मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपत्ति सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई सँगै लिएर हिँड्ने चुनौती छ : गृहमन्त्री

शुक्रबार, ०५ कात्तिक २०७८, १५ : ३२
शुक्रबार, ०५ कात्तिक २०७८

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे ।

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए ।

उनले भने– ‘हाम्रो बाजे बज्यै, हाम्रो आमा बुबाहरूले बेहोरेको भन्दा पनि पृथक प्राकृतिक विपतलाई हामीले सामना गर्नुपर्या छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो । गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो । अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दाखेरी समून्द्र किनारलाई पनि त्यसले गम्भिर प्रभाव पार्छ । खाली नेपालको मात्र सवाल भएन । त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिँड्ने ? यो धेरै ठुलो चुनौती हाम्रो काँधमा आएको छ ।’

गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए । सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनले भने– ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरूलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडि बढ्नेछ । हामी सबै नेपालीहरुले पनि जुटेरै विपतबाट नेपालीहरुको नेपालको भूमिको पनि रक्षा गर्नेछौँ ।’

पानी बिनाको जीवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानीको रक्षा गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप