बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आदर्श प्रकाशकको गुमनाम परोपकार

बुधबार, ०३ कात्तिक २०७८, १० : ५१
बुधबार, ०३ कात्तिक २०७८

गैरसरकारी स्तरबाट पत्रपत्रिका प्रकाशन तथा सञ्चालनका साना–ठूला प्रयत्न यसअघि पनि नभएका होइनन् । तर ‘कान्तिपुर’ यस्तो कोशेढुङ्गो बन्यो जसले नेपालमा व्यावसायिक मिडियाको जग हाल्यो । एकातिर यसले २०४६ सालमा पुनःस्थापित बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्न पहरेदारको भूमिका निर्वाह गर्‍यो भने अर्कातिर अन्य मिडिया स्थापनाका लागि समेत उत्प्रेरक बनेर आफ्नो भूमिकालाई विस्तार गर्‍यो, प्रतिस्पर्धीहरु पनि जन्मायो ।

दैनिक पत्रिका प्रकाशनका लागि ठूलो स्रोत–साधन चाहिन्थ्यो । तर घाटाको व्यापार गर्न कोही पनि तयार थिएनन् । यस्तो अवस्थामा स्वतन्त्र मिडिया स्थापनाको हुटहुटी बोकेका श्याम गोयन्काले स्थापना गरेको ‘कान्तिपुर’ प्रकाशनको पहिलो दिनदेखि नै मुलुकको प्रभावशाली सञ्चार संस्था रहेको छ ।

नेपालको मिडिया विकासमा लगानी, पूर्वाधार र प्रभावका हिसाबले कान्तिपुरलाई ‘नयाँ फड्को’ भन्छन्, डा. कुन्दन अर्याल । “संस्थागत रूपमा सञ्चार माध्यम चलाउने आँट भएको मान्छेको अभाव थियो”, २०४६ सालपछि नेपालको छापा पत्रकारिता कसरी दलीय पक्षधरताबाट व्यावसायिकतातर्फ उन्मुख भयो भन्ने विषयमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका सहप्राध्यापक अर्याल भन्छन्, “मिडियाको विकासमा कान्तिपुर गैरसरकारी स्तरबाट थालिएको नयाँ फड्को थियो ।”

नेपाल अधिराज्यको संविधान, २०४७ मा दर्ता खारेजी र छापाखाना जफत नहुने लगायतका व्यवस्था भएपछि ‘पञ्चायतकालमा फस्टाउनै नसक्ने बनाइएको’ छापा माध्यमले फक्रने वातावरण पायो । संवैधानिक प्रत्याभूति भए पनि ठूलो जनसमुदायलाई लक्ष्य गरेर सञ्चार माध्यम सञ्चालन गर्ने आँट कतैबाट नभइहालेको अवस्थामा २९ वर्षीय गोयन्का त्यसखालको भिजनसहित काठमाडौंमा देखा परेका थिए ।

अग्रज पत्रकार ध्रुवहरि अधिकारी गोयन्कालाई नेपालको पत्रकारिताका ‘पथप्रदर्शक’ भन्छन् । “लगानी उठ्छ उठ्दैन, मुनाफा हुन्छ हुँदैन थाहा नभएका बेला उहाँले जोखिम लिएर अग्रणी भूमिका खेल्नुभयो”, अधिकारी भन्छन्, “गोरेटो खोलेर सबैलाई बाटो देखाउनुभयो ।”

गोयन्काले कोरेको त्यो गोरेटो आज ठूलो राजमार्गमा रूपान्तरित भएको छ । फलस्वरूप १२ अर्बभन्दा ठूलो औपचारिक विज्ञापन बजार, दुई सयभन्दा बढी नियमित छापिने दैनिक पत्रिका, एक हजारभन्दा बढी रेडियो, १०० भन्दा बढी टेलिभिजन र २७ सयभन्दा बढी अनलाइन, इन्टरनेटमा आधारित न्यू मिडियाको बढ्दो प्रयोग र प्रभाव– आज  अवस्था भिन्न छ । तर, त्यतिबेलास्थिति अर्कै थियो ।

“दर्ता खारेज नहुने व्यवस्थाले अब मिडियाको विकासमा सकारात्मक वातावरण बन्छ भन्ने सुनिश्चितता भए पनि ठूलो लगानीसहित मिडिया स्थापनाको पहल गरिहाल्न मानिसहरू हिचकिचाउने अवस्था थियो”, पत्रकार तीर्थ कोइराला कारणहरू थप्छन्, “उद्योग धन्दा थिएनन्, विज्ञापन बजार शैशवावस्थामा थियो, मुनाफाको स्पष्ट आधार थिएन । श्यामजीले जुन संस्थागत प्रबन्धसहितको मिडिया स्थापना गर्नुभयो, त्यसले हाम्रो मिडियामा युगान्तकारी परिवर्तन ल्यायो ।” 

डा. अर्यालको बुझाइमा कान्तिपुरले एकैसाथ तीनवटा काम गर्‍यो । पहिलो, नयाँ पाठकहरू सिर्जना गर्‍यो । व्यापक जनसमुदायमा पत्रिका पुग्यो । दोस्रो, साप्ताहिक पत्रपत्रिकाको वर्चश्व रहेको छापा माध्यममा विविधता थप्यो । र, तेस्रो, सञ्चार माध्यममा लगानी गर्नुपर्छ भन्ने सोचलाई वास्तविकतामा बदल्यो ।

त्यस अवस्थामा गोयन्कालाई मिडिया स्थापनाको आवश्यकताबोध कसरी भएको थियो ? कान्तिपुर स्थापना गर्न के कुराले हौस्याएको थियो ? “ममा स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ मिडिया स्थापनाको हुटहुटी थियो”, गोयन्काले यो संवाददातासँग पाँच वर्षअघिको एक कुराकानीमा कान्तिपुर स्थापनाको ध्येय सुनाएका थिए, “ताकि निरंकुशता, भ्रष्टाचार, गरिबी र अशिक्षाले ग्रस्त मुलुकमा महत्त्वपूर्ण मुद्दाहरूमा छलफल र विचार विमर्श हुन सकोस् ।”

डा. अर्यालको बुझाइमा कान्तिपुरले एकैसाथ तीनवटा काम गर्‍यो । पहिलो, नयाँ पाठकहरू सिर्जना गर्‍यो । व्यापक जनसमुदायमा पत्रिका पुग्यो । दोस्रो, साप्ताहिक पत्रपत्रिकाको वर्चश्व रहेको छापा माध्यममा विविधता थप्यो । र, तेस्रो, सञ्चार माध्यममा लगानी गर्नुपर्छ भन्ने सोचलाई वास्तविकतामा बदल्यो ।

सुरुवातमै षड्यन्त्रको सिकार

तर ‘ब्रेक इभन’ पुग्नै लाग्दा कान्तिपुरबाट गोयन्काको बाध्यात्मक बहिर्गमन भयो । जान्नेहरू भन्छन्– उनी व्यापारिक समुदायबाटै षड्यन्त्रको सिकार बने ।

“...विज्ञापन नपाएर प्रकाशन नै धौधौ परिरहेका बेला काठमाडौंको मारवाडी समाज किन श्याम गोयन्कालाई मद्दत गर्न अघि सरेन ?”, कान्तिपुरमा त्यतिबेला सम्पादकीय लगायतका काम हेर्ने गरी सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका अरविन्द रिमाल ‘१९९७ सालदेखि २०१७ साल – एक अवलोकन’ पुस्तकमा लेख्छन्– “यो मलाई षड्यन्त्र मिसिएको रहस्य नै लागेको छ ।”

भनिन्छ, शक्तिसीनहरूलाई रिझाउँदै धन थुपार्न पोख्त एकथरी व्यापारी वर्गको आँखाको कसिंगर बनिसकेका थिए गोयन्का । सुरुवाती दिनदेखि नै कान्तिपुरले जब भ्रष्टाचार र आर्थिक अपराधका विरुद्ध जेहाद छेड्यो, तब गोयन्का रहेसम्म आफ्नो हितानुकूल नहुने बुझेको व्यापारिक समुदायको एउटा हिस्सा उनीविरुद्ध संगठित रूपमा परिचालित भयो । आर्थिक नाकाबन्दी लगायत अनेक हतकण्डा अपनाएर उनलाई निकाल्नउक्त तप्का सफल भयो । यसरी एउटा आदर्श प्रकाशक वर्षदिन नहुँदै बाहिरिन बाध्य भयो ।

प्रेस स्वतन्त्रतासहित लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संस्थागत गर्न भूमिका खेले पनि आर्थिक सामाजिक विकासमा योगदान गर्ने उनको सपना अधुरै रह्यो । त्यसपछि गोयन्काको निजी जिन्दगी कसरी बित्यो, राष्ट्रका लागि अत्यावश्यक अभियानको थालनीबाट उनले के पाए, के गुमाए अलगै चर्चाको विषय हुन सक्छ ।

गोयन्का बुझ्दथे– मिडिया के हो ? के गर्न सक्दछ ? तर अरू विशुद्ध व्यापार मात्र ठान्दथे । मुनाफाको हरहिसाब खोज्दथे । यो परिस्थितिमा गोयन्काले आफूसँग भएको सम्पूर्ण साधन स्रोत त लगाए नै आफ्ना आफन्त साथीभाइसँग पनि ऋण उधारो सहयोग जे सकिन्छ, लिए ।

“मैले राष्ट्रका लागि आवश्यक अभियानमा मेरो र परिवारको जीवन बर्बाद गरेँ”, पाँच वर्षअघिको कुराकानीमा उनले भनेका थिए, “यसका लागि आवश्यक ठूलो स्रोत बन्दोबस्त गर्नु मेरो वशको विषय थिएन । तर, यो राष्ट्रलाई आवश्यक थियो जुन कसैले सुरु गर्नचाहेको थिएन । मजस्तो सीमित स्रोतसाधन भएको मान्छेका लागि त झन् यो आत्मघाती थियो, तर जसरी पनि गरियो ।”

‘निजी अखबार क्षेत्रका एक प्रवर्तक श्याम गोयन्का’ शीर्षकको लेखमा रिमाल गोयन्कालाई ‘प्रजातन्त्र पुनःस्थापनाछिको नागरिक समाजका एक उल्लेखनीय व्यक्ति’ भन्छन् । रिमालको भनाइमा गोयन्का गुणवान् र करुणाशील व्यक्ति थिए ।

तत्कालीन शाही नेपाल वायुसेवा निगममा कार्यरत छोरा सुरज अपहरित भएपछि गोयन्काले आफ्नो परिवारप्रति देखाएको सदाशयता रिमाल स्मरण गर्छन् । “खबर सुन्नासाथ श्याम रुँदै मलाई हवाई अड्डासम्म छोड्न आएका थिए”, उनी सम्झन्छन्, “दिल्लीका आफ्ना मित्रहरूलाई मेरो मद्दत गर्न उनले खबर पठाए र काठमाडौं फर्केपछि अति नै प्रसन्न भई मसँग छाती मिलाए ।”

छोरा अपहरणमुक्त भएर नेपाल आएपछि नातिनातिनाको पढाइ लाखापाखा हुने अवस्थामा श्यामले दुई वर्षसम्म उनीहरूलाई निःशुल्क पढ्ने व्यवस्था मिलाइदिएको उनी उल्लेख गर्छन् । “के कारणले गर्दा यस्तो गुणवान् र करुणाशील व्यक्ति विफल भएको ?”, उनी प्रश्न गर्छन् ।

मिसन कान्तिपुरबाट बाहिरिएपछि पनि गोयन्काले मिडियामोह भने छोडेनन् । दुई वर्षपछि सुरु भएर अर्को दुई वर्षमै बन्द भएको ‘विश्वमित्र’ पाक्षिक त्यसैको परिणाम थियो । रिमाल त्यसका सम्पादक थिए ।

सहयोगी हातहरू

कान्तिपुर स्थापना र सञ्चालनका लागि गोयन्काले धेरैजनासँग सहयोगको याचना गरेका थिए । “मेरा आफन्त र साथीभाइमध्ये कोही बाँकी थिएनन्, जोसँग मैले सहयोग नलिएको हुँ वा सहयोगका लागि ढोका नढक्ढकाएको हुँ । र, पनि त्यो पर्याप्त थिएन”, पाँच वर्षअघिको कुराकानीमा उनले भनेका थिए । त्यतिबेलै सामाजिक कामहरूका कारण समाचारका हेडलाइन बन्ने गरेका उद्योगी व्यवसायीहरूसँग समेत सहकार्यका लागि उनले आग्रह नगरेका होइनन् । गोयन्का बुझ्दथे– मिडिया के हो ? के गर्न सक्दछ ? तर अरू विशुद्ध व्यापार मात्र ठान्दथे । मुनाफाको हरहिसाब खोज्दथे । यो परिस्थितिमा गोयन्काले आफूसँग भएको सम्पूर्ण साधन स्रोत त लगाए नै आफ्ना आफन्त साथीभाइसँग पनि ऋण उधारो सहयोग जे सकिन्छ, लिए ।

हालैको एक अन्तर्वार्तामा गोयन्काले नयाँ खुलासा गरेका छन्, जुन मिडियाको उद्भव, विकास, भूमिका र प्रभावमा चासो राख्ने कैयौँ विद्यार्थी, अनुसन्धाता तथा नागरिकहरूका लागि रुचिकर विषय हुन सक्छ । कान्तिपुरका परिकल्पनाकारले २८ वर्षपछि यसको स्थापनामा महत्त्वपूर्ण योगदान गरे पनि गुमनाम रहेका पात्रहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

पवन र राजेश भिमसरिया

‘के कान्तिपुरको स्थापना तपाईंको एक्लो प्रयासमा भएको हो?’ जवाफमा गोयन्काले मिसन कान्तिपुरलाई सफल बनाउन व्यावसायिक तथा सामाजिक व्यक्तित्त्वहरू पवन र राजेश भिमसरियाले कसरी आफ्नो सर्वश्व लगाएका थिए भनेर खुलाएका छन् ।

“मेरो अत्यन्त निकट रहेका मित्रहरूबाहेक अरू कोही पनि उक्त मिसन वा ममाथि लगानी गर्न तयार थिएनन् । यस्तो मोडमा परोपकारी अभियानहरूको विरासत बोकेका र सामाजिक रूपमा सक्रिय भाइहरू पवन र राजेश भिमसरियाले मिसन कान्तिपुरलाई बिना हिचकिचाहट प्रतिफलको चिन्ता नगरीकन पूर्णरूपमा सहयोग गर्नुभयो”, गोयन्काले अन्तर्वार्तामा खुलाएका छन्, “यो मिसनलाई सफल बनाउन उहाँहरूले दायाँबायाँ केही नसोची आफ्नो सर्वश्व लगाउनुभयो, किनभने राष्ट्रलाई यो अभियान अपरिहार्य छ भन्ने बोध उहाँहरूलाई थियो र बजारको कुनै पनि ठूलो नाम यो तथाकथित ‘कुवा’ मा हामफाल्न त्यतिबेला तयार थिएन । संक्षिप्तमा, उहाँहरूको पहल अत्यन्त साहसिक थियो र म सदैव उहाँहरूप्रति ऋणी छु ।”

कान्तिपुर स्थापनाको जस अरूमाझ पनि बाँड्ने गोयन्काको कदम उदाहरणीय यसकारण पनि हो कि उनले नभनेका हुन्थे भने नेपालको बलियो सञ्चार संस्था स्थापनामा भिमसरिया दाजुभाइले गरेको योगदान सार्वजनिक जानकारीमै नरहन सक्थ्यो ।

नेपालको कुनै क्षेत्रले विश्व मानचित्रमा श्रेष्ठता हासिल गरेको छ भने त्यो प्रेस स्वतन्त्रता सूचकांकमै हो । जसको प्रशंसा गर्न हामी लगभग चुकेका छौँ । हामी ढुक्कका साथमा के भन्न सक्छौँ भने अरू क्षेत्रका तुलनामा मिडिया त्यस्तो क्षेत्र हो जहाँ अन्तर्राष्ट्रियस्तरमा हाम्रो उत्कृष्टता र प्रतिस्पर्धात्मक क्षमता देखिन्छ ।

असाधारण सत्कर्म

दोस्रो विश्वयुद्धताका निकोलस विन्टन नामका परोपकारी व्यक्तिले गरेको सत्कर्म यहाँनेर स्मरणीय छ । १०६ वर्षको उमेरमा सन् २०१५ मा संसारबाट बिदा भएका यी मानवको सत्कर्मबारे विश्वसमुदाय ५० वर्षसम्म बेखबर रह्यो । यतिसम्म कि विन्टनको अथक मिहिनेतबारे उनकै पत्नीलाई समेत थाहा थिएन ।

२७ वर्षीय विन्टनले युद्धसिर्जित मानवीय संकटका बीच नाजी नियन्त्रित चेकोस्लोभाकियाबाट ६६९ जना बालबालिकाहरूलाई उद्धार गरी बेलायत पुर्‍याएका थिए । यातनाले पिल्सिएका बाबुआमाहरूले आफ्ना मुटुका टुक्राहरू खुसीखुसी विन्टनको जिम्मा लगाए । नत्र ती बालबालिकाहरू जुनसुकै बेला मारिन सक्थे । युद्धको चपेटाबाट बचाइएका ती बालबालिकाहरूका सन्तान दरसन्तानहरूको संख्या आज ६ हजारभन्दा बढी छ ।

‘तपाईंले यतिका वर्षसम्म आफूले गरेको कामको चर्चा किन गर्नुभएन ?’ सम्भवतः विन्टनले सर्वाधिक झेलेको प्रश्न थियो । “मलाई काम गर्नु थियो । जब सकियो, म अरू कामहरूमा लागेँ”, विन्टनको जवाफ हुन्थ्यो, “किनभने मसँग गर्नका लागि अरू धेरै कामहरू थिए ।” सन् १९८८ मा बीबीसीको ‘द्याट्स लाइफ’कार्यक्रमले विन्टन र उनले जीवनरक्षा गरेका बालबालिकाहरूलाई पुनर्मिलन गराएपछि बल्ल विश्वले यो असाधारण सत्कर्मबारे पत्तो पायो । यतिबेलासम्म ती बालबालिका आफैँ ७०/८० वर्ष पुगिसकेका थिए ।

त्यसपछि विन्टनमाथि पुस्तक लेखिए, फिल्म बने, मिडियाहरूमा प्रशस्त चर्चा भयो । तर विन्टन यी चर्चाबाट खुसी थिएनन् । ‘मानिसहरूले नायक भनेका छन्, तपाईं किन खुसी हुनुहुन्न?’, बीबीसीको हार्डटक कार्यक्रमका प्रस्तोता स्टेफेन स्याकरको प्रश्नमा विन्टनजवाफ दिन्छन्– “त्यो कुनै नायकत्व थिएन, मेरो काम थियो ।”

परोपकार पनि नियमित व्यापार, प्रचारप्रसार र प्रोपागन्डाकै अंगजस्तो भइसकेको वर्तमान युगमा विन्टनको कथा ‘व्यावहारिक’ नठहर्न सक्छ । लोकतन्त्रका आधारभूत मान्यताहरू संस्थागत गर्न कान्तिपुरसहितका मिडियाले गरेका योगदान विन्टनको सत्कर्मसँग तुलना गरिरहनुपर्दैन होला । तर, २० र २१ औँ शताब्दीका यी भिन्न प्रसंगहरूको भावमा समानता देखिन्छ । विन्टनको कथा विश्वले ५० वर्षपछि थाहा पाएजस्तै कान्तिपुर स्थापनाको कथा हामी २८ वर्षपछि थाहा पाउँदैछौँ ।

कान्तिपुरको स्थापना चानचुने कदम थिएन । दुईवटा सन्दर्भबाट यसलाई बुझौँ । पहिलो, यसले ओगट्ने पाठकको कुल हिस्सा । अंग्रेजीलाई आजकोसर्वमान्य भाषा मान्ने हो भने संसारको सर्वाधिक बिक्री हुने पत्रिका ‘टाइम्स अफ इन्डिया’ हो । २५ करोड प्रति पत्रिका बिक्री हुने भारतमै चाहिँ यसको बजार हिस्सा २/३ प्रतिशत छ । जबकि कान्तिपुर एक्लैले नेपालमा छापाका कूल पाठकको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको छ । विश्वमा सायदै अर्को कुनै मुलुक होला, जहाँ एउटै पत्रिकाले कूल बजारको १० देखि १५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको होस् । यसर्थ, भन्न सकिन्छ कि कान्तिपुर राष्ट्रको ‘लाइफलाइन’ बन्यो ।

दोस्रो, विश्व प्रेस स्वतन्त्रता सूचकांकमा हाम्रो स्थान । नेपालको कुनै क्षेत्रले विश्व मानचित्रमा श्रेष्ठता हासिल गरेको छ भने त्यो प्रेस स्वतन्त्रता सूचकांकमै हो । कानुनी शासन, लोकतन्त्र, मानवाधिकार लगायत आधारभूत नागरिक अधिकारहरूको समेत योगदान रहने यो परिपक्व मापदण्डमा विश्वका कैयौँ विकसित राष्ट्रहरूभन्दा हामी अगाडि छौँ । २०४६ सालताका १६० को हाराहारीमा रहेको नेपाल कान्तिपुर लगायतका पहलपछि क्रमशः सुधार हुँदै केही वर्षयता१०० को आसपास छ । जबकि १४२ औँ स्थानमा रहेको छिमेकी भारत पत्रकारहरूका लागि खतरनाक देशहरूमध्ये गनिन्छ ।

नेपाल सिंगापुर (१६०) रुस (१५०) चीन (१७७) मलेसिया (११९) तथा सम्पूर्ण खाडी मुलुकहरूभन्दा अगाडि छ । यसको श्रेय स्वाभाविक रूपमा प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिसँगै स्थापित कान्तिपुरसहितका मिडिया पहललाई जान्छ, जसको प्रशंसा गर्न हामी लगभग चुकेका छौँ । हामी ढुक्कका साथमा के भन्न सक्छौँ भने अरू क्षेत्रका तुलनामा मिडिया त्यस्तो क्षेत्र हो जहाँ अन्तर्राष्ट्रियस्तरमा हाम्रो उत्कृष्टता र प्रतिस्पर्धात्मक क्षमता देखिन्छ ।

चोरलाई चौतारी, साधुलाई शूली

पोहोर साल फागुन ७ का दिन पत्रकार गिरीश पोखरेलले ट्वीटरमा लेखेका थिए–‘कान्तिपुर दैनिक स्थापनाको कथाका मुख्यपात्र श्याम गोयन्कालाई कसै न कसैले सम्झे हुने हो ।’ फागुन ७ (२०४९ साल) कै दिन थियो, कान्तिपुर र काठमान्डू पोस्टको प्रकाशन सुरु भएको । “सबैतिर पढ्छु । जनकपुर निवासी गोयन्काको सम्झना कसैले गरेका हुन्नन्”, पोखरेल लेख्छन्, “जसजसले गोयन्कालाई पाखा लगाए, आज तिनैले आफ्नो इतिहास बनाए । गोयन्काको अग्रसरता नभएको भए अझै समय लाग्ने थियो ।”

“साँच्ची, श्यामजीले २०४९ सालमा कान्तिपुर र काठमान्डू पोस्ट नखोल्नुभएको भए नेपालमा ‘ब्रोडसिट’ दैनिक कसले र कहिले खोल्थ्यो होला ?”, स्थापनाकालमा कान्तिपुरमा कार्यरत पत्रकार जीवेन्द्र सिम्खडा कान्तिपुरको  रजतजयन्ती अंकमा प्रश्न उठाउँछन् र भन्छन्– “जवाफ आफूअनुकूल रच्न सकिन्छ । तर, इतिहास बदल्न सकिँदैन ।”

मार्टिन चौतारीसम्बद्ध मिडिया अनुसन्धाता हर्षमान महर्जनको बुझाइमा मिडिया अनुसन्धानको अवस्था कमजोर भएका कारण नेपालमा प्रकाशकहरूका बारेमा कमै मात्र चर्चा हुने गर्छ । “जीवनी, आत्मकथा वा स्वार्थ जोडिएका विषयमा बाहेकप्रकाशकहरूमाथि निकै कम चर्चा हुने गर्छ”, महर्जन भन्छन्, “श्याम गोयन्कामाथि पनि चर्चा नहुनुको मुख्य कारण हामीकहाँ संस्थागत मिडिया अनुसन्धान राम्रोसँग नभएकाले हो ।”

दोस्रोपटक, प्राप्त बहुदलीय लोकतन्त्रलाई २०१७ सालजस्तो हुन नदिन पनि हामीलाई सूचना र सञ्चार पहरेदारहरू चाहिन्थ्यो । सरकारी मिडिया र ट्याब्लोइड पत्रिकाहरूबाट मात्र त्यो सम्भव थिएन । तर प्रतिकूल परिस्थितिमा राष्ट्रका लागि आवश्यक अभियानको थालनी गर्ने सत्प्रयासको कदर गर्न हामी किन चुक्यौँ ? सरकार, नागरिक समाज र आमसञ्चार तथा पत्रकारिता सम्बद्ध निकायले गोयन्काको योगदानलाई किन यथोचित् स्मरण गरेनन् ?

आम पाठकलाई थप सोध्न चाहन्छु– लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संस्थागत गर्न कुन चाहिँ राजनेता, दल, उद्योगी–व्यवसायी वा संस्थाले यत्तिको महत्त्वपूर्ण भूमिका खेलेको छ ? यो योगदानलाई स्मरण गर्नु वा कदर गर्नु राष्ट्रको कर्तव्य बन्छ कि बन्दैन ? जो व्यक्तिले राष्ट्रका लागि अत्यावश्यक अभियानका लागि आफ्नो बलिदानी दियो, उसले समाजबाट सामान्य कृतज्ञतासमेत प्राप्त गर्दैन भने त्यो समाज कसरी सचेत र सुसंस्कृत ठहरिन सक्छ ? के हामी यति कृतघ्न हुन सक्छौँ कि फल खाइरहौँ, तर जसले बोट रोप्यो ऊप्रति सामान्य कृतज्ञता पनि व्यक्त नगरौँ ? यो लज्जाको विषय होइन र ?

लोकतन्त्रका आधारभूत मान्यतालाई संस्थागत गर्न कुन चाहिँ राजनेता, दल, उद्योगी–व्यवसायी वा संस्थाले यत्तिको महत्त्वपूर्ण भूमिका खेलेको छ ? यो योगदानलाई स्मरण गर्नु वा कदर गर्नु राष्ट्रको कर्तव्य बन्छ कि बन्दैन ?

सत्कर्महरूको चर्चाको साटो राष्ट्रलाई दोहन गरेर धन थुपार्ने मानिसहरूले इज्जत र सम्मान पाउने संस्कार हाबी भइरहेको छ । अस्ति भर्खर संविधान दिवसका दिन सरकारबाट विभूषित उद्योगी व्यापारीहरूको सूची हेरौँ । भ्याट छली, मुद्रा अपचलन र अन्य खालका जघन्य आर्थिक अपराधमा मुछिएकाहरूलाई सम्मानित र पुरस्कृत गर्ने संस्कार बसेको हाम्रो समाजमा यी र यस्तै गुमनाम पात्रहरू र परोपकारी योगदानहरूको स्मरण तथा कृतज्ञता ज्ञापनको अपेक्षा पनि ‘बालुवामा पानी’ ठहर्न सक्छ ।

यो रिपोर्टिङ नसक्दै सार्वजनिक भएको अर्को खुलासाले विश्व तरङ्गित छ । संसारभरका शक्तिसीनहरूको लुकाइएको धनको पोयो सार्वजनिक गरेको प्यान्डोरा पेपर्सले विश्वभर हलचल मच्चाएको छ । हाम्रो मुलुकका पनि कैयौँ व्यवसायीहरूको नाम यो खुलासामा मुछिएको छ । यस्ता घटनाहरूमा सामान्य अनुसन्धानसम्म पनि नभई फासफुस हुने हाम्रो नियति बनेको छ । यो ‘क्रोनी क्यापिटालिज्म’ को पराकाष्ठा हो ।

जोखिमको अर्थ

नेपालमा व्यावसायिक मिडियाको जग हाल्ने गोयन्का र उनको योगदानलाई हामीले बिर्सेकै हौँ ? लेखक नरेन्द्रजंग पिटर प्रतिकूल अवस्थामा जोखिम उठाएर मिडियालाई व्यावसायिक बनाउन र सत्तासँग पौठेजोरी खेल्न चुनौती मोलेका गोयन्काले गरेको योगदान स्मरण नभएको स्वीकार्छन् । उनको मत छ– कसैको चर्चा गर्छौं भने उसको आदर्शलाई पछ्याउनुपर्ने हुन्छ । अर्थात् चर्चाले आदर्शको निरन्तरताको माग गर्छ ।

“आदर्शबाट नै आतंकित भएकाहरूले चर्चालाई विषयान्तर गरिदिने वा तपसिलमा राखिदिने गर्छन्”, उनी भन्छन्, “उहाँ (गोयन्का) मिडियालाई परोपकार ठान्नुहुन्थ्यो र त्यसैबाट निर्देशित हुनुहुन्थ्यो । तर, अब मिडिया पूर्णरूपमा व्यापारमा फेरियो । परोपकार बीचमै कतै हरायो । अनि उहाँको चर्चा कसले गर्ने ? किन गर्ने ?”

मिथ्या सूचनाले जनमानसमा घर गरेको वर्तमान समयमा हामीलाई अझ धेरै स्वतन्त्र मिडिया, अझ धेरै सूचनाका संवाहकहरू चाहिएको छ । तर, कोही किन मिडिया स्थापना गर्न तम्सियोस्, जब उसले सामान्य कृतज्ञतासमेत समाजबाट प्राप्त गर्दैन भने ? किन कसैले जोखिम उठाउने ? “घरीघरी मलाई लाग्छ कि यो कृतघ्नहरूको मुलुक हो”, तीर्थ कोइराला निराशा पोख्छन् ।

परोपकारलाई प्रोपागन्डाको साधन बनाएर व्यापारको रोटी सेक्ने संस्कारमा विन्टन, भिमसरिया दाजुभाइ र गोयन्का पक्कै पनि ‘अल्टर’ पात्र हुन् । किनभने उनीहरू उपलब्धिको एकलौटी जस लिन चाहँदैनन् । र, भन्छन्– यो हामी सबैको उपलब्धि हो । “सबै उपलब्धिहरूको जस साथीहरूलाई नै जान्छ । म त केवल उहाँहरूमध्येको एक हुँ”, गोयन्काले पाँच वर्षअघिको कुराकानीमा भनेका थिए ।

गोयन्का मिडिया व्यवसायलाई व्यक्तिगत सफलता वा असफलतासँग जोड्न चाहँदैनन् । “वास्तवमा म मिडिया व्यवसायलाई व्यक्तिगत सफलताका रूपमा होइन, समाजलाई त्यसले के योगदान पुर्‍यायो भन्ने अर्थमा बुझ्छु”, पाँच वर्षअघि गोयन्काले भनेका थिए, “तर, मानिसहरू यसलाई व्यक्तिगत सफलतासँग जोडेर हेर्छन् । मेरो सोच र आम बुझाइबीचको अन्तर नै यही हो ।”

मिडियाभन्दा परको दृष्टि

पाँच वर्षअघि कुराकानी हुँदा गोयन्का नयाँ मिडियाको योजनामा थिए । उनको योजना कहाँ पुग्यो ? यो रिपोर्टिङको चासो थियो । पछिल्लो कुराकानीमा उनले आफ्नो परिमार्जित परिकल्पना सुनाए । उनी मिडियाभन्दा नितान्त पर दृष्टि लगाइरहेका रहेछन् । मिडियालाई विकास अभियानहरूमा उत्प्रेरक बनाउने गरी बृहत् मञ्चको सिर्जनामा उनी लागेका छन् । उनको भनाइमा यस्तो मञ्चले ठूलो संख्यामा पत्रकारहरूलाई अवसरहरू सिर्जना गर्नेछ ।

“यो अभियानको सफलताका लागि ठूलो मानव संसाधनको आवश्यकता छ, त्यसैले म बृहत् मञ्च स्थापनाको प्रयासमा छु, जसले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्न सकोस्”, उनी भन्छन्, “यो अभियानमा अधिकतम पत्रकार साथीहरूले विकास संवाहकका रूपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।” विकास साझेदारहरूले समेत रुचि राखेको यो अभियानमा उनी आफैँ पनि बीउ पुँजी राख्दैछन् ।

गोयन्का प्रकाशक र उद्यमी मात्र होइनन्, अजीवखालका चिन्तित प्राणी पनि हुन्, जो वातावरण, विकास, कृषि, ऊर्जा र समाजका अरू अनेकौँ गम्भीर विषयमा पनि चिन्तन मनन गरिरहन्छन् । हरेक व्यक्ति, हरेक घरधुरीको सशक्तीकरण गर्न सकिन्छ भन्ने सोच राख्छन् । त्यसका लागि योजनाहरू सुनाउँछन् ।

विकासप्रेमी श्याम हिजोआज एउटा ‘भिजन डकुमेन्ट’ मा काम गरिरहेका छन्, जसको उद्देश्य समाजका विभिन्न क्षेत्रहरूलाई समेटेर राष्ट्रको वर्तमान स्थितिमा व्यापक पुनरुत्थानको थालनी गर्नेछ । करिब–करिब पूरा हुन लागेको उनको भिजन डकुमेन्टमा के छ ? के हो उनको परिकल्पना ? असोज अन्तिम साता राजधानीमा भएको भेटमा उनले एउटा उदाहरण प्रस्तुत गरे – 

देशमा करिब ५ लाख हेक्टर जमिन बाँझो पल्टिएको छ, बगरमा परिणत भएको छ । पहाडमा पहिरो, तराईमा बाढीका कारण भूक्षय र नदी कटान बढेको बढ्यै छ । हामीले भोग्ने प्राकृतिक विपद्हरूमा बाढी पहिरोको हिस्सा ८० प्रतिशतभन्दा बढी छ । अस्ति भर्खर मेलम्चीमा आएको बाढीमा कैयौँले ज्यान गुमाए, कैयौँ विस्थापित भए भने अर्बौं रुपैयाँ बराबरको क्षति भयो । यसर्थ, पहिलो काम बाढी पहिरोबाट भइरहेको भूक्षय रोक्ने हो, नदी कटान रोकेर जमिन र जनसमुदायको जीउधनको रक्षा गर्ने हो । दोस्रो काम प्रयोगविहीन र बेकामे भएका यस्ता जमिनलाई पुनः उर्वर बनाउने र कृषि क्रान्तिमार्फत रोजगारी सिर्जना गर्दै आर्थिक विकासको आधार तयार गर्ने हो । यी दुवैका लागि श्यामसँग वैज्ञानिक योजना छ ।

२०५० सालको बाढीले बागमती किनारका कयौँ गाउँहरू बगाएको थियो । सधैँ बाढीको त्रासमाबाचिरहने यो नदी आसपास भेटिभर रोपिएको छ । गोयन्काको पहलमा जारी यो अभियानले बाढी नियन्त्रण र भूक्षय रोक्ने मात्र होइन, दिगो कृषिकर्म र गरिबी निवारण गर्ने समेत लक्ष्य राखेको छ  ।

“प्रतिव्यक्ति सिञ्चित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै भएको मुलुकमा कृषि वन प्रणालीका आधारमा ‘पर्माकल्चर’ को सिद्धान्तमा एकल बालीको साटो बहुजातका बाली (मल्टिलेयर फार्मिङ) लगाउनुको विकल्प छैन”, गोयन्का भन्छन्, “यो योजना मात्र कार्यान्वयन गर्न सके एकैपटक खाद्य सुरक्षा, रोजगारी सिर्जना, ऊर्जा सुरक्षा, जलवायु सुरक्षा, आर्थिक सामाजिक सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन लगायतका कैयौँ काम गर्न सकिन्छ ।” यस्ता जग्गामा उत्पादन हुने कच्चापदार्थमा आधारित उद्योगहरू स्थापना गर्न सकिन्छ ।

तपाईं कल्पना गर्नुस्, हामी हरेक वर्ष ३० देखि ४० लाख टन खाद्यान्नको आयात घटाई निर्यात प्रबद्र्धन गर्न सक्छौँ, कृषिकर्ममा २० देखि ३० लाख नयाँ रोजगारी सिर्जना गरी गरिबी निवारण गर्न सक्छौँ, हरित ऊर्जा उत्पादनमार्फत वर्षेनी हुने साढे दुई खर्ब रुपैयाँ बराबरको इन्धन आयात घटाउँदै लैजान सक्छौँ। एउटै योजनाको सफल कार्यान्वयनबाट यति धेरै कामहरू गर्न सकिन्छ ।

तर, त्यसका लागि सबैभन्दा पहिला जमिन जोगाउनुपर्छ, उर्वर बनाउनुपर्छ । के हो बाढी पहिरोका कारण बगरमा परिणत जमिनलाई पुनः हराभरा बनाउने सूत्र ? गोयन्काले चामत्कारिक झार ‘भेटिभर’ सँग साक्षात्कार गराए ।

बगरमा परिणत भएको नेपालको पाँचलाख हेक्टर जमिनलाई यसरी भेटिभर रोपेर पुनःउर्वर बनाउन सकिन्छ ।

भेटिभर वर्ष दिनमा लगभग १० फिट जमिनमुनि र ५ फिट जमिनमाथि जाने रहेछ । प्राकृतिक रूपमा बाँधको काम गर्ने, बाढी रोक्ने, माटोलाई उर्वर बनाउने, जराबाट तेल उत्पादन गर्न सकिने लगायतका बहुगुण रहेछन् । भेटिभरको सहयोगमा प्रयोगविहीन र बगर बनेको खेतीयोग्य जमिनमा प्राणतत्त्व भर्न सकिने रहेछ । बगरमा परिणत भएका जग्गालाई पुनः कृषियोग्य बनाउने कामको थालनी भेटिभरबाट गर्न सकिने रहेछ ।

पछिल्ला दिनमा आफ्नो परिकल्पनालाई साकार बनाउन गोयन्काले तराईमा नमूना कृषि परियोजनाहरू गरिरहेका छन् । सर्लाहीको वागमती किनार र महोत्तरी तथा धनुषाबीचको बरहरी खोला किनारको बगरमा नमूना योजनाले सार्थकता पाएका छन् । २०५० सालको बाढीका कारण उजाडिएका कैयौँ गाउँका सुकुम्बासीहरू आफ्नो थातथलो पुनः गुल्जार बनाउन यहाँ खटिएका छन् ।

अन्त्यमा,

यो संवाददाताले गोयन्कालाई पुनः उनको २९ वर्षे युवावयमा पुर्‍यायो, जतिबेला उनले राष्ट्रका लागि अत्यावश्यक कामको बीजारोपण गरेका थिए ।

“मैले राष्ट्रका लागि अत्यावश्यक अभियानका लागि आफूलाई पूर्णरूपमा रित्याइदिएँ । मजस्तो सामान्य मानिससँग कस्तो व्यवहार गरियो भन्ने कुराले यहाँ कुनै फरक पार्दैन”, उनले भने, “म प्रार्थना गर्दछु कि राष्ट्र निर्माणका लागि प्रयत्न गर्नेहरूलाई हतोत्साहित नबनाइयोस् । नत्र सत्कर्ममा लाग्नेहरूलाई राष्ट्रले कहिल्यै पनि अभिप्रेरित गर्न सक्ने छैन, जसको योगदान समाजलाई अत्यावश्यक भइरहन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविराज बराल
रविराज बराल
लेखकबाट थप