शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा ३० प्रतिशत धानबाली क्षति

बिहीबार, ०४ कात्तिक २०७८, ०६ : २२
बिहीबार, ०४ कात्तिक २०७८

धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाडो अवस्थामा छैन ।

कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकामा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए ।

पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेकामा खडा अवस्थाको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उहाँले जानकारी दिए ।

कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताए । निरन्तरको वर्षाका कारण धानमा ठूलो क्षति भएको उहाँले जानकारी दिए । पानी निरन्तर परिरहेकाले थप क्षति हुनसक्ने आँकलन गरिएको पाण्डे बताउनुहुन्छ । विगतका वर्षमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उहाँको भनाइ छ ।

चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती भएकामा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा विगत वर्षको आँकडालाई हेर्दा प्रतिहेक्टर ३.८ मेट्रिकटन उत्पादन हुने गरेको छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ र जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप