअर इन्डियाका विमानमा अन्यत्रका यात्रु चढ्ने र आम्दानी हुने अपेक्षा थियो । तर, जुनजुन नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा विमान उडाइयो–त्यसबाट झन् घाटा भयो । कम्पनी निरन्तर घाटामा जानुको अर्को कारण पनि थियो–चालक दलका लागि आवश्यकताभन्दा धेरै जनशक्ति भर्ना गर्नु र मनमौजी ढंगले तलब दिनु ।
कम्पनीका पूर्व कार्यकारी निर्देशक जितेन्द्र भार्गवका अनुसार एअर इन्डियामा व्यवस्थापन समस्या सन् १९७० को दशकदेखि नै सुरु भएको थियो । सो दशकमा एअर इन्डियाको उच्च व्यवस्थापन तहमा रहेका अधिकारीहरू फेरबदल गरिएको थियो । ‘द डिस्केन्ट अफ एअर इन्डिया’ नाम पुस्तकमा उनले लेखेका छन्, ‘एअर इन्डियाको उच्च व्यवस्थापन बदल्नुअघि क्याबिन क्रुलाई निकै कठोर तालिम दिइन्थ्यो कि उनीहरू नयाँ व्यवस्थापनप्रति नतमस्तक होउन् । समयमै उडान इन्डिएन एअरलाइन्सको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता हुने गर्थ्यो, जसकारण यात्रुहरू एअर इन्डियाकै जहाजबाट यात्रा गर्न मन पराउँथे । तर, व्यवस्थापनमा परिवर्तन भएपछि क्याबिन क्रुहरूलाई गतिलो तालिम दिनै छाडियो । क्याबिन क्रु भर्ना गर्ने प्रक्रिया पनि फितलो बनाइयो । राम्ररी परीक्षण नै नगरी कम्पनीले निकै मानिसहरूलाई जागिरमा भर्ती ग¥यो । त्यसरी मनलाग्दी गर्न कम्पनीको खर्च बढ्यो र एअर इन्डियाको शाख नै गिर्‍यो ।’
यस्तो हुन थालेको एक दशकपछि एअर इन्डियाको बोर्ड र सरकारबीच असहमति देखिन थाल्यो । तर, एअर इन्डिया एक सरकारी कम्पनी भएकाले बोर्डका अधिकारीहरू सरकारकै निर्देशन मान्न बाध्य भए । उदाहरणका लागि सन् २००७ मा विज्ञापनका लागि एअर इन्डियाको कोषबाट सरकारले करोडौँ रुपैयाँ खर्च गरिदियो । कम्पनीको व्यवस्थापनले त्यस्ता काममा रकम खर्चन नहुने सुझाव दिइरहेको थियो ।
सरकारीकरण भर्सेज निजीकरण : वाहियात बहस
एअर इन्डियाको निजीकरणलाई ठिक भन्नेहरूले एक बलियो तर्क पेस गरेका छन् । उनीहरूले भनिरहेको सारभूत तर्क यस्तो छ :
एअर इन्डिया एक सरकारी कम्पनी थियो । निर्णय लिने अन्तिम अधिकार सरकारमा रहेका केही राजनीतिकर्मी या सरकारी ‘बाबुजी’ हरूसँग थियो । ती व्यक्तिहरू हवाई सेवा उद्योगबारे यत्ति पनि जानकारी थिएन कि कुन विमान कतिखेर खरिद गर्नुपर्छ ? कति सङ्ख्यामा विमान खरिद गर्दा उपयुक्त हुन्छ ? कुन रुटमा विमान उडाउनुपर्छ ?
एअर इन्डियाको उच्च तहमा अयोग्य मानिसहरू भर्ती भएका थिए, जसले कुनै हालतमा सही निर्णय लिनै सक्दैनथे । उनीहरूसँग हवाई उड्डयनसम्बन्धी ज्ञान नै थिएन, न अनुभव थियो न त सही निर्णय लिने इच्छाशक्ति थियो ।
सरकारी जागिरबारे आम मानिसहरूको धारणा यो हुन्छ कि एकपटक जागिर पाएपछि जीवनभरका लागि सबै कुरा व्यवस्था गर्न सकिन्छ । जागिर पाएपछि जसरी काम गर्दा पनि तलब र सेवा सुविधा पाइने कुरामा निर्धक्क भएकै कारण सेवा र गुणस्तर खस्कन्छ ।
तर, निजी कम्पनीका कर्मचारीलाई यसरी सोच्ने सुविधा हुँदैन । जागिर जोगाउनकै लागि पनि ढंग पुर्याएर काम गर्नैपर्छ । हाकिमलाई आश्वस्त तुल्याउन र पेशामा अघि बढ्नका लागि पनि आफ्नो जिम्मेवारीको काम कुशलतापूर्वक गर्नैपर्छ । एक निजी संस्था नाफा कमाउने उद्देश्यबाट नै प्रेरित हुन्छ । यसो नभएपछि एअर इन्डिया सफल हुने ठाउँ नै थिएन भन्ने निजीकरण पक्षधरहरूको तर्क छ ।
यहाँनेर हामीले सबैभन्दा महत्त्वपूर्ण विषय बुझ्नुपर्छ । किनकी, एअर इन्डियाको राष्ट्रियकरण त सन् १९५० को दशकको शुरुमै भएको थियो । सन् १९७० को दशकसम्म इन्डियन एयरलाइन्स विश्वमै प्रख्यात थियो, सबैभन्दा राम्रो विमान सेवाप्रदायकको परिचय बनाएको थियो । त्यतिखेर यसको नेतृत्वमा असल मानिसहरू थिए र राम्रा काम गरिरहेका थिए । जेआरडी टाटा आफैँले स्थापना गरेको इन्डियन एयरलाइन्स हाँकिरहेका थिए । यो एअरलाइन्सलाई उच्चस्थानमा राख्न उनले हरबखत प्रयास गरेका थिए ।
त्यसैले, एअर इन्डियाको इतिहास केलाउँदा सरकारीकरण या निजीकरण एक वाहियात बहस हुन आउँछ । अनुचित व्यवस्थापन र खराब निर्णयले चाहिँ यो ‘आकाशको दरबार’ को उड्ने शक्ति खोसिरहेको थियो । निजी र सरकारी दुवैखाले कम्पनीहरूको सफलता/विफलतामा यो संस्कृति/विकृतिले भूमिका खेलेको हुन्छ ।
सन् २०१७ मा भारत सरकारले एअर इन्डिया निजीकरण गर्ने निर्णय लियो । सन् २०२० मार्च २० तारिखसम्म एअर इन्डियाले ७ खर्ब भारतीय रुपैयाँ नोक्सानी बेहोरिसकेको थियो । नोक्सानीको बोझ बर्सेनी बढिरहेको थियो । घाटाले यस्तो स्थिति निम्त्याएको थियो कि सरकारलाई कम्पनी बेच्न नै मुस्किल पर्यो ।
निजीकरण गर्ने निरन्तर प्रयास भइरहेकै थियो । अन्ततः सन् २०२१ अक्टोबर ८ मा भारत सरकार एअर इन्डिया कम्पनी १ खर्ब ८० अर्ब भारतीय रुपैयाँमा बेच्न सफल भयो । सरकारी विमान कम्पनी बेचबिखनलाई भारतमा एक उत्सवकै रूपमा लिइयो । किनकी, यो कम्पनी वास्तविक संस्थापक अर्थात् टाटा ग्रुपले किनेको हो ।
बिक्री भएको एअर इन्डिया अब हवाई उड्डयन क्षेत्रमा सफल कम्पनी बन्छ या बन्दैन भन्ने हेर्न बाँकी छ । विश्वमा आफ्नो पहिलेको छवि पुनःस्थापित गर्न कम्पनीले निकै मेहनत गर्नुपर्नेछ । तर, आजका दिनमा सिंगापुर एयरलाइन्स, इमिरेट्स, इत्तिहाद, जापान एअरवेज र लुफ्थान्सा... यो लामो सूचीमा हामी सरकारी र निजी विमान कम्पनी दुवै देख्छौँ ।
त्यसैले, विमान कम्पनी सरकारी या निजी हुनु खासै ठूलो विषय होइन । असल निर्णय र असल व्यवस्थापनमै सबै कुरा निर्भर गर्छ ।
(विभिन्न स्रोतबाट सङ्कलित सामग्री अनुवाद र सम्पादन गरी प्रकाशित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ह्रस्व दीर्घ’ जापानको १४ सहरमा प्रदर्शन हुने
-
छविलाल जोशीलाई अदालत लगियो
-
एकीकृत समाजवादीले ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने
-
१२ ठूला आयोजनाको निर्माण अलपत्र
-
नेपालले 'जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने