शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रचण्डमुक्त’ देश बनाउने घोषणा गरेका प्रभु साह माओवादी केन्द्रमा फर्किने !

बिहीबार, ०४ कात्तिक २०७८, १४ : ००
बिहीबार, ०४ कात्तिक २०७८

नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेलाई साथ दिएका प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने सुरसार गरिरहेका छन् । त्यसका लागि उनी माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको स्रोतको दाबी छ ।

नेकपा खारेजीसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि प्रभु साहले एमाले रोजेका थिए । नेकपा खारेजीपछि केही समय माओवादी केन्द्रमै रहेका उनी तत्कालीन प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्न थालेपछि एमालेमा सामेल भएर सहरी विकास मन्त्री बनेका थिए । अहिले उनी एमालेमा पनि सक्रिय छैनन् । पछिल्लो समय उनी माओवादी केन्द्रमै फर्किने सोचका साथ सो पार्टीका नेताहरुको सम्पर्कमा पुगेको बताइएको छ ।

प्रभु साहले ‘आइटी आर्मी’ नामक संगठन बनाएका छन् । सोही संगठनमार्फत उनी राजनीतिक गतिविधि गर्नुका साथै शक्ति प्रदर्शन गरिरहेका छन् । प्रभु साहका साथमा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरु विस्तारै माओवादी केन्द्रमा फर्किन थालेका छन् । त्यसैले पनि प्रभु साहमाथि माओवादी केन्द्रमै फर्कने दबाब बढेको स्रोत बताउँछ ।

प्रदेश २ का माओवादी केन्द्रका इन्चार्ज एवं स्थायी कमिटी सदस्य गणेश साहले प्रभु साह पार्टीमा फर्किने कुरा पार्टीमा एजेण्डाको रुपमा नआए पनि नेताहरुको बीचमा चर्चाको विषय बनेको बताए । उनले भने, ‘पार्टीमा प्रभु साहलाई फर्काउने एजेण्डा बनेको छैन तर उहाँले पार्टीका नेताहरुसँग कुराकानी गरिरहेको चर्चा हुने गरेको छ ।’

प्रभु साहले पार्टीका शीर्ष तहमा कुराकानी गरिरहेको कुरा आफूले पनि सुनेको तर कोसँग कुरा भइरहेको भन्ने जानकारी आफूलाई नभएको स्थायी कमिटी सदस्य साहले बताए । प्रभु साहले माओवादी केन्द्रमा फर्किन स्थायी कमिटी सदस्य माग गरिरहेका छन् । यद्यपि केन्द्रीय सदस्य पद पाए पनि उनी माओवादी केन्द्रमा फर्किने मुडमा रहेको उनका निकटस्थ नेता बताउँछन् ।

प्रदेश २ पार्टी कमिटीका सदस्य सत्यनारायण भगत (रौतहट) ले प्रभु साह माओवादी केन्द्रमा फर्किने कुरा आफूले पनि सुनेको बताए । उनले प्रभु साह माओवादी केन्द्रमा फर्के पनि रौतहटका माओवादीले त्यसलाई स्वीकार नगर्ने प्रस्ट पारे ।

उनले भने, ‘हिजोका दिनमा पार्टीको विरोधमा बोल्दै हिँड्ने, प्रतिगमनकारी केपी ओलीलाई साथ दिने, माओवादी केन्द्रलाई नै खारेज गर्नुपर्छ भन्ने व्यक्ति पार्टीमा फर्केको खण्डमा त्यसलाई कुनै पनि हालतमा रौतहटका कार्यकर्ताले स्वीकार गर्न सक्दैनन् ।’

माओवादी केन्द्रमा मधेसभित्र मातृका यादव र प्रभु साहले छुट्टाछुट्टै गुट चलाइरहेका थिए । उनीहरुको गुटबन्दीले मधेसमा पार्टीसमेत कमजोर भएको थियो । उनीहरु बीचको टकरावका कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चिन्तित थिए । माओवादी केन्द्रबाट मातृका यादव केही समय अलग हुँदा मधेसमा प्रभु साहको एक्लै साम्राज्य थियो ।

स्रोतका अनुसार पछिल्लो समय नारायणकाजी श्रेष्ठले प्रभु साहलाई पार्टीमा ल्याउन पहल गरेका छन् । तर श्रेष्ठ भने यस्तो चर्चामा सत्यता नरहेको दाबी गर्दछन् । प्रभु साह माओवादी केन्द्रमा फर्किने कुरामा आफूलाई विश्वास नलागेको पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । उनले भने, ‘प्रभु साह माओवादीमा आउने कुरा मैले पनि सुनेको हुँ तर उहाँ कुन नैतिकताले पार्टीमा फर्किनु होला र ? मलाई त उहाँ माओवादी केन्द्रमा आउनुहुन्छ भन्ने विश्वास लागेको छैन ।’

‘अहिले माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डको सबभन्दा बढी विरोध गर्ने प्रभु साह नै हुन् । माओवादी केन्द्र खारेज हुनुपर्छ भन्दै अदालतमा मुद्दा दायर गर्ने उनै हुन्,’ शर्माले भने, ‘प्रचण्डमुक्त नेपाल बनाउने भनि भाषण गर्ने उनै हुन्, यस्ता व्यक्ति माओवादी केन्द्रमा कुन नैतिकताले फर्किन्छ ?’

प्रभु साहको खण्डन : धोका दिनेसँग मिल्न सकिँदैन

यसैबीच, माओवादीमा प्रवेश गर्न लागेको भन्ने समाचारको साहले खण्डन गरेका छन् । साहले भनेका छन्, ‘महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचडी संसदीय ब्यवस्था खड़ा गरी देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौं योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य छ । आफ्नो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरी सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी/क्रान्तिकारीहरु एकताबद्ध हुन सक्दैन ।’

साहले अगाडि भनेका छन्, ‘वर्तमान राजनीतिक संकटको अग्रगामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुवीकरण अपरिहार्य आवश्यकता हो । यसका लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वविदित नै छ । तर, जनतालाई धोका दिने अनैतिक. असफल एवं अविश्वसनीय व्यक्तिको नेतृत्वमा कदापि होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप