बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनमा दसैँको रमझमसँगै रमाए विदेशी

बुधबार, ०३ कात्तिक २०७८, १० : १९
बुधबार, ०३ कात्तिक २०७८

बेलायतमा नेपालीको मौलिक चाडपर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गइरहेका छन् । बेलायतमा आयोजना हुने यस्ता कार्यक्रममा स्थानीय विदेशीहरुको पनि उपस्थिति रहने गर्दछ । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को आयोजनामा आइतबार दसैँ तिहार शुभकामना साँझ एक विशेष कार्यक्रम सम्पन्न भयो ।

आइतबार साउथ इष्ट लन्डनमा भएको सो कार्यक्रममा सयौंको संख्यामा नेपालीहरुको साथै प्रमुख अतिथिको रुपमा ग्रीनवीच बरोकी मेयर डेनिस हाइल्याण्ड, काउन्सिलरलगायतका विदेशीहरुको पनि सहभागीता रहेको थियो । गतवर्ष कोभिडका कारण दसैँ लगायतका कुनै पनि कार्यक्रमहरु नभएका कारण लामो समयपछि प्रत्यक्ष सहभागी हुन पाउँदा नेपालीहरु निकै हर्षित देखिन्थे। नेपाली मौलिक पहिरनमा सजिएका महिलाहरु पुरुषको तुलनामा अझ बढी रमाएका देखिन्थे । शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति पनि समावेस गरिएको थियो ।

पण्डित ज्योतिषी निलहरि घिमिरेको गायत्री मन्त्रद्वारा थालनी गरिएको सो कार्यक्रम कक्टेल डान्समा गएर बिट मारिएको थियो । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीका अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि ग्रीनवीच बरोकी मेयर डेनिस हाइल्याण्ड, विशेष अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरका साथै अध्यक्ष रानाभाटले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथि ग्रीनवीच बरोकी मेयर डेनिस हाइल्याण्डले शुभकामना मन्तव्य दिंदै नेपालीहरुको आफ्नो मौलिकता र संस्कृतिप्रतिको प्रेम सबैका लागि अनुकरणीय रहेको बताइन् । ग्रीनवीच बरोभित्र स्थानीय नेपाली समुदाय एक महत्वपूर्ण र अभिन्न हिस्साका रुपमा रहेको भन्दै मेयर हाइल्याण्डले सामाजिक रुपमा नेपालीहरुले पुर्याउँदै आएको योगदानको प्रशंसा पनि गरिन् । 

आयोजक आरजीएनएसका अध्यक्ष रानाभाटले दसैँतिहार जस्ता पर्वहरुको अवसरलाई सदुपयोग गर्दै स्थानीय नेपालीहरुबीच जमघट, घुलमिल र शुभकामना आदानप्रदान गराउने लक्ष्य राखेर कार्यक्रम आयोजना गरिएको बताए । ग्रीनवीच बरो र यहाँ बस्दै आएका सबै नेपालीहरुलाई जोड्ने पुलका रुपमा काम गर्दै आएको आरजीएनएसले बेलायतको सिंगो नेपाली समुदाय र मातृभूमि नेपालको सहयोगका लागि समेत सक्दो प्रयासहरु गर्दै आएको उनले स्मरण गराए । 

आरजीएनएस महासचिव मञ्जु भण्डारीले कार्यक्रमको पहिलो चार सञ्चालन गरेकी थिइन् भने दोस्रो चरणमा सुष्मिता थापा र अंकिता ढकालले सांस्कृतिक कार्यक्रम संचालन गरेकी थिए । स्थानीयहरु गायक दीपक थापा, मीन राना, एम्बर रानाभाट, नवराज घले लगायतले गीतहरु प्रस्तुत गरेका थिए । इनास यूकेका अध्यक्ष विनोद चिपालुले मौलिक लाखे नाच प्रस्तुत  थिए । त्यस्तै, इनास यूकेको प्रतिनिधित्व गर्दै गायक गायिकाहरू लायन किंग टंकु, सुजन पराजुली, आवेश कुइंकेल, निल पुन, भुवन भण्डारी, दिव्यानी पराजुली लगायतले गीतहरु सुनाएका थिए भने अनिता सुनुवारले नृत्य प्रस्तुत गरेकी थिइन् ।अन्त्यमा डिजे हेम विष्टले नेपाली हिन्दी गीतहरुमा कार्यक्रमका सहभागीहरुलाई नचाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप