मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साप्ताहिक ब्रिफिङ : दसैँभर देशमा के–के भयो ?

दसैँको रमझममा दुर्घटना र वर्षा–बाढीको दुःख
मङ्गलबार, ०२ कात्तिक २०७८, १८ : ४४
मङ्गलबार, ०२ कात्तिक २०७८

दसैँ भन्नेबित्तिकै हाम्रो मानसपलटमा आइहाल्छ– लामो बिदा, परिवारसँग रमाइलोसँगै मान्यजनबाट टीका–जमरा लगाउँदै आशीर्वाद लिने–दिने । अघिल्लो वर्ष कोरोनाका कारण खुलेर दसैँ मनाउन नपाएका हिन्दू नेपालीले यस वर्षको दसैँ धुमधामका साथ मनाएका छन् ।

यसवर्ष महाअष्टमी असोज २८ र विजयादशमी २९ गते परेको थियो । हिन्दु नेपालीको महान चाड दसैँ यस वर्ष कोरोनालाई बिर्सेर उल्लासमय रुपमा मनाइएको छ । विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो लागेको थियो भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्नेहरुको उस्तै घुइँचो देखिएको थियो । बजारको भीडभाड पनि बाक्लो बनेको थियो । काठमाडौंबाट यस वर्ष दसौं लाख मानिसहरु घर फर्किए ।

दसैँको अवधिमा देशभरि के–कस्ता घटनाहरु भए भन्नेबारे दसैँको अलमलका कारण धेरै मानिसहरु अपडेट हुन पाएनन् । दसैँको रमाइलो माहोलकै बीच देशभर केही दुःखद घटनाहरु भए । मुगु, कास्कीलगायतका जिल्लामा सवारी दुर्घटनामा कयौंको ज्यान गयो । यही अवधिमा हत्या, बलात्कार जस्ता केही अपराधजन्य घटना पनि भए ।

दसैँकै अवधिमा देशका विभिन्न स्थानमा आएको वर्षाका कारण धानबाली नराम्रोसँग क्षति भएको छ । असोज–कात्तिक महिनामासमेत बाढीलगायतको अनौठो समस्या देखियो । यसै सन्दर्भमा यहाँ हामीले फूलपाती (असोज २६) देखि सोमबार (कात्तिक २) सम्मको अवधिमा भएका मुख्य–मुख्य घटनाक्रमलाई पाठकसामु पस्केका छौं–

फुटबलमा नेपाल उपविजेता

बंगलादेशमा भएको साफ च्याम्पिसनशिपमा नेपाल उपविजेतामा सीमित बन्यो । भारतसँगको फाइनलमा नेपाल ३–० ले पराजित भएको हो । यद्यपि नेपाल साफ इतिहासमै फाइनलमा पुगेको हो । यसैबीच नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट बिदा लिएको घोषणा गरे ।

मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

चिनियाँ राजदूतले तताएको राजनीति

दसैँका बेला चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीका नेताबीच भएको भर्चुअल बैठकमा चिनियाँ राजदूत होउ याङछीले बोलेको कुराले भने विशेष चर्चा पायो । राजदूत यान्छीले एमाले र माओवादीको नामै लिएर सहकार्य अघि बड्नुपर्ने बताएकी थिइन् ।

यान्छीले अघिल्लो मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सय वर्ष पुगेको अवसरमा एउटा पुस्तक विमोचन कार्यक्रममा  भनेकी थिइन् ‘एमालेले हालै पहिलो विधान अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । माओवादीले संगठन सुदृढीकरणका लागि बैठकहरु गरेको छ । एमाले र माओवादीले संयुक्तरूपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्छन् ।’

दसैँका बेला राजनीतिक माहोल भने खासै तातिएन । भीभीआईपी र भीआईपीसहित विभिन्न राजनीतिक दलका नेताहरु दसैँ मनाउनै व्यस्त रहे । विजयादशमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले १० बजेर २ मिनेटको साइतमा टीका लगाउँदै अन्यलाई पनि लगाइदिए ।

कोरोना संक्रमणको त्रास

दसैँको भीडभाडमा कोरोना संक्रमण बढ्ने डर पनि उत्तिकै थियो । किनभने, झण्डै दुई वर्षयता जारी कोरोनाको प्रकोप अहिले पनि उस्तै छ । अन्ततः फूलपातीदेखि सोमबारसम्म १८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज २६ गते नेपालमा ९ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६९१ तथा एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारसम्म पनि संक्रमित थपिने क्रम जारी छ ।

सोमबार देशभर ५९१ जना कोरोना संक्रमित थपिए । यससँगै हालसम्म कूल संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.१ प्रतिशत रहेको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार २९३ जनाको मृत्यु भइसकेको छ ।

योसँगै देशभर हाल ११ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् ।  यसमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा, २ सय ८० जना सघन उपचार कक्षमा र ९९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

दुर्घटनामा १६१ जनाको मृत्यु

दसैंको अवधिमा सवारी दुर्घटनाका कारण ठुलो मानवीय क्षति भएको छ । चाडपर्वमा यसअघि हुने गरेको सार्वजनिक सवारी दुर्घटना यसपटक पनि रोकिएन् । फुलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । दशैंको अवधिमा कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । अन्नपुर्ण गाउँपालिका–१० स्थित घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना भएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दशैंको घटस्थापनपछि कातिर्क १ सम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा दशैं अवधिभरमा ३०८ वटा दुर्घटना भएका छन् । उपत्यकामा दशैंको अवधिमा ३ जनाले ज्यान गुमाएका छन् ।  

दसैंमा रोकिएन अपराध

दसैंमा अपराधका घटनाहरु रोकिएनन् । धनुषामा अष्टमीको दिन शौच गर्न निस्केकी सुकमरिया देवीलाई ‘बोक्सी आरोप’मा यातना दिइयो, मलमूत्र खुवाइयो । मलमूत्र खुवाएको आरोपमा प्रहरीले स्थानीय सिकन्दर महतो, पुरनीदेवी महतो, प्रमिलादेवी महतो र अनिल महतोलाई पक्रेर अनुसन्धान गरिरहेको छ । आरोपीहरु एउटै परिवारका सदस्य हुन् ।

चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको २८ असोजमा हत्या गरिएको छ । स्थानीयले कुटेर उनको हत्या गरेको पीडित पक्षले जिकिर गरेका छन् । भीमबहादुरको हत्यामा संलग्नमाथि कारवाही हुनुपर्ने  अधिकारकर्मीहरुले माग गरेका छन् ।

राँगा काटेर मासु भाग लगाउँदा भएको विवादमा सिन्धुलीमा फूलपातीको दिन २१ वर्षीय युवकको हत्या भयो । कमलामाई नगरपालिका–११ छतिवनका २१ वर्षीय बिक्रम लामगादेलाई दुईजना मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

हत्या आरोपमा ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगरलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुले विक्रमलाई दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ  ।

फूलपातीको दिन (असोज २६) सल्यानको बनगार कुभिण्डे नगरपालिका–१० मा बुवाले छोराको हत्या गरे । ३३ वर्षीय छोरा रुपलाल कवर मगरको हत्या आरोपमा उनका बुवा निमबहादुर कवरलाई प्रहरीले पक्राउ गरेको छ ।  

रसुवामा घरायसी बिवाद हुँदा नौकुण्ड गाउँपालिका घर भएकी ६५ वर्षीय कान्छीमाया गमदानको कुटेर हत्या गरिएको छ । असोज ३० मा उनको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा उनका पति ७८ वर्षीय बुद्धबहादुर गमदानलाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ ।

असोज ३० मा सर्लाहीको बलरा नगरपालिका घर भएका २४ वर्षीय नवनित झालाई प्रहरीले बेस्तोल सहित पक्राउ गरेको थियो । फेसवुकमा कमेन्ट गरेको विषयमा बिबाद हुँदा बलरा बस्ने बिनय झालाई नवनितले पेस्तोल ताकेका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।

दसैं अवधिमा जुवा, तास पनि रोकिएन । काठमाडौं उपत्यका र बाहिर जिल्लाबाट प्रहरीले दसैँको अवधिमा जुवा खेलेको आरोपमा धेरैजनालाई पक्राउ गर्यो । असोज ३० मा काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित नयाँबस्तीबाट असल बल सहित ११ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गर्यो ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा प्रहरीले उनकी पत्नी अमृता चौधरी र अर्का एकजनालाई पक्राउ गरेको छ । असोज ३० मा अमृतासँग मिलेर रमेशका हत्यामा संलग्न २९ वर्षीय विष्णु चौधरीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रमेशको शव खुटिया नदी नजिक फेला परेको थियो । हत्यामा संलग्न आरोपीहरुको बीचमा विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

कात्तिकमा बाढी !

केही दिनयताको वर्षाका कारण देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा वर्षासँगै बाढीको समस्या समेत देखिएको छ । वर्षाले किसानको धानबालीमा व्यापक क्षति पुगेको छ । किसानले भित्र्याउनका लागि काटेर ठिक्क बनाएको तथा काट्न बाँकी रहेको धानबालीमा वर्षाले क्षति पुगेको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा भएको मौसमविदहरुले बताएका छन् । 

एनआरएनएको महाधिवेशन सर्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय गरेको छ। यसअघि अक्टोबर २३ देखि महाधिवेशन गर्ने तय भएको थियो । एनआरएनएभित्र महाधिवेशन प्रतिनिधिको विवादका कारण लफडा हुँदै आएको छ ।

नेकपा (एकीकृत समाजवादी) को निर्णय

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दसैँकै बेला केही महत्वपूर्ण निर्णयहरु गरेको छ । ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन देखि झलनाथ खनाललाई सम्मानित नेता बनाउनेसम्मको निर्णय गरेको सो पार्टीले तीन महिने संगठन विस्तार अभियान थालेको छ । आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । साथै उसले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र र ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको छ ।

र, यो पनि

दसैँकै बीचमा नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेको विषय पनि चासोको विषय बन्यो । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा अधिकारकर्मीले माइतीघरमा प्रदर्शन र धर्ना दिँदै आएका थिए । उनीहरुको मागको सन्दर्भमा मंगलबार सरकारले छानविन समित गठन गरेसँगै आन्दोलन स्थगित भएको छ ।

दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्न पुग्यो । असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो । जुन, बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो ।

यही दसैंकै मौकामा काठमाडौं उपत्यकामा सार्वनजनिक यातायातको भाडा बढेको छ भने देशका विभिन्न भागमा मनपरी भाडा असुलिएको र यात्रुहरु ठगिएका गुनासाहरू पनि सुनिएका छन् । दसैँका बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूको गुनासो रह्यो ।   दसैँको पूर्णिमाको दिनसम्म आइपुग्दा भने मूल्य क्रमशः घट्न थालेको छ ।

दसैँको मुखमा प्रधानसेनापति प्रभुराम शर्मा अस्वस्थ भए । ज्वरो आएका कारण उनी फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भए । उनको स्वास्थ्य ठीक भइसकेको छ ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो ।

साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको निधन भएको छ । कोरोनाभाइरसको संक्रमणबाट उनको सोमबार निधन भएको हो ।

गृह मन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तर्गतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पतालमा भर्ना भएका छन् । दमका रोगी वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप