शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीमबहादुर हत्या प्रकरण : प्रहरी भन्छ– जातीय विभेद खुलेको छैन

बुधबार, ०३ कात्तिक २०७८, २२ : २७
बुधबार, ०३ कात्तिक २०७८

चितवनको भरतपुर महानगरपालिकामा भीमबहादुर विश्वकर्माको हत्या भयो । दशैंको नवमीका दिन असोज २८ मा भरतपुर महानगरपलिका–४ स्थित दुर्गा चोकमा उनको हत्या भएको थियो । दलित अभियन्ताहरुले ५८ वर्षीय भीमबहादुरलाई जातीय विभेदका कारण हत्या गरिएको दाबी गरेका छन् ।

यसबीचमा दलित मुक्ति संगठनले घटनाबारे स्थलगत अध्ययन गरेको थियो । दुर्गाचोकमा रहेको मन्दिरमा भेला भएका स्थानीयका बीचमा विश्वकर्माले ‘यो मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने कि नपाउने ?’ भनेर प्रश्न गर्दा उनको हत्या गरिएको सो संगठनको जिकिर छ ।

नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति निकालेर जातीय विभेदका कारण भीमबहादुरको हत्या भएको भन्दै हत्याराहरूमाथि कडा कारवाही र परिवारलाई न्यायपूर्ण क्षतिपूर्तिको माग गरेका छन् । हत्यामा संलग्न रहेका भनिएका दुईजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आरोपीहरुमाथि ‘ज्यान मार्ने कसुर’ मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डीएसपी) सूर्य थापाले रातोपाटीलाई बताए । तर, अनुसन्धानका क्रममा जातीय विभेद भएको नखुलेको बताउँछन् डीएसपी थापा ।

प्रहरीका अनुसार नवमीको दिन बिहान पौने १० बजेतिर भीमबहादुर मादक पदार्थ खाएर दुर्गाचोकमा पुगेका थिए । चोकमा उनले अश्लील शब्द बोलेर हो–हल्ला गरेपछि सीताराम बस्नेतले ‘नजिकै महिला दिदीबहिनीहरु छन्, किन हल्ला गरेको ?’ भन्दै प्लाष्टिकको पाइपले कुटेका थिए ।

प्रहरीका अनुसार १० मिनेटपछि भीमबहादुर कराउँदै पल्लवी फार्मेसीमा प्रवेश गर्न खोजे । सो फार्मेसीका सञ्चालक दिलिप श्रेष्ठले उनलाई मुक्का हानेर घर जान आग्रह गरे । तर, दिलिपले मुक्का हान्दा उनी ढलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि दिलीपले नै उनलाई चितवन मेडिकल कलेजमा लगे । अस्पतालमा उनको मृत्यु भयो ।

‘कुटपिटमा दुईजनाको संलग्नता देखिएको छ’ डीएसपी थापाले भने, ‘यसमा जातीय विभेद खुलेको छैन, हामी अनुसन्धान गर्दैछौं ।’ मन्दिरमा पस्न पाउनुपर्छ भन्दा भीमबहादुरमाथि कुटपिट भएको अनुसन्धानबाट देखिएको छैन ।

दुर्गाचोकमा रहेको भनिएको मन्दिर बाटोमा भएको सानो मन्दिर हो । सो मन्दिरमा भिडभाड हुनेगरी पूजाआजा र बली दिने परम्परा नभएको प्रहरीको भनाइ छ । ‘घटना भएका बेलामा मन्दिरमा पूजा गरेको अवस्था छैन’ डीएसपी थापाले भने, ‘नजिकै घरहरु छन्, सानोखालको मन्दिर हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप