शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा बाढी, पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ बेपत्ता

शुक्रबार, ०५ कात्तिक २०७८, १५ : ३७
शुक्रबार, ०५ कात्तिक २०७८

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो । 

विपदबाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । जिल्लामा १६ जनाको मृत्यु भएको छ । बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र  कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 
विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । बझाङमा २० र बैतडी, कैलाली, एक÷एक बेपत्ता रहेका हुन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक÷एक जना घाइते भएका हुन् । 

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ ।  

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । बाढी, पहिराकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौँको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ ।  अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप