शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टेक्निकल सेन्टर निर्माणका लागि प्रदेश सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पोखरेल

शुक्रबार, ०५ कात्तिक २०७८, २२ : ११
शुक्रबार, ०५ कात्तिक २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएकाले खेलकुदमार्फत आयोजना हुने गतिविधिलाई समेटेर अगाडि बढ्ने बताएका छन् । शुक्रबार मुख्यमन्त्री पोखरेलले माछापुच्छ्रे गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टरको अवलोकनका क्रममा पोखरा नजिकै हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा गौरव गर्न लायक हुने बताए । 

अखिल नेपाल फुटबल संघले एन्फा टेक्निकल सेन्टरको अवधारणाअनुसार प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण पछि फुटबल खेलको प्रवद्र्धन हुने भएकाले त्यसका लागि लगानी गर्न प्रदेश सरकारले आलटाल गर्न आवश्यक नभएको उनको भनाइ थियो । उनले भने, ‘यो सेन्टरले पोखरा र माछापुच्छ्रेलाई विश्वसामु चिनाउनेछ । खेल मैदान मर्दी र इदी खोलाको बीचमा रहेकाले यसको तटबन्ध निर्माणका  लागि  समेत प्रदेश सरकारले सहयोग गर्नेछ ।’

विश्व फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको प्रस्तावित एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले आवस्यक तटबन्धन लगाइदिने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाए । परियोजनाबारे जानकारी दिदैँ एन्फाका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेकोको बताए ।

डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मन्त्रालयमा बुझाइसकेको बताउँदै अब छिटै शिलान्यास गर्ने बताए । उनका अनुसार अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेष्ट रुम, स्वीमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ ।

त्यसमा ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ ।

पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।  तटबन्धका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५०÷५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँमा काम भइसकेको पालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार तटबन्धका लागि साढे ४ करोड रुपैयाँ आवश्यक पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप