शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीके राउतको ईन्जिनियरिङ परिषदको दर्ता प्रमाणपत्र खारेज गर्न माग

बिहीबार, ०४ कात्तिक २०७८, २१ : १५
बिहीबार, ०४ कात्तिक २०७८

राष्ट्रिय जनमत पार्टीका प्रमुख सीके राउतको ईन्जिनियरिङ परिषदको दर्ता प्रमाणपत्र खारेज गर्न नेपाल ईन्जिनियर्स एशोसिएसन, प्रादेशिक केन्द्र प्रदेश २ ले माग गरेको छ । बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख ई. राजेश कुशवाहामाथि राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको विरोधमा एशोसिएसनले यस्तो माग गरेको हो ।

एशोसिएसनका सभापति ई किशोर यादव र सचिव ई अजितकुमार यादवले बिहीबार नै विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमत पार्टीका अध्यक्ष राउत र सो घटनामा संलग्न उक्त पार्टीका कार्यकर्तालाई तत्काल गिरफ्तार गरी कारवाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘देशमा कानुनी राज्य हुँदाहुँदै कानुन तथा वार्ताको माध्यमबाट कुनै समस्याको समाधान खोज्नुपर्नेमा उद्दण्डता र अराजकताको पराकाष्ठा नाघ्दै कानुन हातमा लिएर उच्छृङ्खल गतिविधि गरी एक राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहारपूर्ण घटना कुनै पनि हालतमा क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

पेशागत रुपमा ईन्जिनियरसमेत रहेका सीके राउत यस कदमले ईन्जिनियरिङ पेशाको गरिमा र मर्यादा हनन् गरेको भन्दै विज्ञप्तिमा राउतको ईन्जिनियरिङ परिषदको दर्ता प्रमाणपत्र खारेज गर्न माग गरिएको हो ।

एशोसिएसनले शुक्रबार बिहान १० बजे उक्त घटनाको विरोधमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय परिसर जनकपुरमा सम्पूर्ण संघसंस्था आवद्ध ईन्जिनियर/आर्किटेक्ट, पेशाकर्मीलाई उपस्थित हुन पनि आह्वान गरेको छ । आफूहरुको मागलाई बेवास्ता गरिए क्रमबद्ध रुपमा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी पनि एशोसिएसनले दिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप