शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको बोलीले एमालेमा तरंग, आजको बैठकमा तेस्रो धारले आपत्ति जनाउने

माधव नेपालको साथ छाडेका १० नेतामाथि ओलीको पेलान
बिहीबार, ०४ कात्तिक २०७८, १२ : १७
बिहीबार, ०४ कात्तिक २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि एमालेका तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । यो विषयमा विहीबार (आज) बस्ने स्थायी कमिटी बैठकमा कुरा उठ्ने भएको छ ।

एमाले अध्यक्ष ओलीले बुधबार वागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ् नगर्न’ चेतावनी दिएका थिए । अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि १० बुँदे तयार गर्ने नेताहरु आक्रोशित बनेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले ओलीको उक्त टिप्पणीप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको विकल्प नभएको चेतावनी दिइसकेका छन् ।

अध्यक्ष ओलीले बुधबारको आफ्नो मन्तव्यमा १० बुँदेको औचित्य सकिएको आशय मात्रै व्यक्त गरेनन् । उनले पार्टीभित्र अझै ‘माधव प्रवृत्ति’ कायमै रहेको भन्दै तेस्रो धारका नेताहरुलाई माधव प्रवृत्ति त्याग्न चेतावनीसमेत दिए ।

बुधबार के भनेका थिए ओलीले ?

हामीले आन्तरिक अनेकता होइन एकतामा जोड दिनुपर्छ । हिजो कता के भयो ? यो १० बुँदे । केके जाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन । १० बुँदे १० बुँदे, १० बुँदे, १० बुँदे ....। यो पनि धेरै रेटिरहन आवश्यक छैन । मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने १० बुँदे ट्याङट्याङ ...? माधव आउँछन् कि भनेर १० बुँदे गरेको । अब के १० बुँदे, १० बुँदे ?

हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला । फर्केर आउने काम गर्ने सिद्धियो त ! हामीले भनेका छौं । माधव नेपालको कुरा बेग्लै हो । माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएकालाई पनि फर्क भनिरहेका छौं हामी ! कुनै भेदभाव गर्दैनौं, आउ । योग्यताअनुसार कमिटीमा बस्ने, जिम्मेवारी लिने, जहाँ राख्न मिल्छ राख्ने । कुनै आग्रह छैन, तर माधव नेपाललाई नो इन्ट्री !

तेस्रो धारका नेताहरूप्रति ओलीको अर्को टिप्पणी यस्तो थियो–

पार्टीभित्र गलत प्रवृत्तिहरू निकै झाँगिएका छन् । त्यो प्रवृत्तिका विरुद्ध हामीले जुध्नुपर्छ । गलत प्रवृत्तिले जित्नुहुँदैन । त्यसो गर्दा हामी एकजुट हुनुपर्दछ । एक आवाज, एक स्वर हुनुपर्छ । हाम्रा अनेक स्वर हुन थाले भने ?

कमिटीमा निर्णय गर्यो बाहिर निस्कियो । आफूलाई कुनै चित्त नपरे पनि त्यो कमिटीले पास गरेपछि कार्यन्वयन गर्नुपर्छ । त्यसको टीकाटिप्पणी –ल कमिटीले त यस्तो निर्णय गर्यो म सहमत छैन । मैले त भन्दिएको छु सहमत छैन भनेर । यस्तो पनि हुन्छ ? त्यो त व्यक्तिवादिता हो ।

यो संस्थावादिता भएन । संस्थागत भएन । संगठनात्मक आचरण भएन त्यो । मेरो त यो हो कुरो, पार्टीको चाहिँ यस्तो हो । कमिटीको निर्णय पास एक स्वरले भन्नुपर्छ हामीले यस्तो निर्णय गरेका छौं, यो सही छ । यो कार्यान्वयन भएर अघि बढ्छ । र, चित्त बुझेको छैन भने कमिटीको बैठकमा यस–यस कारणले गलत भन्ने लाग्छ, यसो गर्नुहुँदैन भन्ने मलाई लाग्छ, असल मनसायका साथ तर्क गर्नुपर्छ । असल नियत, असल तरिकाले ।

तर्क गर्दा, छलफल गर्दा असल तरिका हुनुपर्छ । एक अर्कालाई होच्याउने, अपमान गर्ने, टिप्पणी गर्दा मतभेद बढाउने खालका क्रियाकलाप र तौरतरिका हामीले गर्नुहुँदैन । हाम्रा तौरतरिका एकदमै मिलनसार साथीहरूका बीचमा । सत्रुसँग लड्न नसक्ने, आफ्ना विचारमा चाहिँ लडेर बस्ने माधव नेपालको जस्तो ? विरोधीका पाउ मोल्ने, म्याउम्याउ गर्ने, दिनैपिच्छे बूढानीलकण्ठ र केजाति । अहिले त बालुवाटारतिर सर्या छ । म्याउँ म्याउँ गर्न दिनैपिच्छे पुग्ने, निवेदन हाल्न पुग्ने, अनि पार्टीका विरुद्धचाहिँ... । आफ्ना विरुद्ध, साथीहरूका विरुद्ध... ।

 

 


अध्यक्ष ओली अगाडि सोही कार्यक्रममा बोल्दै उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले कम्युनिस्टहरूको एकताको प्रसंग निकालेकी थिइन् । साथै उनले कात्तिक ६ गते हुने वडा अधिवेशनबारे पनि असन्तुष्टि जनाएकी थिइन् । उनले हतारमा वडा अधिवेशन गर्न नहुने तर्क गर्दै आफू त्यसको पक्षमा नभएको शाक्यले बताएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीको टिप्पणीमा रावलको प्रतिवाद

१० बुँदे सहमति गर्ने कार्यदलका संयोजकमध्येका उपाध्यक्ष रावलले संस्थागत भइसकेको विषयमा ओलीले विवाद उत्पन्न गर्न खोजेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा बुधबार साँझ लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

स्थायी कमिटीमा प्रतिवादको तयारी

विधान महाधिवेशनको समीक्षा र राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक बस्दैछ । बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले १० बुँदेको ट्याङट्याङ नगर्न चेतावनी दिएपछि तेस्रो धारका नेताहरु बैठकमै ओलीसँग आक्रोश पोख्ने तयारीमा लागेका छन् ।

‘१० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा अध्यक्ष ओलीले जे विवाद ल्याउनुभयो, त्यो ठीक भएन । आज बस्ने बैठकमा यसबारे हामी कुरा उठाउँछौ, चुप लागेर बस्दैनौँ’, तेस्रो धारका एक स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘हामीलाई त उहाँले दासजस्तै ठान्नुभयो ।’

१० बुँदेको कार्यान्वयन सुदुरपश्चिम र वागमती लगायतका प्रदेशमा हुन सकेको छैन । अध्यक्ष ओली १० बुँदे कार्यान्वयन गर्न प्रतिवद्ध भएपछि माधव नेपालको साथ छोडेर १० जना स्थायी समिति सदस्यहरु एमालेमै बसेका थिए । तर, उनीहरुको माग र आवाज ओलीले दबाउँदै आएको गुनासो एमालेभित्र भुसको आगो जसरी फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप