बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

होक्लाबाडी टप्पुका ८५ परिवार उद्धारको पखाईमा

बिहीबार, ०४ कात्तिक २०७८, ०६ : ४५
बिहीबार, ०४ कात्तिक २०७८

गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए । 

बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उनको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ । 

बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उनले जानकारी दिए । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पु–याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् । 

“चारैतिर कनकाइ नदीले घेरा हालेको छ । उद्धार गर्नसक्ने अवस्था छैन”, उनले भने, “अब पानी रह्यो बाढी पनि घट्छ होला । भोलि जसरी पनि उनीहरूको उद्धार गर्न पहल गर्नेछौँ ।” अध्यक्ष श्रेष्ठले बस्तीमा विशेष गरी सन्थाल, आदिवासी र बाहुन क्षेत्रीको बसोबास रहेको बताए । 

झापामा सबैभन्दा बढी डुबानमा परेर विस्थापित हुनेमा पनि गौरीगञ्जकै बासिन्दा छन् । वडा नं १ कै धानगाडा, बिर्खेबस्ती, रङ्गियाथान र बालुवाडी र वडा नं २ को भाकुमाडीका गरी करिब २०० परिवार डुबानमा परेका छन् । जसमध्ये ७५ परिवारको भने उद्धार गरेर सामुदायिक वन, स्कूल र रेडक्रसको भवनमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप