शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यातायात व्यवसायीलाई बढेको भाडाले पुगेन, खुलेआम ठगी !

यात्रु हरेकपटक बढी भाडा तिर्न बाध्य
बुधबार, ०३ कात्तिक २०७८, १७ : ५०
बुधबार, ०३ कात्तिक २०७८

यातायात व्यवसायीको माग अनुसार सरकारले भाडावृद्धि गरेपछि मनपरी रुपमा भाडा असुली भइरहेको पाइएको छ । सम्बन्धित निकायको अनुगमनको अभावका कारण व्यवसायीले उपत्यकासहित बागमती प्रदेशको अन्तरजिल्ला यातायातमा तोकिएको भन्दा झण्डै दोब्बरसम्म भाडा असुल गरेका हुन् । 

काठमाडौं उपत्यकामा न्यूनतम भाडा १८ रुपैयाँ तोकिएपनि सार्वजनिक सवारीसाधनका चालक÷सहचालकले खुद्रा पैसा नभएको बहानामा २० रुपैया नै असुलिरहेका छन् । कतिपय चालक तथा सहचालकले त न्यूनतम भाडा नै २० रुपैयाँ रहेको जिकिर गर्दै वादविवाद गर्ने गरेको यात्रुहरूको गुनासो छ ।

सरकारले असार २९ गतेदेखि लागू हुनेगरी अन्तरप्रदेश राजमार्गमा चल्ने सार्वजनिक यातायात भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो । छोटो दूरी र प्रदेशभित्रकै एक जिल्लाबाट अर्को जिल्लामा चल्ने यातायात भाडा भने बढाएको थिएन ।

तर, देशभरका यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा एकसाथ बढाए । गाडीमा नक्कली सूची राखेर भाडा असुल्न थाले । झण्डै एक सातासम्म आफूखुशी भाडा असुलेपछि यात्रुहरूले व्यापक गुनासो गरे । ट्राफिक प्रहरीलाई दबाब बढ्यो । सवारीचालकमाथि कारबाही थाल्यो । यातायात व्यवस्था विभागले पनि एक अन्त्यन्त जरुरी सूचना जारी गर्दै भाडा अन्तरप्रदेश बाहेक अन्यत्र भाडा नबढेको जानकारी दियो ।

कारबाही खेप्न बाध्य भएपनि यातायात व्यवसायीले आफूखुशी बढेको भाडादर हटाए र पुरानै भाडा लिन थाले । तर, प्रदेशभित्रै अन्तरजिल्ला र स्थानीय रुटहरूमा भने यातायात व्यवसायीले यात्रु ठगिरहे ।

आफूखुशी भाडा बढाउन आन्दोलन, सरकार लाचार

अन्तरप्रदेश भाडा बढेदेखि नै स्थानीय रुटमा पनि यात्रुबाट बढी भाडा असुल्न थालेका यातायात व्यवसायीहरूले आफूखुशी बढाएको भाडा सरकारले सदर गर्नुपर्ने भन्दै दवाव दिइरहेका थिए ।

यही माग पूरा गराउन भन्दै यातायात व्यवसायीहरूले दसैँकै छेको अर्थात असोज १८ गते सवारीसाधन चलाएनन् । चक्रपथलगायत विभिन्न स्थानमा एकाबिहानै सवारीसाधन तेर्स्याएर उनीहरुले सडक कब्जामा लिए । चालक तथा सहचालकले चाबहिल चोकलगायत स्थानमा अवरोध हटाउन गएका प्रहरीलाई नै आक्रमणको प्रयास गरे ।

तर, अत्यावश्यक सेवा ठप्प पारेका यातायात व्यवसायीलाई सरकारले कारबाही गरेन । बरु, बागमती प्रदेश सरकारले असोज २५ गते राजपत्रमार्फत काठमाडौं उपत्यकामा किलोमिटरका दरमा र लामो दूरीको हकमा २३ प्रतिशतले भाडा बढाउने निर्णय गर्यो । यो भाडादर यातायात व्यवसायीले नै आफूखुशी तोकेका थिए । प्रदेश सरकारले त्यसैलाई राजपत्रमार्फत वैधता दियो ।

भाडा बढाएर पुगेन, खुलेआम ठगी

लामो दुरी होस् या स्थानीय रुट, यतिखेर यातायात व्यवसायीले बढेको भाडा त लिएका छन् नै । यात्रुहरूलाई खुलेआम ठगिरहेका छन् । चालक र सहचालकको दुर्व्यवहार र ट्राफिक प्रहरीले गर्ने बेवास्ता झेल्नुभन्दा ठगिँदै यात्रा गर्नुपर्ने हालतमा छन् यात्रु ।

 नुवाकोटको त्रिशुलीदेखि चोकदेसम्म सरकारले तोकेको भाडा ५२ रुपैयाँ हो । तर, यातायात व्यवसायीले १५० रुपैयाँसम्म बढी भाडा असुलिरहेका छन् । नुवाकोट गृहजिल्ला भएका पत्रकार रामकृष्ण अधिकारीले फेसबुकमा लेखेका छन्, ‘धेरै अगाडिदेखि सार्वजनिक सवारी साधनले असुल्दै आएको भाडादर हो – १५० रुपैयाँ । तर सरकारले २७ प्रतिशतसम्म भाडा बढाउँदा बल्ल अहिले त्यस क्षेत्रमा ५२ रुपैयाँ भाडादर पुगेको छ ।  ९८ रुपैयाँ बढी भाडादर कहिलेसम्म असुल्न दिइरहने ?’

छोटो दूरीमा यात्रुमाथि यातायात व्यवसायीले गरिरहेको ठगी झनै कहालीलाग्दो छ । सार्वजनिक यातायात चढ्दा यात्रुहरू हरेकपटक ठगिने गरेका छन् ।

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ, १० किलोमिटरसम्मको दुरीमा २३ रुपैयाँ, १५ किलोमिटरसम्ममा २७ रुपैयाँ र २० किलोमिटसम्म दुरीमा ३० रुपैयाँ भाडादर तोकेको छ । २० किलोमिटरभन्दा बढी दूरीसम्म यात्रा गर्नेले अधिकतम ३५ रुपैयाँ भाडा तोकेको छ ।

तर, यातायात व्यवसायीहरूले उनीहरूकै मागअनुसार निर्धारण गरिएको भाडादर न कार्यान्वयन गरेका छन्, न त यात्रुलाई ठग्ने क्रम रोकिएकै छ ।  अहिले उपत्यकाभित्र २० किलोमिटरभन्दा लामो दुरी यात्रा गर्ने यात्रुबाट ५० रुपैयाँसम्म असुलिरहेका छन् । साँखुको डाँछीबाट रत्नपार्क आएकी मन्दिरा दुलालले भाडा बढेको भन्दै सहचालकले ५० रुपैयाँ लिएको बताइन् ।

न्यूनतम भाडा लाग्ने रुटमै हरेकपटक ठगी

माथि नै उल्लेख गरिसकियो– बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ, १० किलोमिटरसम्मको दुरीमा २३ रुपैयाँ, १५ किलोमिटरसम्ममा २७ रुपैयाँ र २० किलोमिटसम्म दुरीमा ३० रुपैयाँ भाडादर तोकेको छ । २० किलोमिटरभन्दा बढी दूरीसम्म यात्रा गर्नेले अधिकतम ३५ रुपैयाँ भाडा तोकेको छ ।

५ किलोमिटरभन्दा कम दुरीमा यात्रा गर्ने यात्रुले सहचालकलाई २० रुपैयाँ दिँदा २ रुपैयाँ भाडा फिर्ता आउँदैन । त्यो भन्दा माथिको नोट दिए पनि २० रुपैयाँ नै कटाएर भाडा दिन्छन् । भाडादरबारे जानकार यात्रुले २ रुपैयाँ फिर्ता माग्दा सहचालकले कर्कश जवाफ फर्काउँछन्, ‘गाडी चढ्नासाथ २० रुपैयाँ भाडा लाग्छ भन्ने थाहा छैन ?’ थप दुव्र्यवहार सहनुभन्दा ठगिएरै यात्रा गर्न यात्रु बाध्य छन् । सार्वजनिक यातायातमा भइरहेको भाडा ठगीबारे कुरा गर्न खोज्दा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फोन उठाएनन् ।

सहचालक र चालकले २३ रुपैयाँको साटो २५, २७ रुपैयाँको साटो ३० र ३५ रुपैयाँको साटो ४० रुपैयाँ त असुलिरहेका छन् नै । दुरीको हिसाबसमेत आफूखुशी तोक्छन् । कुन विन्दुदेखि कुन बिन्दुसम्म न्यूनतम दुरी हो र यात्रा गर्दा कति रुपैयाँ लाग्ने हो भन्नेबारे यात्रुहरूलाई थाहा हुँदैन । नियमन गर्नुपर्ने सरकारले पनि छोटो रुटमा एक विन्दुदेखि अर्को विन्दुसम्मको भाडादर यात्रुले थाहा पाउनेगरी जानकारी गराएको छैन । लामो दुरीका हकमा भने स्थान तोकेरै भाडादर निर्धारण गरेको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गर्ने आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार २०७७ फागुनसम्म नेपालमा सबै प्रकारका गरी ३९ लाख ८७ हजार २६७ वटा सवारीसाधन दर्ता भएको छ । यी मध्ये करिब ३ प्रतिशत अर्थात झण्डै एक लाख २० हजार सवारीसाधन सार्वजनिक यातायातका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप