बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले प्रदेश २ मा १५ प्रतिशत धानमा क्षति

बुधबार, ०३ कात्तिक २०७८, १९ : १६
बुधबार, ०३ कात्तिक २०७८

देशभरि केही दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेश २ मा पनि ठुलो क्षति भएको छ । प्रदेश २ मा वर्षाका कारण मानवीय क्षति नभएपछि धानबालीमा व्यापक क्षति भएको हो । प्रदेश २ का खेतहरूमा लगाइएका धानहरू मध्ये १५ प्रतिशत धानमा क्षति पुगेको जनाइएको छ ।

कार्तिक महिनामा अप्रत्याशित रूपमा अविरल वर्षाका कारण बालासम्म फुट्न नपाएको धानको बिरुवा पानीमा ढलेको छ । ढलेका धानहरूमा क्षति पुग्ने किसानहरूको भनाइ छ । कम लम्बाई हुने धानहरू सोना मनसुली, कतरनी, रामविलास लगायतका धानहरूमा क्षति नपुग्ने अनुमान कृषि ज्ञान केन्द्र धनुषाले गरेको छ । तर बासमती, करिया कामुर लगायतका धानहरूको बढी लम्बाई हुने भएकाले पानीमा ढलेको र बाला फुट्न नपाउँदै पानीमा गल्ने सम्भावना समेत बढेको केन्द्रको छ ।

चार मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको धनुषा जिल्लामा धान उत्पादनमा यो वर्षाका कारण कमी आउने कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका प्रमुख शंकर साहले जनाए । उनले धनुषामा धान खेतीमा खासै असर नपरेपनि बाला फुटिसकेको धानमा क्षति पुग्ने उनले बताए । धनुषा जिल्लामा चार मेट्रिकटन प्रति हेक्टर धान उत्पादनको अनुमान गरिएकोमा केही ह्रास आउने उनले बताए । धनुषा जिल्लामा यस वर्ष ५८ हजार हेक्टरमा धान खेती गरिएको छ ।

त्यस्तै सर्लाही जिल्लामा काट्न बाँकी रहेको अगौटे धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको कृषि ज्ञान अध्ययन केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाले बताए । उनले  अगौटे धानमध्ये ७५ प्रतिशत धान काटिसकिएको र बाँकी रहेको २५ प्रतिशत धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको बताए ।

४० हजार हेक्टरमा धान खेती गरिएको सर्लाही जिल्लामा अगौटे र पछौटे धान मिलाएर कुल १५ प्रतिशत धानमा क्षति पुगेको कुश्वाहाले बताए । सर्लाहीमा ४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको थियो ।

त्यस्तै बारा तथा पर्सा जिल्लामा समेत १० प्रतिशत धानमा अविरल वर्षाका कारण क्षति पुगेको छ । कृषि ज्ञान अध्ययन केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सबै स्थानीय तहसँग सम्पर्क गरेर धान खेतीमा पुगेको क्षतिबारे सूचना सङ्कलन गरि रहेको जानकारी दिए । बारा जिल्लामा ५८ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ ।

महोत्तरी जिल्लामा गहिरो खेतमा रहेका धानहरूमा ठुलो क्षति पुगेको छ । यद्यपि अन्य भागमा रहेका खेतहरूमा पानी लागे पनि धान उत्पादनमा खासै ह्रास नआउने कृषि ज्ञान अध्ययन केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए । महोत्तरीमा ४६ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ ।

दुई दिन परेको वर्षाको कारण महोत्तरीमा साढे ९ लाख भन्दा बढीको सम्पत्तिमा नोक्सान भएको छ । मंगलबार देखि परेको वर्षा सँगै आएको हावाहुरीबाट महोत्तरीको विभिन्न स्थानमा ९ लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

जिल्लाको मनराशिस्वा नगरपालिका वडा नं. ३ का महिन्द्र महतो नुनियाको कच्ची घर भत्कँदा १ लाख, वडा नं. ८ का ३९ वर्षीय जाहेरुल राईन बाँसको गाह्रो र खरले छाएको २ कोठा भएको कच्ची घरमा पूर्ण रूपमा क्षति ३५ हजार रुपैया बराबरको लत्ताकपडा, अन्नपात, भडावर्तणमा क्षति भएको छ ।

त्यस्तै भंगाहा नगरपालिका वडा नं. ६ सग्रामपुरका मनोज यादवको एक तल्ले टालीले छाएको कच्ची घर पूर्ण रूपमा भत्कँदा १ लाख बराबरको क्षति  भएको छ । रवीदुखा यादवको एक तल्ले खरले छाएको बासको बेरा भएको कच्ची घर भत्कँदा १ लाख, मैतुन खातुनको एक तल्ले खरले छाएको बासको बेरा भएको कच्ची घर भत्कँदा १ लाख ५० हजार, रामएकवाल यादवको एक तल्ले टालीले छाएको कच्ची घर भत्कँदा १ लाख २५ हजारको क्षति भएको छ ।

त्यस्तै बलवा नगरपालिका वडा नं. ७ का राहुल कुमार झाको एक तल्ले टालीले छएको कच्ची घर भत्कँदा १ लाख ५० हजार, वडा नं. ८ की निरो देवी मण्डलको भान्सा घरको छानो झर्दा ७५ हजार, नन्दा मुखियाको भान्सा घर भत्कँदा ७५ हजारको क्षति  भएको हो ।

बलबा नगरपालिका वडा नं. ३ कै राम चन्दु यादवको खपडाले छाएको १ तल्ले कच्ची गोठ घरमा क्षति हुँदा १ लाख, सञ्जीव यादवको १ तल्ले कच्ची गोठ घरको माटो र बाँस टाटी भत्कँदा २० हजारको क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप