बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाको मृत्यु (अपडेट)

बुधबार, ०३ कात्तिक २०७८, २१ : २८
बुधबार, ०३ कात्तिक २०७८

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । 

त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने वडा नम्बर ४ रविका एक व्यक्तिलाई खोलाले बजाएर बेपत्ता बनाएको छ । मिक्लाजुङ गाउँपालिकाकै ७ नम्बर वडा लिम्मामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति पहिरोमा पर्दा फिदिम  नगरपालिका–४ का दुई जनाको मृत्यु भएको छ । पहिरोकै कारण  फाल्गुनन्द गाउँपालिकामा तीन जना र कुम्माय गाउँपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यता इलामका विभिन्न स्थानमा आएको बाढी र पहिरोले १३ जनाको ज्यान गएको छ । इलामको फाकफोकथुङ गाउँपालिकामा सात जना, सूर्योदय  नगरपालिकामा तीन जना, माङ्सेबुङ गाउँपालिकामा दुई जना, माइ नगरपालिकामा एक जना र देउमाई नगरपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उता धनकुटामा पहिराले घर बगाउँदा सात जनाको मृत्यु भएको छ भने उदयपुरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी र पहिरोमा परी सुनसरीमा पाँच जनाले ज्यान गुमाएका छन् भने मोरङ र भोजपुरमा एक÷ एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रदेश १ का धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएकाले सम्पूर्ण विवरण प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ । पानी पर्ने क्रम अझै नरोकिएकाले प्रदेश १ का विभिन्न स्थानमा बढी र पहिरो गइरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । प्रहरीले वर्षा नरोकिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अपिलसमेत गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप