शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा प्राकृतिक विपदबाट ३० जनाको मृत्यु

बिहीबार, ०४ कात्तिक २०७८, ११ : ००
बिहीबार, ०४ कात्तिक २०७८

अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङमा आठ र कैलालीमा एक जनाको मृत्यु भएको छ । यस्तै विपदमा परी घाइते हुने १६ जना पुगेका छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङमा एक गरी १६ जना घाइते भएका छन् । 

डोटीमा विपदमा परी मृत्यु हुने थप व्यक्तिमा बड्डीकेदार गाउँपालिकाका ५० वर्षीया चनरीदेवी नेपाली, जोरायल गाउँपालिकाका १५ वर्षीय पुस्कर विक, शिखर नगरपालिकाका २६ वर्षीया मन्धरा बलायर र सायल गाउँपालिकाका ७४ वर्षीय वीरे रोकाया छन् ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकाका ४९ वर्षका बिरु गिरी, ४५ वर्षीया चन्द्रदेवी गिरी, ४८ वर्षका धर्म रोकाया, ४५ वर्षीया जैसरादेवी रोकाया, ६८ वर्षीय रने आग्री, थलारा गाउँपालिकाका छ वर्षीय आयुस पार्की र सात वर्षका विकास पार्कीको पनि मृत्यु भएको पुष्टि भएको छ । 

विपदमा परी बझाङमा २१ र बैतडी, कैलाली, डोटी जिल्लामा एक÷एक गरी २४ बेपत्ता भएका छन् । बझाङको थलारामा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ । उक्त ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएको छ । पहिरो गएको ठाउँबाट दुई जनाको शव निकालिएको छ ।

पहिरोका कारण बझाङमा १२, डोटीमा तीन र डडेल्धुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।  विपदमा परी बाजुरा, डोटी, डडेलधुरा, बझाङ, जिल्लामा पशु चौपाया पनि मरेका छन् । यता कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानका कारण विस्थापित भएका परिवारलाई नेपाली सेना र प्रहरी टोलीद्वारा सुरक्षित स्थानमा सारिएको छ ।

कैलालीको जानकी गाउँपालिका–९ को वन क्षेत्रमा कर्णालीको बाढीका कारण फसेका प्रेम चौधरी र रामदयाल चौधरीको नेपाली सेनाको हेलिकोप्टरबाट बुधवार सकुशल उद्धार गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप