बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइएको मुख्यमन्त्री शाक्यको आरोप

बिहीबार, ०४ कात्तिक २०७८, १९ : ४६
बिहीबार, ०४ कात्तिक २०७८

 बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् । सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।

आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसदहरु अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन् । मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उनको भनाइ थियो ।

बागमती प्रदेश सरकार र आफ्नो पार्टी नेकपा एमाले प्रदेशवासीका आकांक्षा पूरा गर्न प्रतिवद्ध रहेको पनि उनले प्रस्ट पारिन् । मुख्यमन्त्री शाक्यले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएका उपलब्धि पनि सुनाइन् । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकारले सफलता पाएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप