बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा वर्षाले २० घर भत्किए, १०० उच्च जोखिममा

बुधबार, ०३ कात्तिक २०७८, २० : ४६
बुधबार, ०३ कात्तिक २०७८

आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।

घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिए । घर भत्किए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । ६ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल वर्षाले एक घर भत्किएको छ भने लाखौँको क्षति भएको छ ।

यता सर्केगाड गाउँपालिका–४ साँयामा ११ घरमा क्षति गरेको बताइएको छ । अदानचुली गाउँपालिका–१ कल्खेमा तीनवटा घरमा पहिरोले क्षति गरेको छ । वर्षाका कारण वडा नं १ दशरथ महतारा, धनलाल भियाल र मानबहादुर महाताराको गरी तीनवटा घरमा क्षति गरेको बताइएको छ ।

यस्तै हुम्लाका विभिन्न स्थानीय तहमा रहेका १०० घर पहिरोको उच्च जोखिममा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ को थालीमा रहेका ५० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय तारावीर रावलले जानकारी दिए । उनका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाले थालीगाउँका ५० घरधुरी पहिरोको उच्च जोखिममा पर्नुका साथै उनीहरूलाई आफन्तको घरमा सारिएको छ । पहिराले खेतीयोग्य जमिनसमेत बगाइसकेको र घर पनि पहिरोको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दामा सङ्कट सिर्जना भएको छ ।

यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–४ लौठीमा ३० घरपरिवार पहिरोको उच्चमा परेका छन् । लौठीगाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहे पनि अहिलेसम्म क्षति नगरे पनि उच्च जोखिममा रहेको यहाँका स्थानीय जयराज सज्यालले जानकारी दिए । वर्षाले यस क्षेत्रमा भौतिक संरचनादेखि अन्य बालीनालीसमेत क्षति गरेको उनले बताए । 

यस्तै अदानचुली–२ खलेसेरा गाउँका २० घर पहिरोको जोखिममा परेका छन् । गत वर्ष यस क्षेत्रका चार घर पहिरो परी पूर्णरूपमा क्षति भएको थियो । पहिरो पीडितलाई सम्बन्धित निकायले कुनै सहयोग नगरेको यहाँका लगबहादुर बुढाले बताए । अहिले पनि २० घर पहिरोको जोखिममा रहेको उनले बताए ।

 यसपटकको वर्षाले हुम्लामा कृषकले घर भित्र्याउन लागेको धानबाली, गहुँ, जौँमा क्षति पुगेको छ । पाकिसकेको बाली खेतमै रहेको र लगातारको वर्षाले कुहिएर खेर जाने भन्दै यहाँका किसानले चिन्ता व्यक्त गर्न थालेका छन् । वडा–२ को खलेसेरामा धानबाली, मकै, कोदोलगायत अन्य तरकारीजन्य खाद्यान्नसँगै जमिनसमेत बगाएको छ । यता अदानचुली वडा ३ मा रहेको हालै मात्र बनाएको महिला भवनसमेत भत्काएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप