‘हनी ट्रयाप’मा पुरुष पनि उत्तिकै दोषी छन्’
हनी ट्रयाप भन्नेबित्तिकै हामी परिबन्दमा पारेर ठगी र शोषण गर्ने महिलालाई सम्झन्छौँ । कुनै पुरुषलाई फसाएर यौन क्रियाकलापमा संलग्न गराउने र अन्त्यमा पैसाका लागि ब्ल्याकमेल गर्ने प्रवृत्तिलाई प्रायः ‘हनी ट्रयाप’ भन्ने गरिन्छ । र, यसमा अक्सर महिलालाई नै दोषी देखाउने गरिन्छ । तर, महिलाअधिकारकर्मीहरुको विश्लेषणमा ‘हनी ट्रयापिङ’ मा महिला मात्र होइन, पुरुषहरु पनि उत्तिकै दोषी छन् ।
पछिल्लो समय नेपालमा हनी ट्रयापका घटना बढ्न थालेका छन् । प्रहरी कार्यालयहरुमा हनी ट्रयापका उजुरीहरु दैनिक रुपमा आउन थालेका छन् । सामान्यतः हनी ट्रयापबाट पीडित बनेको भन्दै पुरुषहरु प्रहरी कार्यालयमा पुग्ने गरेको भए पनि हनी ट्रयापबाट महिला पनि उत्तिकै पीडित भएको महिला अधिकारकर्मीको भनाइ छ ।
अधिवक्ता एवं महिला अधिकारकर्मी मोहना अन्सारी महिलाले गर्ने हनी ट्रयाप वा पुरुषले गर्ने हनी ट्रयाप दुबै आपराधिक कार्य भएको बताउँछिन् । तर, हनी ट्रयाप भन्नेबित्तिकै महिलालाई मात्रै दोषी देख्ने परिपाटी भने गलत भएको उनी बताउँछिन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त अन्सारी रातोपाटीसँग भन्छिन्, ‘हनी ट्रयाप भनेपछि हामी महिलाले ठगी गरेर अपराध गरी भन्ने मात्रै बुझ्छौँ । तर, पुरुषबाट हुने अपराध र ब्ल्याकमेल पनि हनि ट्रयाप नै हो र यसबाट धेरै महिला दिदीबहिनीहरु पीडित बनेका छन् । त्यसकारण हनी ट्रयापबाट महिला पनि उत्तिकै पीडित छन् ।’
हनी ट्रयापमा पुरुष पनि उत्तिकै जिम्मेवार
अधिकारवादी नेतृ अन्सारीका अनुसार हनी ट्रयापमा पुरुषहरुलाई पीडितका रुपमा देखाइने गरिए पनि पुरुष पूरै पीडित र महिला पूरै अपराधी हुँदैनन् । यौन आशक्ति र सम्पत्ति एवं मोजमस्तीका लागि पुरुषहरु महिलासम्म पुग्ने गरेका कारण हनी ट्रयाप व्यवसायका रुपमा फैलिएको हो । अन्सारी भन्छिन्, ‘हनी ट्रयापका केसहरु अध्ययन गर्दा पहिले पुरुषहरूले नै सम्पर्क गरेको र अगाडि बढेको देखिन्छ । पुरुषहरूले सुरु–सुरुमा म्यासेज, फोन आदिमार्फत् मायाप्रेमका कुरा गर्ने, केही सरसामान किनिदिने आदि गर्छन् । पछि उनीहरु सम्बन्धमा बसिसकेपछि महिलाले अधिकार र सम्पत्ति खोजेको देखिन्छ । अनि सम्बन्धमा खटपट आउन सुरु हुन्छ र महिलाहरुले ब्ल्याकमेल गरेको पनि देखिन्छ ।’
उनी अगाडि भन्छिन्, ‘हनी ट्रयापका केही केसहरु नितान्त आपराधिक मनसायबाट सुरुवात भएको पनि देखिन्छन् । तर, धेरै केसहरु सुरुमा सहमतिको व्यक्तिगत सम्बन्धबाट सुरु भएर अन्त्यमा हनी ट्रयापमा परिणत भएको पाइन्छ ।’
‘पछिल्लो समय महिलाहरुलाई फसाएर कमाउ धन्दामा लाग्ने पुरुषहरुको सङ्ख्या पनि बढिरहेको छ । महिलाका बारेमा बुझ्ने र सम्पत्ति भएकी एकल महिला, श्रीमान् विदेश वा शहरमा भएकी महिला आदि खोजीखोजी नजिक हुने, सम्बन्धमा रहने र अन्त्यमा सम्पत्ति सबै खाएर बिचल्ली बनाउने पुरुषको सङ्ख्या पनि बढिरहेको छ । यो पनि हनी ट्रयापिङ नै हो ।’
हनी ट्रयापिङमा संलग्न गिरोह नै छ
अन्सारीका अनुसार हनी ट्रयापमा केही पेसेवर गिरोह नै संलग्न रहेको देखिन्छ । हनी ट्रयापिङ गरेर पैसा कमाउने गिरोहकै कारण यस्ता घटना अचेल बढिरहेका छन् । उनी भन्छिन्, ‘महिलालाई प्रयोग गरेर पुरुषहरुलाई परिबन्दमा पार्ने र त्यसबाट आर्थिक लाभ लिने गिरोह नै यसमा संलग्न छ । कतिपय अवस्थामा हनी ट्रयापमा संलग्न भनिएकी महिला नै पीडित भएकोसमेत पाइएको छ । त्यसकारण, ती महिलालाई कसले, कसरी परिचालन गर्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ ।’
‘पुरुष पनि हनी ट्रयापिङमा संलग्न छन्’
महिला आयोग र मानवअधिकार आयोगमा रहेर काम गरिसकेकी अन्सारी पछिल्लो समय महिलालाई हनी ट्रयापिङमा पारेर कमाउ धन्दामा पुरुषहरु समेत संलग्न रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पछिल्लो समय महिलाहरुलाई फसाएर कमाउ धन्दामा लाग्ने पुरुषहरुको सङ्ख्या पनि बढिरहेको छ । महिलाका बारेमा बुझ्ने र सम्पत्ति भएकी एकल महिला, श्रीमान् विदेश वा शहरमा भएकी महिला आदि खोजीखोजी नजिक हुने, सम्बन्धमा रहने र अन्त्यमा सम्पत्ति सबै खाएर बिचल्ली बनाउने पुरुषको सङ्ख्या पनि बढिरहेको छ । यो पनि हनी ट्रयापिङ नै हो ।’
आफू महिला आयोगमा रहँदा यस्ता धेरै केसहरु आएका र ती घटना प्रहरीकोमा नपुग्ने गरेको बताउँदै अन्सारीले रातोपाटीसँग भनिन्, ‘तर, हनी ट्रयाप भन्नेबित्तिकै पुरुष मात्रै पीडित भन्ने भान परेको छ ।’
वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गिरोह सक्रिय
अधिवक्तासमेत रहेकी अन्सारी पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गिरोह महिलालाई फसाउन सक्रिय रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमती खोज्दै हिँड्ने पुरुषहरूको सङ्ख्या अत्यधिक छ । त्यस्ता महिलासँग नजिक हुने, सम्पत्ति सबै लिने र पछि बिचल्ली पारेर छाड्ने युवाको सङ्ख्या अत्यधिक छ । कतिपय अवस्थामा त्यस्ता महिलालाई भारत लगेर बेचिएको छ भने कतिपय घटनामा महिलाले आत्महत्यासमेत गरेका छन् ।’
उनी अगाडि भन्छिन्, ‘ आपराधिक मनोवृत्ति बोकेका पुरुषहरूले सम्पत्ति र यौन क्रियाकलापका लागि त्यस्ता महिलाको खोजी गरिरहेका हुन्छन् ।’
अन्सारीका अनुसार सुरुमा त्यस्ता गिरोहले पुरुषलाई विदेश पठाउने बेलादेखि नै सहयोगका नाममा नजिकिएका हुन्छन् । ती युवालाई विदेश पठाउन ऋण खोजिदिनेदेखि पासपोर्ट बनाउन जाने र एअरपोर्टसम्म पनि उनीहरु पुग्छन् । अनि जब युवा विदेश जान्छन्, त्यसपछि महिलासँग नजिक हुन्छन् र बैंक खाता खोलिदिनेदेखि विदेशबाट पठाएको पैसा लिन जान पनि महिलालाई सहयोग गरेको नाटक गर्छन् ।’
अन्सारी अगाडि भन्छिन्, ‘अनि महिलासँग नजिक भएपछि यौन सम्बन्धसम्म पुग्छन् र महिलाको सम्पत्तिमा आँखा लगाउन थाल्छन् । महिलासँग पैसा लिन थाल्छन् र अन्तिममा आफैले सम्बन्धमा रहेको सूचना महिलाको परिवारसम्म पनि पुर्याउने गर्छन् । अनि सबै थाहा भइहाल्यो, अब के गर्ने भागौँ भन्छन् । अनि महिलाले भएको सम्पत्ति बोकेर हिँडेपछि पुरुषले त्यो सम्पत्तिमा कब्जा जमाउँछ । सम्पत्ति सबै आफ्नो बनाइसकेपछि भने महिलालाई बेवास्ता गर्न थाल्छन् र भारतमा लगेर बेच्नेसम्मका हर्कत गर्छन् । यो पनि हनी ट्रयाप नै हो ।’
पुरुषले महिलामाथि गर्ने ब्ल्याकमेल र सम्पत्तिका लागि गरिएको नियोजित षडयन्त्र र अपराधबाट धेरै महिलाहरु पीडित भइरहेको उनले बताइन् ।
काठमाडौँमा धेरै कोठी सञ्चालनमा छन्
मानवअधिकारवादी नेतृ अन्सारी पछिल्लो समय काठमाडौंमा धेरै कोठीहरू सञ्चालनमा रहेकोसमेत दाबी गर्छिन् । उनी भन्छिन्, ‘मैले यस्तो भन्न त नहुने हो, तर पनि म भन्न बाध्य छु कि काठमाडौंमा अहिले धेरै कोठी सञ्चालनमा छन् । फ्ल्याट भाडामा लिएर यौन अखडा बनाउने महिला र पुरुषको सङ्ख्या बढिरहेको छ ।’
अन्सारीका अनुसार त्यस्ता मानिसहरु ग्रामीण क्षेत्रबाट शहरमा आउने र फ्ल्याट भाडामा लिएर बस्ने गरेका छन् । उनीहरुमध्ये कतिपय, विवाहित, डिभोर्सी, एकल त कतिपय अविवाहित नै हुन्छन् । काठमाडौंमा उनीहरुको अरु पेसा वा व्यवसाय नभए पनि उनीहरुको जीवनशैली सम्पन्नको जस्तो हुन्छ ।
अन्सारी भन्छिन्, ‘काम नगरी शहर बजारमा कसैले उच्च शैलीको जीवनशैली बाँचिरहेको छ भने उसले केही न केही त गरेकै हुन्छ । शहरमा बसेपछि सुरुमा बाँच्ने आधार र पछि महत्वाकांक्षा बढ्दै जाँदा उनीहरुले फ्ल्याट नै भाडामा लिएर यौन अखडा चलाउने गरेको समेत पाइएको छ ।’
कुनै व्यक्ति धनी भेटिएको अवस्थामा ब्ल्याकमेलसमेत गरी धेरै रकम असुल्ने गरिएको र हनी ट्रयापमा पार्ने गरिएको अन्सारी बताउँछिन् । उनी भन्छिन्, ‘यदि कोही व्यक्ति शहर बजारमा बिना काम बसिरहेको छ र उसको आम्दानीको स्रोत पनि अरु केही छैन भने बुझ्नुस् कि ऊ कुनै न कुनै रुपले यस्तै कार्यमा संलग्न हुन सक्छ ।’
यस्तो अपराधका लागि सुरुमा बाँच्ने आधारबाट सुरु भई पछि छिटो र धेरै कमाउने उच्च महत्वाकांक्षाले काम गरेको उनी बताउँछिन् । अन्सारी भन्छिन्, ‘तर, महिलाको मात्रै चाहना र योजनाले कुनै पुरुष हनी ट्रयापमा पर्दैन । यसमा घरमा परिवार हुँदाहुँदै पनि महिलाको पछि दगुर्ने पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता