सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेरक प्रसङ्ग : शत्रुता समाप्त पार्ने सूत्र

बिहीबार, ०४ कात्तिक २०७८, १० : ३३
बिहीबार, ०४ कात्तिक २०७८

नेपालीमा एउटा भनाइ छ– ‘जस्तालाई तस्तै ... ।’ यस्तो भन्ने गरिएको भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । नभए पनि बाबाआमा वा दाजुदिदीलाई सोधेर थाहा पाउन सकिन्छ । यसको अर्थ हो, जो जस्तो छ त्यस्तै व्यवहार गर्नुपर्छ । कतिपय धार्मिक ग्रन्थहरूमा पनि यस्तै उल्लेख भएको पाइन्छ । स्वयं भगवान् कृष्णले समेत गीतामा यस्तै आशय व्यक्त गरेका छन् । पृथिवी नारायण शाहको दिव्योपदेशमा आएको ‘जाइ कटक नगर्नु झिकी कटक गर्नु’ भन्ने  प्रसङ्गमा पनि यस्तै आशय ध्वनित हुन्छ ।  यसलाई सरसर्ती हेर्दा, पढ्दा र सुन्दा ठीकै जस्तो लाग्छ तर त्यो आधा मात्र सत्य हो पूर्ण सत्य भने होइन । पूर्ण सत्य त यही हो कि भेटेसम्म, पाएसम्म र लागेसम्म अरू नै उपाय उचित हुन्छ । होइन अन्य कुनै उपाय छैन, पाइएन र भेटिएन भने मात्र ‘जस्तालाई तस्तै’ को नीति उपयुक्त हुन्छ ।

उदाहरणका लागि अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनलाई नै लिन सकिन्छ । लिङ्कनको नाम भाइबहिनीहरूलाई थाहै छ । उनी अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन्, जसले सन् १८६१ देखि १८६५ सम्म त्यहाँको शासनसत्ता समालेका थिए । उनको समयमा अमेरिकाको राजनीतिक अवस्था राम्रो थिएन । मुलुक गृहयुद्धमा फसेको थियो । प्रायः युद्ध, मारकाट, लडभीड तथा खुनखरावा भइरहन्थ्यो । सरकारी सेना र विद्रोहीबीच बरोबर झडप हुन्थ्यो । कति मर्थे कति गम्भीर घाइते भएर लड्थे । सामान्य घाइतेहरूका लेखाजोखा नै थिएन मुलुकका अस्पतालहरू गम्भीर घाइतेहरूले नै भरिएका हुन्थे, जहाँ सरकारी सेना र विद्रोही दुवै पक्षका घाइतेहरूले उपचार पाउँथे । 

एक दिन लिङ्कन घाइतेहरूको अवस्था बुझ्न कुनै अस्पतालमा गएका थिए । उनले घाइतेहरूको हाल खबर बुझिसकेपछि उपचारमा कुनै कसर बाँकी नराख्नु भन्ने आदेश दिए । उनको व्यवहार साथमा रहेका एकजना मित्रलाई मन परेन र भने–

‘मित्र ! तिमीलाई अस्पताल प्रशासनले सही जानकारी दिए जस्तो लागेन ।’

‘किन र ?’ लिङ्कनले मित्रको कुरालाई सामान्य रूपमा लिँदै भने–

‘खोइ मलाइ त त्यस्तो लाग्दैन । कसरी भन्छौ कि सही जानकारी दिएका छैनन् भनेर ?’

‘यही त प्रमाण हो नि मित्र ?’ साथीले सम्झाउँदै भने–

‘यस अस्पतालमा सरकारी सेना मात्र नभएर विद्रोही घाइतेहरू पनि उत्तिकै छन् ।’

‘त्यसो भएर के भो त ? फेरि पनि साथीको भनाइलाई सामान्य रूपमा लिँदै लिङ्कनले भने–

‘उनीहरू पनि यसै देशका नागरिक हुन्, उनीहरूले पनि उपचार पाउनुपर्छ होइन र ?’

‘त्यो त हो तर ... ।’

‘तर ...? तर के ....?’

‘यही कि तिमी भने सबैलाई समान व्यवहार गरिरहेका छौ, सबैको उपचारमा समान व्यवहार गर्नु भनिरहेका छौ ।’

उनको कुरा सुनेर लिङ्कनले गम्भीर हुँदै भने–

‘होइन मित्र ! मैले थाहा भएर नै त्यस्तो भनेको हुँ ।’

लिङ्कनको कुरा बुझ्न नसकेर मित्रले आश्चर्यचकित हुँदै सोधे–

‘तिम्रो व्यवहारमा आशङ्का गर्न त सक्दिन तर आशय भने बुझ्न सकिरहेको छैन । यसको कारण के हो प्रष्ट पार्न सक्छौ ?’

त्यसपछि लिङ्कनले कारण खुलाउँदै भने–

‘एउटा होइन, धेरै कारण छन् मित्र !’

‘जस्तै ?’

‘जस्तै कि पहिलो कारण यहाँ मात्र घाइते छन् । घाइते व्यक्ति घाइते नै हुन्छन् । उनीहरू न मित्र हुन्छन् न शत्रु । घाइते भनेका घाइते हुन् मात्र घाइते । दोस्रो कारण हामीले पनि विद्रोहीको जस्तै व्यवहार गर्ने हो भने हामी र उनीहरूका बीचमा के नै फरक रह्यो र । हामीेले अरूले के गरे र के भने भनेर हेर्ने होइन, आफूले के भनिएको छ र के गरिएको छ भन्नेमा ध्यान दिनुपर्छ । तेस्रो कारण त्योभन्दा पनि ठूलो छ । कसैमाथि पनि विजय पाउनु छ भने उनीहरूको मन जित्ने प्रयास गर्नुपर्छ । शत्रुको मन जित्न सके जस्तोसुकै युद्ध पनि जित्न सकिन्छ होइन भने प्राप्त विजय पनि कतिबेला पराजयमा परिणत हुन सक्छ भन्न सकिन्न ।’

यति भनेर उनी घरतिर लागे । उनका कुरा मित्रले केकति बुझे त्यो त थाहा भएन तर उनले भने राम्रैसँग बुझेका थिए । उनका यस्तै व्यवहारले गर्दा नै मुलुकको शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ।

यो एउटा उदाहरण हो । वस्तुस्तः जहाँ पनि र जहिले पनि यही नियमले काम गरेको हुन्छ । यदि दिगो शान्ति वा स्थायी विजयको कामना गर्ने हो भने जसले पनि र जहिले पनि अरूको मन जित्ने प्रयास गर्नुपर्छ । बलपूर्वक प्राप्त गरिएको विजयमा पराजित पक्षको तुष बाँकी नै रहन्छ र कुनै पनि विजयलाई पराजितको स्वरूप धारण गनुपर्र्ने अवस्था आउन सक्छ तर मन जित्न सकिएको छ भने यस्तो जोखिम हुँदैन । भए पनि अत्यन्त न्यून हुन्छ । 

यसै पनि शत्रुलाई शत्रुताले जित्न खोज्नु मूर्खता बाहेक केही होइन । शत्रुलाई सदाका लागि पराजित गर्ने हो भने मित्रताको हात बढाउनै पर्छ । शत्रुलाई शत्रुताले जित्न खोज्नु र आगोलाई आगोले नै निभाउन खोज्नु उस्तै हो । न आगोलाई आगोले निभाउन सक्छ न पानीलाई पानीले सुकाउन सक्छ । आगोले आगोलाई निभाउँदैन बढाउँछ । बलेको आगोमा अर्को बलेको आगो थप्ने हो भने के होला ? शत्रुतालाई शत्रुताले जित्न खोज्नु पनि त्यस्तै हो । एउटाले शत्रुता देखायो अर्कोले पनि त्यस्तै ग¥यो । फलतः उनीहरूबीचको शत्रुता यति बढी झाँगिएर गयो कि कहिल्यै समाप्त भएन तर शत्रुको पनि मन जित्न सकिएको छ भने वा जित्ने प्रयास गरिएको छ भने एक दिन शत्रुतालाई नै घुँडा टेक्न बाध्य पार्छ । 

लिङ्कनले यही नीति लिएका थिए, जसले गर्दा अमेरिकी साम्राज्यलाई एकै सूत्रमा बाँध्ने काम मात्र गरेन मरेर गएका यतिका वर्ष हुँदा पनि उनकै नीतिको प्रशंसा भइरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालसंसार डेस्क
बालसंसार डेस्क
लेखकबाट थप