ad
अनुभव

जापानी नागरिक हारुहितोको अनुभव : नारायणहिटीमा राजा भेट्न ६ घण्टा लाइन, १० सेकेण्डमै टीका !

person explore access_timeकात्तिक ४, २०७८ chat_bubble_outline1

यस वर्ष पनि जापानी नागरिक हारुहितो नोजुले जापानको राजधानी टोकियोमा दसैँको टीका लगाए । उनका नेपाली साथी एवं रेष्टुरेन्ट व्यवसायी इन्द्र खड्काले हारुहितोलाई दसैँमा निम्तो गरेका थिए । खड्काको परिवारसँग सहभागी भएर उनले यस वर्षको दसैँ मनाए । साथै आफूले नेपाली भाषा पढाइरहेका ३ जना विद्यार्थीलाई पनि उनले दसैँको टीका लगाइदिए ।


जापानी नागरिक हारुहितो नोजु नेपाली भाषाशास्त्री हुन् । उनी नेपाली भाषा सिक्न झन्डै ३९ वर्षअघि पहिलोपटक काठमाडौँ आएका थिए । त्यसयता उनको नेपाल र नेपालीसँगको सम्बन्ध घनिष्ठ रहँदै आएको छ । सोही बेलादेखि उनको सम्बन्ध दसैँ चाडसँग पनि जोडिएको छ । रातोपाटीसँगको कुराकानीका क्रममा उनले भने, ‘म पहिलो पटक नेपाल पुगेको २०३९ सालको फागुन महिना थियो । तसर्थ मेरो लागि पहिलो दसैँको टीका चाहिँ २०४० सालको दसैँमा हो ।’



हारुहितोले दसैँको पहिलो टीका आफ्ना घरबेटीको हातबाट लगाएका थिए । त्यतिबेला उनी बालुवाटारमा बुधेन्द्र जोशीको घरमा २ बर्षसम्म बसेका थिए । त्यहाँ उनले पहिलो पटक दसैँसँग परिचित हुने अवसर मात्रै पाएनन्, दसैँको रोचक अनुभूति पनि समेट्न पाए ।



हाल अमेरिकामा रहेका बुधेन्द्र जोशी त्यतिखेर अमेरिकी पिसकोरका स्वयंसेवकलाई नेपाली भाषा पढाउने गर्थे । अहिले उनीहरूको सबै सपरिवार अमेरिकामै रहेको नोजुले सुनाए ।





हारुहितोले रातोपाटीसँग दसैँको पहिलो अनुभव सुनाउँदै भने–



‘तनहुँको दमौली स्थायी घर भएका नेवार समुदायको जोशी परिवारको बालुवाटार रहेको घरमा म पनि परिवारको सदस्यझैँ बसेको थिएँ । दसैँ सुरु हुनेवित्तिकै उनीहरूले बोको किनेर ल्याए । उनका भाइको परिवार पनि दसैँमा आएका थिए । अष्टमीको दिन ठूलो खुकुरीले एकैपटकमा बोकाको घाँटी छिनालिदिए । म त झसङ्ग भएँ । उनीहरूले बोकाको रगत गाडीमा, मेसिनमा छर्किदिए । त्यसो गर्छन् भन्ने अगाडि नै थाहा भए पनि पहिलोपटक देख्दा म छक्क परेँ ।

उनीहरूले रगत पनि पिए । मलाई पनि पिउन दिए । तर, मैले पिउन सकिन् । बोकाका टाउकोका विभिन्न भागहरु परिवारका सदस्यहरूमा भाग लगाएर खाने चलन रहेछ । कसैको भागमा कान, कसैलाई आँखा भागमा पर्‍यो । मेरो भागमा भने बोकाको गालाको मासु पर्‍यो । त्यो क्षण निकै रमाइलो थियो ।’

‘२०४० हो वा ०४१ सालतिर राजा वीरेन्द्रबाट पनि टीका थापूँ भनेर दरबार अगाडि दिनभरि लाइनमा बसेको थिएँ । दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म यत्रो लामो समय लाइनमा बस्दा लाइनका अघिपछिका मानिसहरूसँग गफसफ गरेर रमाइलो समय बिताएको अहिले सम्झन्छु । ६ घण्टा लाइन बसेँ,  टीका लगाउन त १० सेकेण्ड पनि लागेन ।’

हारुहितो दसैँका बेला कुकुरको स्वभाव देखेर पनि छक्क परे । ‘त्यो घरमा कुकुर पनि पालिएको थियो । त्यसको नाम के थियो अहिले मैले बिर्सिएँ’ उनी सम्झन्छन्, ‘दसैँको सुरुमा केही खानेकुरा दिँदा उ उफ्री उफ्री खान्थ्यो, पछि त मासु देख्दा पनि वास्ता नगर्ने भएको थियो ।’

जोशी परिवारमा हारुहितोले २ वटा दसैँ मनाए । त्योबेला आफू बस्ने घरबेटीको हातबाट बाहेक उनले अरू क–कसका हातबाट टीका थापे, त्यो बिर्सिसके । भाग्यमानी हुनु, धेरै पढ्नु, स्वस्थ रहनु भन्ने उनले आशिष पाएका थिए । त्यो बेला उनले पनि जोशी परिवारकी दुई–तीन वर्षकी सानी नानी नितुलाई टीका लगाइदिएका थिए ।

राजाको हातबाट टीका लगाउन ६ घण्टा लाइनमा

हारुहितोले २०४०–०४१ सालतिर दसैँमा राजा वीरेन्द्रको हातबाट टीका थापे । राजाको हातको टीका १० सेकेन्डमै सकियो । तर, टीका लगाउन भने महाभारतै भयो । दिउँसो १ बजे लाइन बसेका उनी राजाको छेउ पुग्दा साँझको ७ बजेको थियो ।

राजाका हातबाट टीका लगाउने मौका फेरि आउला वा नआउला ? फेरि नेपाल आइएला वा नआइएला भनेर अनुभवका लागि राजाको हातबाट टीका थाप्न गएको हारुहितोले रातोपाटीलाई सुनाए । उनले भने, ‘२०४० हो वा ०४१ सालतिर राजा वीरेन्द्रबाट पनि टीका थापूँ भनेर दरबार अगाडि दिनभरि लाइनमा बसेको थिएँ । दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म यत्रो लामो समय लाइनमा बस्दा लाइनका अघिपछिका मानिसहरूसँग गफसफ गरेर रमाइलो समय बिताएको अहिले सम्झन्छु । ६ घण्टा लाइन बसेँ,  टीका लगाउन त १० सेकेण्ड पनि लागेन ।’

दिनभरि लाइनमा बस्दा को–कोसँग के कस्ता कुरा भए, अहिले उनलाई याद छैन । तर, धेरै टाढाबाट पनि मान्छेहरू राजाको हातबाट टीका थाप्न आउँदा रहेछन् भन्ने थाहा पाएको उनले सुनाए ।

साथीको घरमा टीका, डाँडाको लिङ्गे पिङ देख्दा डर लाग्यो

विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिक्दा र त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषामा एमए गर्नेबेला नेपालमा हारुहितोले नियमितरूपमा दसैँको टीका लगाउँथे । कुनै दसैँमा भोजपुरमा त कहिले झापामा साथीहरूको घरमा गएर टीका थापेको स्मरणमा अझै ताजै छ उनलाई । उनी सम्झन्छन्, ‘मेरा साथीहरु कवि विप्लव ढकालको घर भोजपुरको याकु गाविस, कवि भीष्म उप्रेतीको घर झापाको शनिश्चरे गाविसमा गएर पनि मैले दसैँको टीका लगाएको छु ।’

हारुहितोले नेपालमा कतिवटा दसैँमा टीका लगाए, ठ्याक्कै थाहा छैन । नेपालमा हुँदा त टीकाको दिनमा मात्र नभई कोजाग्रत पूर्णिमाको दिनसम्म विभिन्न मानिसको घरमा गएर टीका लगाएको उनले सम्झिए ।

दसैँमा खेलिने लिङ्गे पिङले पनि हारुहितोलाई निकै आकर्षित गरेको थियो । उनले गाउँको नाम बिर्सिए पनि डाँडाको अग्लो ठाउँमा हालेको पिङको सम्झना अझै ताजा छ । उनी स्मरण गर्छन्, ‘डाँडाको अग्लो ठाउँमा पिङ थियो । मान्छेहरू रमाइरहेका थिए । डाँडाको दुवैतिर भीर थियो । टाढाबाट हेर्दा पिङ खेलेको निकै रमाइलो देखिएको थियो । मलाई पनि पिङ खेल्न लगाए । पिङमा बस्नासाथ एकदम डर लाग्यो । वारी पारी भीर हुँदा पनि मान्छेहरू रमाएर पिङ खेलिरहेको देख्दा छक्क परेँ ।’

हाल जापानको राजधानी टोकियोमा बसिरहेका नेपाली भाषाशास्त्री हारुहितो नोजू दसैँ नेपालीहरूका लागि विशेष चाड रहेको बताउँछन् ।

नेपाली भाषाका जापानी अध्येता

नेपाली भाषालाई माया गर्ने हारुहितो नेपाली भाषा सिक्न झन्डै ३९ वर्षअघि पहिलोपटक काठमाडौँ आएका थिए । सुरुमा विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिकेका उनले पछि त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषामा एमए गरे ।

नोजुले केही साहित्यिक कृतिहरूको अनुवादसमेत गरेका छन् । केही जापानी दन्त्यकथालाई उनले नेपाली भाषामा अनुवाद गरेका छन् भने गुरुप्रसाद मैनालीको कथासङ्ग्रह नासोलाई जापानी भाषामा अनुवाद गरेका छन् ।

उनी अन्तर्राष्ट्रिय साहित्य समाज जापान च्याप्टरले गर्ने कार्यक्रमहरूमा र जापानमा मनाइने भानु जयन्तीका कार्यक्रममा नियमित सहभागी हुने गरेका छन् । उनले बेलाबखत नेपालमा हुने भाषा साहित्यको कार्यक्रममा पनि सहभागिता जनाउने गरेका छन् । 

कमेन्ट

  1. Oct. 21, 2021, 10:43 a.m. GJungThapa
    हारुहितो सर, धेरै धेरै नमस्कार। हजुरको नेपाली भाषामात्र नभई दुइ देश बिचको सेतु को काम गर्नु भएको छ। भाषासंगै संस्कृति नेपाली हरुहो जिबन शैली, चाडबाड सबैलाइ उत्तिकै समानान्तर तरिकाले लानु भएको छ। हजुरलाइ म एक नेपालि को हैसियेत ले उच्च सम्मान दिन चाहन्छु। आशा छ यहाले स्विकर्नुहुने छ। हजुर को सुस्वास्थ्य र दिर्घायु को कामना गर्दछु।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।