बागमती प्रदेशसभा बैठकको समय सारियो, एमाले पनि सहभागी हुने
बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
यद्यपि, मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको स्रोत बताउँछ । स्रोतका अनुसार एमालेले सरकारको आयु केही दिन लम्ब्याउन खोजिरहेका कारण आज बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु गर्ने तर मतदानका लागि भने केही दिनपछि अर्को बैठक राख्ने तयारी भइरहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले प्रदेशसभा आह्वान भएपछि उपस्थित नहुने भन्ने कुरा नै नआउने बताए । ‘संसद् आफैमा स्वतन्त्र हुन्छ, कुनै दलको लागि संसद्को बैठक सार्ने भन्ने कुरा पनि हुँदैन,’ उनले भने, ‘दलले आग्रह गर्ने कुरा हो । हाम्रो तर्फबाट एमालेका प्रमुख सचेतक दिपक निरौलाले प्रस्ताव राख्नु भएको हो तर बस्ने तय भएको बैठकमा नजाने भन्ने कुरा हुँदैन । हाम्रा उपलब्ध भएका सबै सांसद आजको बैठकमा उपस्थित हुनुहुन्छ ।’
उनले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव सरकारले नै पेस गरेको भन्दै आजको बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताए । मत विभाजनबारे भने संसद्ले नै टुङ्ग्याउने उनको भनाइ छ । नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा