मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारको १०० दिनमा ओलीको टिप्पणी : सरकार आलोचना गर्न पनि लायक छैन

बुधबार, ०३ कात्तिक २०७८, ०९ : ००
बुधबार, ०३ कात्तिक २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका हुन् । 

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावी गरे । 
 ‘अहिलेको सरकार एक खालको नायवीद्वार चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्वारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक नायक होइन’, ओलीले भने, ‘यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचारा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ ।’

उनले अगाडि थपे, ‘ साँच्ची यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन कि ? पर्दा पछाडिकाले चलाएका छन कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दावी थियो । अध्यक्ष ओलीले काँग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताए । उनले भने, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरु केही चाहिएको छैन । एमालेका विजय भएन भने केही पनि हुँदैन । अरुसँग केही छदै छैन ।’
अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनी समेत दिए । उनले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउँछु भन्ने विश्वास गर्नुपर्ने होईन ? हेर्नुस् त महाअभियोग पनि लाग्न सक्छ भनेका छन् । जनस्तरबाट राजीनामा गर भनेका छन् । के–के आरोप छ, तपाई हामी जम्मै सुनि राखेका छौं ।’

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप