शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गिनिज बुकमा नाम लेखाउने सन्काहा शासकको रहरले तीन वर्ष खेर गयो : गगन थापा

शुक्रबार, ०५ कात्तिक २०७८, १४ : २२
शुक्रबार, ०५ कात्तिक २०७८

सत्तारुढ नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनुपर्नेछ ।’ 

उनले थप भने, ‘हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन । एउटा हामीले माने पनि नमाने पनि एसिया त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको इकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । त्यसको नजिकमा हामी छौं । यो अर्को १०, १५, २० वर्ष रहन्छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एकपटक मौका छुट्छ ।’

यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गिनिज बुकमा नाम लेखाउने रहरले खेर गएको बताए । लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो । 

काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे । उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए । नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप