शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले दशौँ महाधिवेशन : बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा को–को ?

बिहीबार, ०४ कात्तिक २०७८, २२ : ४०
बिहीबार, ०४ कात्तिक २०७८

एमालेले नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले थापाको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको हो । महाधिवेशन सफल पार्न सातै प्रदेशका एक–एक जना प्रतिनिधि नछुट्ने गरी २१ सदस्यीय कमिटी गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । 

उनका अनुसार मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावललगायत रहेका छन् ।  एमालेले आगामी मंसिर १० देखि १२ सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

 बैठकले गत असोजमा सम्पन्न विधान महाधिवेशनको समिक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ । साथै उक्त महाधिवेशनले पार्टीमा भावनात्मक एकताको सन्देश प्रवाह गर्न र उर्जा प्रदान गर्न सफल भएको ठहर पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

बैठकले हालै वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित किसान लगायतलाई राहत र उद्धारको काम गर्न सरकारसँग माग गरेको छ । आफ्नो पार्टी कमिटीलाई बाढी, डुबान र पहिरोमा परेकाहरुको उद्धारमा खटिन निर्देशन समेत दिएको छ । 

बैठकले राज्यका अंगहरु र सामाजिक संस्थामा सरकारी पक्षको हस्तक्षेपको निन्दा गर्दै निन्दा र भर्त्सना गरेको छ । त्यस्तै एमालेले बाढी प्रभावित क्षेत्रको वडा र पालिका अधिवेशन पर सार्ने स्थानीय तहको निर्णयलाई स्वीकार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप