बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजदूत रेग्मीलाई बेलायती महारानीको बिदाइ सन्देश

शनिबार, ०६ कात्तिक २०७८, ०६ : ३१
शनिबार, ०६ कात्तिक २०७८

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीललाई बेलायती महारानी एलिजावेथ द्वीतीयाले बिदाइ गरेकी छन् ।  बेलायतका लागि एक्काइसौँ  राजदूतको रूपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी २४ अक्टुबर आइतबार नेपाल फर्किँदै छन् । राजदूत फर्किन दुई दिन बाँकी रहँदा महारानीको प्रतिनिधिका रूपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन शुक्रबार अपरान्ह दूतावास आएर राजदूत रेग्मीलाई बिदाइ गरेका हुन् ।

त्यसअवसरमा उनले महारानीद्वारा  हस्ताक्षर गरिएको उनको तस्बिरसमेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे । ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ बेलायती महारानीका ‘कूटनीतिक सम्बन्धहरू’ मा महारानीको प्रतिनिधित्व एवम् संयोजन गर्ने उच्च शाही अधिकारी हुन् । 

महारानी एलिजावेथ द्वीतीयाले पठाएको बिदाइ सन्देशमा राजदूत रेग्मीले नेपाली राजदूतका हैसियतमा बेलायत आएर छोटो समयमा  निर्वाह गरेका भूमिकाहरूको लागि महारानीले धन्यवाद ज्ञापनका साथै उच्च प्रशंसा गरेकी छन् । बेलायत तथा  नेपालको ऐतिहासिक मैत्री सम्बन्ध आगामी दिनहरूमा थप मजबुत बन्दै जाने विश्वास पनि महारानीले व्यक्त गरेकी छन् ।  साथै बाँकी समय पनि देश सेवामा लगाउन उनले बिदाइ सन्देशमा उल्लेख गरेकी छन् ।

राजदूत रेग्मीले पनि महारानीका प्रतिनिधिमार्फत् आफ्नो तर्फबाट कृतज्ञता जाहेर गरेका छन् । नेपाली राजदूतका रूपमा बेलायतमा रहँदा महारानी, सरकार र बेलायती जनताबाट प्राप्त सद्भाव र सहयोगका लागि उनले आभार प्रकट गरे ।  

कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट प्राप्त स्वास्थ्य सामग्रीलगायतका सहयोगका लागि  पनि राजदूत रेग्मीले धन्यवाद ज्ञापन गरे । साथै, भूपू गोर्खाहरूको मुद्दामा हुन लागेको दुई देशबीचको वार्ता पनि  सकारात्मक निष्कर्षमा पुग्ने आशा उनले व्यक्त गरेका छन् । यस मुद्दामा सहयोग पुर्‍याउने बेलायती रक्षा मन्त्रीप्रति पनि  रेग्मीले आभार प्रकट गरेका थिए ।

यसअघि कोभिड महामारीका कारण कार्यकालको सुरुमा ओहोदाको प्रमाणपत्र भर्चुअल माध्यमबाटै बुझाएका रेग्मीले बिदाइमा भने महारानीका प्रतिनिधि नेपाली दूतावासमा नै उपस्थित भएका हुन् ।   बेलायतमा नेपालको एक्काइसौँ राजदूतको रूपमा गत मार्च १ बाट कार्यभार सम्हालेका  रेग्मी नेपाल सरकारको निर्णयअनुसार यही आइतबार नेपाल फर्किँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप