बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते

बिहीबार, ०४ कात्तिक २०७८, १४ : २७
बिहीबार, ०४ कात्तिक २०७८

राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार  आफ्नै  घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

बेपत्ता भएका युवक अझै भेटिएन 

अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले  हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु मण्डल बेपत्ता भएको र उनको खोजी जारी रहेपनि प्रनाउ काफ्लेले जानकारी दिए ।

बुधबार कङ्कालिनी –१४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएको थियो ।   त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय सञ्जीवकुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको जनाइएको छ ।

बाढीले डेढ सय घर डुबानमा 

दुई/तीन दिन लगातारको अविरल वर्षाका कारण जिल्लाको विभिन्न खोलमा आएको बाढीले  १५० घर डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करिब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या भएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

उनले भने, “तिलाठी कोइलाडी–५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घर डुबानमा परेका  छन् । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा पनि पानी पसेको छ ।” सोही गाउँपालिकाकै– ४ कोइलाडीस्थित भीमा नदीको बाढीले समेत पुलको दक्षिणतर्फको विङवालमा क्षति पुगेको छ । सो वडाको चट्टी टोल, तेलियारीमा समेत जिता नदीको बाढी पसेको जानकारी दिँदै बाढीका कारण यहाँ भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न समस्या उत्पन्न भएको बताए ।

तिलाठी कोइलाडी –८ तोपास्थित उत्तरतिरको टोलमा समेत पानी पसेर घर डुबान भएको बताइएको छ । यस्तै हनुमाननगर कङ्कालिनी र राजविराज नगरपालिका क्षेत्र समेत डुबानमा परेको पाइएको छ । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी बस्तीमा बाढी पस्दा बस्ती नै जलमग्न भएका छन ।

हनुमाननगर कङ्कालिनी–३ पोर्ताहास्थित महुली खोलाको बाढीले महुली पुलदेखि पूर्व करिब २० मिटर बाँध भत्काएर बाढी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ । सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न वडामा बाढी र वर्षाको पानीले डुबान गरेको छ ।

राजविराजस्थित सरकारी वकील कार्यालय, जिल्ला अदालतसहितका कार्यालयमा पानी पसेको छ भने सिरहा रोड, खर्साल टोलसहितका ठाउँमा बाढीको भेल बगिरहेको छ । निरन्तरको वर्षाले आएको बाढीले सप्तरीमा आठ चौपाया बगाएको छ । प्रहरीका अनुसार सप्तकोशी नगरपालिका– ९ स्थित कोसी टप्पु वन्यजन्तु आरक्षमा गाईबस्तु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ती चौपाया बगाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप