बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवरुद्ध १४ सडक खुलाइँदै

बिहीबार, ०४ कात्तिक २०७८, ०६ : २३
बिहीबार, ०४ कात्तिक २०७८

विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए ।

वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिए । त्यसैगरी उनले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको बताए ।

यसअघिको वर्षायाममा अवरुद्ध भएको सो सडक एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उनले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिए । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पु¥याएको उनले जानकारी दिए ।

महानिर्देशक थापाका अनुसार बेँसीसहर चामेबाट मनाङ जाने सडक पुनः अवरुद्ध भएको छ । वर्षाले क्षति भएको यो सडक दुई महिनाअघि मात्र सञ्चालनमा आएको थियो । त्यसैगरी मुस्ताङ जाने सडकको काभ्रेभीर भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ ।

केही दिनको वर्षाका कारण मुलुकभरि सञ्चालनमा आइसकेका कुनै पनि पुलमा अहिलेसम्म क्षति नपुगेको उनले स्पष्ट पारे । उनले वर्षाले क्षति भएका राजमार्ग तथा सडकमा अबको पाँच दिनभित्र आवागमन हुने गरी मर्मत कार्य सुरु भइसकेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप