शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काटेको धान खेतमा डुबेको अवस्थामा के गर्ने ? धान विज्ञको १० टिप्स

बिहीबार, ०४ कात्तिक २०७८, १२ : ५९
बिहीबार, ०४ कात्तिक २०७८

अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएको छ । कतिपय ठाउँमा धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा अचानक वर्षा भएपछि डुबानमा परेर क्षति भएको छ भने कतै नकाटिएको धान पनि पानीमा डुबेको छ ।

नकाटिएको भन्दा काटिएको धानलाई पानीले बढी असर गर्छ । नकाटिएको धानलाई पानीले केही दिन डुबाए पनि खासै असर गर्दैन तर पाकेको धान काटिएको अवस्थामा डुबानमा परेको छ भने चार÷पाँच दिनमै बिग्रिन्छ ।

काटिसकेको धान डुबानमा परेपछि कति छिटो बिग्रिन्छ भन्ने कुरा तापक्रममा भर पर्ने विज्ञहरु बताउँछन् । १८ देखि २५ डिग्री तापक्रम छ भने पानीमा डुबेको धान चार/पाँच दिनमा धान बिग्रिन्छ । हिमाल, पहाड लगायत अलि चिसो ठाउँमा काटिएको धान डुबानमा परेको छ भने त्यति छिटो बिग्रिँदैन तर तराई मधेसमा तापक्रम अलि बढी हुने भएकाले त्यहाँ छिटो बिग्रिने सम्भावना हुन्छ । अहिलेको वर्षाले पहाडभन्दा तराई मधेसमा बढी क्षति पुर्याएको छ ।

काटेको धान डुबेको छ भने त्यसलाई कसरी संरक्षण गर्ने, त्यसलाई कसरी प्रयोगमा ल्याउने लगायतका विषयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत धान वैज्ञानिक डा.कृष्णकुमार मिश्रसँग रातोपाटीले जिज्ञासा राखेको छ ।

प्रस्तुत छ– मिश्रको टिप्स उनकै शब्दमा :

 १. काटिसकेको धान खेतमा डुबेको छ भने त्यसलाई कति छिटो हुन्छ बाहिर ल्याउनुपर्छ र त्यसलाई ओभाउन दिनुपर्छ । त्यसपछि त्यसलाई चुटेर धान अलग गर्नुपर्छ ।

२. धान चुटिसकेपछि त्यसलाई घाममा सुकाउनुपर्छ । यदि घाम लागेको छैन भने हिटर वा अरु कुनै प्रविधि प्रयोग गरेर त्यस्तो धानलाई जति सक्दो छिटो सुकाउनुपर्छ ।

३. धान सुकेपछि त्यो पूर्ववत् अवस्थामा आउँछ । धान राम्रोसँग पाकेको थियो भने त्यसलाई खासै असर गरेको हुँदैन तर पानीबाट चाँडै निकालेर त्यसलाई चुटेर सुकाउनुचाहिँ पर्छ । चुटेर राखिएको धानलाई समयमा सुकाउन नसके त्यो बिग्रिन्छ ।

४. काटेको धान भिजेको छ भने त्यसलाई सुक्खा ठाउँमा ल्याएर ओभाएर चुट्नुपर्छ । त्यस्तो धानलाई नसुकाइकन च्युरा बनाउने वा उसिनेर (स्टिम गरेर) उसिना चामल बनाउन सकिन्छ । तर धान धेरै छ भने यो प्रक्रिया अपनाउन समस्या हुन्छ ।

५. काटेको धान खेतमै डुबेको अवस्थामा त्यसलाई जतिसक्दो छिटो पानीबाट निकाल्नुपर्छ । छिटो निकालिएन भने तापक्रमको आधारमा चार/पाँच दिनमा धान बिग्रिन सक्छ ।

६. काटेर खेतमै डुबेको धान १८–२५ डिग्रीको तापक्रममा चारदेखि पाँच दिनमा बिग्रिन्छ । अर्थात् त्यो धानको बाला उम्रिन्छ । पुरै उम्रिसकेको छ भने त्यो धान काम लाग्दैन । यदि टुसामात्र आएको छ भने त्यसलाई बाहिर निकालेर सुकाएर प्रयोगमा ल्याउन सकिन्छ तर त्यसमा अरु चामलको जस्तो गुणस्तर हुँदैन ।

७. काटेको अवस्थामा डुबेको धान मोटो वा मसिनो कुन हो भन्ने कुराले पनि असर निर्धारण गर्छ । मोटो धानमा अलि ढिलो असर गर्छ भने मसिनोमा अलि छिटो गर्छ । अहिले काटेर खेतमा राखिएको धान छिटो पाक्ने जातका धान भएकाले यसलाई पानीले छिटो असर गर्न सक्छ ।

८. नकाटिएको धान डुबानमा परेको छ भने जतिसक्दो चाँडो खेतबाट पानी निकाल्ने प्रयास गर्नुपर्छ । तर केही दिन पानीमै डुबे पनि नकाटिएको धान त्यति बिग्रिँदैन । नकाटिएको धानमा जमेको पानीको तुलनामा बगेको पानीले कम असर गर्छ ।

९.भर्खर दाना लागेको धानलाई पानीले डुबाएको छ भने त्यसलाई छिटो असर गर्छ भने त्यसको तुलनामा  नकाटिएको पाकेको धान डुबानमा परेको छ भने त्यसलाई अलि ढिलो असर गर्छ । त्यसैले जतिसक्दो चाँडो खेतबाट पानी निकाल्ने प्रयास गर्नुपर्छ ।

१०. किसानले पाकेको धान काट्दा खेतबाट पूर्णरुपमा पानी निकाल्नु पर्छ । अनिमात्र धान काट्नुपर्छ । पूर्ण सुक्खा भएको खेतमा धान कटाई भयो भने त्यस्तो धान पूरै स्वस्थ्य हुन्छ । खेतमा अलिअलि पानी छ भने त्यस्तो अवस्थामा धान काट्नु हुँदैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप