दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती
विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्गलबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी सेवा अवरुद्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिरोको क्षति सङ्कलन तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ ।
अविरल वर्षाका कारण इलाम जिल्लाको फिकल, इटहरी र विराटनगरका टावर तथा अप्टिकल फाइबरमा समस्या आएकाले ताप्लेजुङमा दूरसञ्चार कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुन पुगेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । तत्काल सेवा सञ्चालन गर्नका लागि प्राविधिक टोलीले काम गरिरहेको र कहिलेसम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने उनको भनाइ छ ।
नेपाल टेलिकमको सेवासँगै अन्य मोबाइल सेवा प्रदायक एनसीएल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाइन र वर्डलिङ्क लगायतको पनि सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवामा अवरुद्ध भएसँगै विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबारदेखि नै इन्टरनेट अबरुद्ध भएपछि वित्तीय तथा बैंकिङ कारोबारमा समेत समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।
मोबाइल सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । ताप्लेजुङमा पुगेर समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटकले बासका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्ना आफन्तसँग सम्पर्कविहीन हुनुपर्नेजस्ता समस्या भएको थियो ।
मोबाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएसँगै स्थानीय सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणमा समस्या उत्पन्न भएको छ भने सञ्चारकर्मीलाई पनि समाचार सङ्कलन र सम्प्रेषणमा कठिनाइ भएको छ । निरन्तर वर्षाका कारण राष्ट्रिय प्रसारण लाइनमा पनि दुई दिन अवरुद्ध भएको थियो । तर आज बिहानदेखि प्रसारण लाइनमा बत्ती बाल्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा