शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुँजीबजार थेग्न केन्द्रीय बैंकले गरेको प्रयास विफल, ‘बियरिस ट्रेन्ड’ मै गएको हो त ?

शुक्रबार, ०५ कात्तिक २०७८, ०९ : १६
शुक्रबार, ०५ कात्तिक २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च विन्दु (अलटाइम हाइ) बाट २० प्रतिशतले घटेको छ । नेपालको सेयर बजारको अहिलेसम्मको इतिहासमा नेप्से सूचक भदौ २ गते सबैभन्दा उच्च बिन्दु अर्थात ३१ सय ९८ अंकमा पुगेको थियो । त्यसको दुई महिनाभित्रै पूँजीबजार २० प्रतिशतले घटेर २५ सय ५६ अंकमा आइपुगेको हो । अन्तरराष्ट्रिय सेयर बजारमा उच्च बिन्दुबाट २० प्रतिशत बजार घटेपछि त्यसलाई ‘बियरिस ट्रेण्ड’ सुरु भएको मानिन्छ । तर, विदेशी बजारको मनोविज्ञानले नेपालको सेयर बजारलाई प्रभाव नपर्ने र सोही नियम लागू नहुने सेयर विश्लेषकहरु बताउँछन् । यद्यपि, जुन गतिले सेयर बजारमा वृद्धि आएको थियो – त्यही गतिमा बजार निरन्तर ओरालो लागिरहेको छ ।

सेयर विश्लेषक प्रकाश तिवारीले विदेशी बजारमा निम्तिने बियरिस ट्रेण्डको नियम नेपालको बजारमा नसुहाउने बताउँछन् । उनका अनुसार विदेशी मुलुकको सेयर बजार र नेपालको सेयर बजार पूर्णतः फरक छ । त्यसैले विदेशी बजारलाई हेरेर नेपालको बजार विश्लेषण गर्न नहुने उनको तर्क छ ।

यही बीच निरन्तर दुई महिनादेखि घटिरहेको नेप्से सूचकलाई थेग्ने नेपाल राष्ट्र बैंकको प्रयाससमेत विफल भएको छ । अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेप्से भदौ २ गतेयता दसैं अघिसम्म निरन्तर ओरालो लाग्दै बन्द भएको बजार दसैँपछि बढ्ने आंकलन लगानीकर्ताको थियो । दसैंको खर्च जोहो गर्नका लागि नेप्सेमा परेको ‘सेल प्रेसर’लाई दसैं लगत्तै ‘बाई प्रेसर’ले पेल्ने आंकलन लगानीकर्ताको थियो ।

लगानीकर्ताको आंकलन अनुसार दसैँपछि कारोबार भएको पहिलो दिन असोज ३१ गते बजारमा १७ अंकको सुधार आयो । तर, चालू आर्थिक वर्षको सुरुवातदेखि नै बढ्न थालेको तरलता चापलाई धान्न वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि निक्षेपमा दिने ब्याजदरमा युद्ध छेडे । जसले नेप्से सूचक कात्तिक १ गते ६९ र २ गते ७७ अंकले घट्यो ।

निक्षेपको ब्याजदर बढेपछि निश्चितरुपमा कर्जाको समेत ब्याज बढ्ने भएपछि आत्तिएका लगानीकर्तालाई कात्तिक २ गते साँझ केन्द्रीय बैंकले ढाडस दिने प्रयास गरेको थियो । निक्षेपको ब्याज बढाएका बैंकहरुलाई २४ घन्टा भित्र निर्णय फिर्ता लिन तीन बुँदे कडा निर्देशन दिँदै बजार थाम्ने प्रयासमा केन्द्रीय बैंक लागिपरेको थियो ।

राष्ट्र बैंकको निर्देशनको प्रभाव हिजो (कात्तिक ३ गते) बजारमा देखियो पनि । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्सेको सबै समूहमा हरियाली छाउँदै परिसूचक ६० अंकले बढेको थियो । तर, यो वृद्धि एक दिन पनि टिक्न सकेन । र, सूचक हिजो (बिहीबार) १४ अंकले घट्यो ।

किन घट्यो सेयर बजार ?
नेपाल राष्ट्र बैंकले साउन २९ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारमा १२ करोडको सीमा लगायो । मौद्रिक नीतिमा केन्द्रीय बैंकले एक लगानीकर्ताले सेयर धितो राखेर सेयरमै लगानी गर्न बढीमा १२ करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । र, उक्त ऋण पनि एउटा बैंकबाट नभई ३ वटा बैंकबाट लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यो व्यवस्थाले सेयर बजारलाई घटाउन महत्वपूर्ण भूमिका खेलेको लगानीकर्ता छोटेलाल रौनियारले बताए ।

यसअघि, नेपाल धितोपत्र बोर्डले असारमा ५१ वटा कम्पनीको सूची निकाल्दै जोखिमयुक्त कम्पनी घोषणा गरेको थियो । उक्त घोषणापछि सेयर बजारमा ठूलै गिरावट आएको थियो । ‘धितोपत्र बोर्डले नियमविपरित ५१ वटा कम्पनीको नामै तोकेर सूची निकाल्दै जोखिमयुक्त कम्पनी भनेपछि बजार प्रभावित भएको थियो,’ रौनियारले भने, ‘बोर्डले सुरु गरेको बजार घटाउने खेलमा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले प्रवेश गरेको थियो ।’

सेयर धिता कर्जामा सीमा तोक्नुका साथै चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा–पूँजी निक्षेप अनुपात (सीसीडी) रेसियोलाई निक्षेप कर्जा अनुपात (सीडी) रेसियो बनाएपछि बजारमा तरलता चाप बढ्यो । फलस्वरुपः बजारमा लगानीयोग्य रकम अभाव भयो र सेयर बजार प्रभावित बन्यो ।

यससँगै मौद्रिक नीतिको व्यवस्था हटाउन, अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लगानीकर्ता अनसन बसे । यसले समेत बजार घट्नमा सहयोग पु¥याएको लगानीकर्ता स्वयम् स्वीकार्छन् । हुन पनि लगानीकर्ताको काम बजारको सुधारका लागि पहल गर्ने हो । तर, नेपालका लगानीकर्ता अलिकति बजार घट्नासाथ अर्थमन्त्री र गर्भनरको राजिनामा माग्दै कालो पट्टी बाँधेर मोटरसाइकल ¥याली आयोजना गर्दै अनसन बस्ने गरेका छन् । यसका साथै, नेप्से, धितोपत्र बोर्ड र राष्ट्र बैंक कार्यालय घेर्न पुगिहाल्छन् ।

यद्यपि, बजार निरन्तर घट्दै गएपनि नेप्सेमा ‘सेल प्रेसर’ भने देखिएको छैन । २१ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको नेप्सेमा बजार घट्न थाल्दा मुस्किलले ३ अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । यसबाट लगानीकर्ताले तत्काल आफूसँग भएको सेयर होल्ड गर्ने मुड बनाएको प्रष्ट हुन्छ । नेप्से परिसूचक आज १४ अंकले घट्दा पनि मुस्किलले साढे २ अर्ब रुपैयाँको कारोबार भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप