बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : भारतले पाकिस्तानसँगको खेल बहिष्कार गर्न सक्छ ?

बुधबार, ०३ कात्तिक २०७८, ११ : १०
बुधबार, ०३ कात्तिक २०७८

 टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच आगामी आइतबार प्रतिस्पर्धा हुँदैछ । परम्परागत रुपमा प्रतिद्वन्द्वी रहेका यी दुई मुलुकबीच हुने उक्त खेल रद्द गर्नका लागि भारतमा माग बढ्दो छ । जम्मु–कश्मिरमा आतंकवादीद्वारा गैर कश्मीरी नागरिकलाई निशाना बनाइएको र त्यहाँको आतंकवादी गतिविधिलाई पाकिस्तानले प्रोत्साहन गरेको भन्दै भारतमा एकथरीले पाकिस्तानविरूद्धको म्याच खेल्न नहुने तर्क गर्दै आएका छन् । उक्त म्याच भारतले नखेलेमा के हुन्छ भन्नेबारे पनि चर्चा हुन थालेको छ ।

भारत संकटमा पर्न सक्छ

आतंकवादी घटनालाई लिएर भारतले पाकिस्तानविरुद्धको म्याच खेल्न अस्वीकार गरेमा भारतलाई नै ठुलो घाटा हुने देखिन्छ । त्यो अवस्थामा खेल नखेली पाकिस्तानले दुई अंक पाउने छ भने भारत अंकविहीन हुनेछ । यसले गर्दा पाकिस्तानलाई सेमीफाइनलमा पुग्न सहज हुनेछ भने भारतका सामु संकट बढ्ने छ ।

भारत र पाकिस्तान फाइनलमा पुगे के हुन्छ ?

लिग चरणको खेल वहिष्कारका बाबजुद बाँकी खेलमा शानदार प्रदर्शन गरेर भारत फाइनलसम्म पुग्यो र फेरि पाकिस्तानसँग भिड्नुपर्ने अवस्था आयो भने के गर्ने भन्ने सवाल पनि स्वाभाविक रुपमा उठ्छ । उपाधिका लागि हुने म्याच पनि भारतले वहिष्कार गरेर पाकिस्तानलाई विजयी ताज पहि-याउँछ त ? प्रश्न उठ्नु स्वाभाविक हो ।

२०१९ विश्वकपका क्रममा पनि उठेको थियो बहिष्कारको माग

विश्वकप २०१९ मा पछिल्लो पटक भारत र पाकिस्तान आमने सामने भएका थिए । त्यतिबेला पनि म्याच बहिष्कार गर्न भारतमा माग उठेको थियो । तर, भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले त्यसको विरोध गरेका थिए । उनले म्याच नै नखेली पाकिस्तानलाई २ अंक उपहार दिन नसकिने तर्क गरेका थिए ।

उल्लेखनीय छ, सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमलापछि भारतीय क्रिकेट टिमले पाकिस्तानको भ्रमण गरेको छैन । यी दुई मुलुकबीच पछिल्लो क्रिकेट शृङ्खला सन् २०१२ मा खेलिएको थियो । त्यसबाहेक यी दुई मुलुकले विश्वकपमा मात्र आपसमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप