शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : अल्पमतको सरकारलाई लम्ब्याउने एमालेको प्रयास

प्रदेशसभा बैठक सार्न सभामुखलाई पत्र
बुधबार, ०३ कात्तिक २०७८, १३ : ११
बुधबार, ०३ कात्तिक २०७८

नेकपा एमाले विश्वासको मत सम्बन्धी प्रस्ताव टार्ने प्रयास थालेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्र पठाएको हो ।

नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको हो । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भएकाले आगामी कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुख समक्ष आग्रह गरेको हो ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ अधिवेशन हुँदैछ । गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि कात्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा छलफल र मत विभाजन हुने तय भएको थियो ।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य निर्वाचन आयोगको असोज २५ गतेको पत्र संसद सचिवालयमा दर्ता भएसँगै अल्पमतमा परेकी थिइन् । नेकपा एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको हो । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । पार्टी विभाजनपछि प्रदेशसभामा एमालेका ४३ सांसद छन् ।

बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३ सांसद छन् । केन्द्रमा गठबन्धन बनाएका यी दलले प्रदेशसभा पनि गठबन्धनलाई निरन्तरता दिएका छन् । गठबन्धनमा रहेका यी प्रमुख दल मिल्दा प्रदेशसभामा प्रस्ट बहुमत जुट्छ ।

प्रदेशसभामा विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र जसपाका १ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप