बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

शुक्रबार, ०५ कात्तिक २०७८, १८ : ४१
शुक्रबार, ०५ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम निक्षेपमा ब्याजदर बढाइरहेको बेला त्यसलाई राष्ट्र बैंकले नियन्त्रण गर्ने र लगानीको ब्याजदर बढ्न नदिने बताएका हुन् । 
शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भेट गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 
सो अवसरमा गर्भनर अधिकारीले ब्याजदर स्थिर राख्दै थप औद्योगीकीकरणलाई प्रवद्र्धन हुने नीतिगत व्यवस्था गरिने व्यवसायीहरूसँग बताए । 

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बन्चित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैँ चनाखो रहेको बताए । हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न पनि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको उनले उल्लेख गरे । 

भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल बजारमा तरलताको चाप बढ्दै गएको देखाउँदै बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको र सो कार्यले आगामी दिनमा कर्जामा समेत व्याज बढ्ने भएकोले मुलुकमा लगानी महँगो हुने बताउनु गुनासो गर्भनर अधिकारी समक्ष राखेका थिए । 

परिसंघले हाल देखा पर्न थालेको तरलताको चापलाई कम गर्न स्थानीय सरकारहरुको बैंकमा जम्मा रहेको सम्पूर्ण रकमलाई निश्चित समयलाई कर्जा–निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था कायम गर्न समेत गर्भनर अधिकारीसँग आग्रह गरे ।

चालु मौद्रिक नीति मार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा ९० प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्नु पर्ने नियम ल्याएको र सो अनुसार आँकलन गरिएको भन्दा कम तरलता उपलब्ध भएकोले सो नियमलाई आगामी पौष मसान्तसम्म ९५ प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्ने र असार मसान्तसम्ममा सो अनुपात ९० प्रतिशतमा कायम गरिनु पर्ने गरी स्पष्ट निर्देशन जारी गर्न परिसंघले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

सो अवसरमा परिसंघले नेपालका उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ आयात हुन ९० दिन भन्दा बढी लाग्ने गरेकोले उद्योग तथा औद्योगिक कच्चा पदार्थ आयातका सम्बन्धमा छुट्टै व्यवस्था कायम गरी यस्ता आयातमा उपयोग हुने टर्म लोन तथा साइट एलसीको समय पूर्ववत् गरिनुपर्ने माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप