कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?
खेतभरि पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरू आकाशतिर हेरिरहेका छन् । धान पाकेर चुट्न ठिक्क भएका बेला असोज–कात्तिकमा अचानक परेको झरीले धेरै किसानको ओठतालु सुकाएको छ । कतिपय स्थानमा धानबाली नै डुबानमा परेको छ । कात्तिकमा बाढी ? धेरै मानिसलाई यसले अचम्ममा पारेको छ । विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार देशका धेरै स्थानमा घर भित्र्याउन ठिक्क भएको धानबाली वर्षाले क्षति पुर्याएको छ ।
यो वर्षको मनसुन नेपालबाट बिदा भइसकेको छ । भीषण वर्षाका कारण धेरै ठुला प्राकृतिक प्रकोपका घटना पनि घटे । मनसुन बिदा भएपछि भने मौसम राम्ररी खुलेको थियो । तर, अचानक झरी पर्यो ।
नेपालीहरूको ठुलो चाड दसैँलाई स्वागत गरिरहेको मौसम एक्कासि बदलियो । दसैँको टीकाको दिनभर खुलेको आकाशमा साँझदेखि बादल फैलिन सुरु ग–यो । त्यसको भोलिपल्टबाट देशका विभिन्न भागमा पानी पर्न सुरु ग–यो । सोमबार सुदूर पश्चिममा परेको अत्यधिक वर्षाले धेरै बस्ती तथा धानवाली डुबानमा पा–यो । दसैँ मनाएर धानबाली भित्राउन प्रतीक्षा गरिरहेका किसानका खेत पानीमा डुब्यो ।
यतिबेला नेपालमा मनसुन प्रणाली सकिएको छ । मनसुनपछि विकास भएको पानी पार्ने छुट्टै प्रणालीका कारण अहिले वर्षा भइरहेको मौसमविदको भनाइ छ ।
नेपालमा पानी पार्ने मुख्य दुई प्रणाली छन् । पहिलो बंगालको खाडीमा विकास भएर नेपालतर्फ आउने पानी पार्ने प्रणाली । अर्को, अरेवियन सागरमा विकास भएर नेपाल प्रवेश गर्ने वायु । अहिले नेपालमा भइरहेको वर्षातको कारण भने यी दुवैतर्फबाट विकास भएर नेपाली आकाशमा आइपुगेका जलवाष्पयुक्त वायुको टक्कर रहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले रातोपाटीलाई जानकारी दिइन् ।
अहिले वर्षा हुनुको कारणबारे उनले भनिन्– ‘बंगालको खाडीमा र मध्य भारतबाट उत्तरतिर सर्दै गएको न्यून चापीय प्रणाली छ । यस्तै पश्चिमी वायुको पनि प्रभाव परेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।’
अहिले मनसुन सकिएकाले यो मनसुनी वायुको प्रभावले वर्षा नभएको उनले बताइन् । जाडो महिनामा पश्चिमी वायुको प्रभावले वर्षा हुने र अहिले भएको वर्षाको पनि त्यही प्रभाव रहेको उनको भनाइ छ । साथै बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको बहावका कारण पनि अहिलेको वर्षा भएको हो ।
उनले भनिन्– ‘यस्तो कहिल्यै नहुने भन्ने चाँहि हैन, अक्टोवर, नोभेम्वर, मार्च, अप्रिल र मे महिनामा ट्रपिकल साइक्लोन हुने अवस्था हो । यो मनसुनका बेलामा हुँदैन, अगाडि र पछाडिको समयमा हुने गर्छ । यो बेला मेघ गर्जन, हावा–हुरी, चट्याङसहितको वर्षा हुन्छ । त्यही प्रणालीअन्तर्गत एउटा प्रणाली आएर अहिले वर्षा भएको हो ।
अहिले भएको वर्षा अप्रत्याशित र नौलो भने हैन । विगतका वर्षहरूमा पनि यस प्रकारको वर्षा हुने गर्थ्यो । जुन मनसुनमा धेरै वर्षा हुन्छ, त्यो वर्ष चक्रपातहरुको पनि सिर्जना हुने धेरै सम्भावना हुन्छ । गत वर्ष सात–आठ महिना वर्षा नभएर गाह्रो भएको थियो । तर, यसपालि वर्षा नहुने सम्भावना कम नै हुन्छ ।’
कि बंगालको खाडीमा र कि अरेवियन समुन्द्रमा उत्पन्न भएको प्रणालीको कारण नेपालमा वर्षा हुने गर्छ । अहिले ती दुवै क्षेत्रबाट पानी पार्ने प्रणाली विकास भई दुवै नेपालको पूर्वी भूभागमा बंगालको खाडीबाट उत्पन्न भएको जलवास्पयुक्त वायुका कारण र पश्चिमी वायुका कारण सुदूरपश्चिम क्षेत्रमा बढी मात्रामा वर्षा भइरहेको वरिष्ठ मौसमविद् मानन्धरको भनाइ छ ।
पूर्वी क्षेत्रमा प्रदेश १ र २ मा सोमबार धेरै वर्षा भएको थियो भने मंगलबार पनि वर्षा भइरहेको छ । दुईतर्फबाट विकास भएर आएको वायुले नेपाल र यस आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।
मौसमविद्का अनुसार सजिलो भाषामा भन्नुपर्दा, ‘बंगालको खाडीबाट विकास भएको र मध्य भारतमा बनेको पानी पार्ने वायुको प्रणाली उत्तरतिर सर्दै आएको र अरेबियन सागर पश्चिमबाट आएको वायुको नेपालको आकाशमा भेट हुँदा टक्कर प–यो र मनसुन पछि पनि अर्को वर्षा भयो ।’
मानन्धर भन्छिन्, ‘वर्षा गराउने कुनै एक प्रणाली अर्को प्रणालीसँग ठ्याक्कै मेल खाँदैन । हरेक मनसुन पनि उस्तै हुँदैन, पोष्ट मनसुन पनि उस्तै हुँदैन । अहिले भइरहेको वर्षातलाई मनसुनपछि आएको पहिलो पानी पार्ने प्रणालीका रूपमा बुझ्नुपर्छ ।’
यतिबेला मनसुनमा जस्तै धेरै पानी परेको छ । सुदूर पश्चिममा झन्डै २ सय मिमिलिटर सम्म पानी परेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेश आसपासमा पनि वर्षा भइरहेको छ । पूर्वी क्षेत्रमा भन्दा सुदूर क्षेत्रमा बढी पानी परेको छ ।
अहिले भइरहेको वर्षाबाट सबैभन्दा ठुलो मारमा धान भित्राउन तरखर गरेका किसानहरू परेका छन् । अर्कोतिर हिमाली क्षेत्रमा पदयात्राका लागि गएका पर्यटकहरू पनि प्रभावित भएका छन् । बाढी पहिरो र डुबानका कारण जनजीवनपनि प्रभावित भएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्र बाढीको डुबानमा परेको छ । हिमाली क्षेत्रमा पदयात्रामा गएकाहरूले मौसम विभागलाई फोन गरेर मौसमबारे जानकारी मागिरहेका छन् ।
‘मंगलबार र बुधबार हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना भएकोले आज र भोलि पदयात्रा नगर्न हामीले सुझाएका छौँ । साहसिक यात्रामा किन चुनौती थप्ने भनेर बिहीबार पछाडि मात्र हिमाली क्षेत्रको पदयात्रा सुचारु गर्नुस् भनेर हामीले भनेका छौँ ।’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन् ।
उनले थपिन्, ‘कात्तिक ४ गतेपछि क्रमिकरुपमा मौसम सुधार हुन्छ, वर्षाको सम्भावना न्यून हुँदै जान्छ । तुरुन्तै वर्षा त रोकिँदैन, तर केही दिन बादल लागेर बिस्तारै आकाश खुल्छ । दश–पन्ध्र दिनपछि बिस्तारै मौसमको अर्को प्रणाली विकास हुने सम्भावना त छँदैछ ।’
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले अहिले सुरु भएको वर्षातको पूर्वानुमान दुई दिन अघि नै गरे पनि धेरै किसानले धान काटेका थिए । उनीहरूले समयमै सूचना नपाउँदा किसानले क्षति बेहोर्नुप–यो ।
मौसमविद्लाई थाहा थियो, किसानले सूचना पाएनन्
वर्षा हुनुपूर्व मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरे पनि धान काटेका किसानले चुट्न पाएनन् । किसानलाई मौसमबारे समयमै सूचना दिनका लागि कृषि मन्त्रालयले कृषि सञ्चार केन्द्रको व्यवस्था गरेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेल बताउँछन् ।
सो केन्द्रले एसएमएसबाट किसानलाई जानकारी दिने गरेको उनले बताए । तर, केन्द्रका प्रमुख ईश्वरी पाण्डेसँग यसबारे जानकारी लिन खोज्दा उनको मोबाइल फोन उठेन ।
यता जल तथा मौसम पूर्वानुमान शाखाले भने मौसमको अवस्थाबारेमा सूचना प्रवाह गर्ने मात्र आफ्नो क्षेत्राधिकार रहेको बताएको छ । अन्य सरोकारवाला सरकारी निकायले त्यो सूचनालाई प्रवाह गर्नुपर्ने वरिष्ठ मौसमविद् मानन्धरले बताइन् ।
उनले भनिन्, ‘मौसमको अवस्था बारेमा हामीले जुन सूचना सम्प्रेषण गर्नुपर्ने हो त्यो गर्छौँ । यसबारे कृषि मन्त्रालय वा पर्यटन मन्त्रालय या बाढी पूर्वानुमान महाशाखा वा स्वास्थ्य क्षेत्र लगायतले हाम्रो पूर्वानुमानको सूचनालाई उहाँहरूले आफ्नो सरोकारको ठाउँमा पु–याउनुपर्ने हो । सबैतिरका लागि काम गर्ने हाम्रो अधिकार क्षेत्र पनि पर्दैन । हाम्रो काम मौसमको अवस्थाबारेमा सूचना प्रवाह गर्ने मात्र हो । हामीले दिएको सूचनालाई उहाँहरूले आफ्नो सम्बन्धित क्षेत्रमा पु–याउँनुपर्ने हो । तैपनि हामीहरूले साप्ताहिक रूपमा मौसम पूर्वानुमानसँग सम्बन्धित विवरण कृषिसँग सरोकार निकायहरूलाई पठाउने गरेका छौँ ।’
आज र भोलि के हुँदैछ ?
कात्तिक ३ गते देशभर सामान्यदेखि पूर्ण बदली रहने, प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी कात्तिक ४ गते प्रदेश नं १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य