मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

बुधबार, ०३ कात्तिक २०७८, ११ : ५५
बुधबार, ०३ कात्तिक २०७८

मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । विभिन्न निकायसँग समन्वय गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ रहेको छ ।

सडक मङ्गलबारदेखि अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसैँ सकेर राजधानी फर्केका तथा दसैंको अन्तिममा आफन्तजनकोमा आशीर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका हुन् ।

मङ्गलबार बिहानैदेखि सडक अवरूद्ध भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन नसकिएको वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए । दशैँका बेला मान्यजनको हातबाट टीका थाप्न हिँडेका बीच बाटोमा नै अलपत्र परेकाले सडक सुचारु गर्ने प्रयास भने जारी रहेको उनको भनाइ छ । मध्यपहाडी खुर्कोट–घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेको स्थानीय गौरव कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप