बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा धुमधामका साथ मनाइयो १४९६ औँ मोहम्मद जयन्ती

मङ्गलबार, ०२ कात्तिक २०७८, १६ : ०७
मङ्गलबार, ०२ कात्तिक २०७८

पश्चिम नवलपरासीमा मुस्लिम समुदायले मोहम्मद जयन्ती धुमधामका साथ मनाएका छन् । मंगलबार विश्वकै मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ आंै जन्मजयन्ती धुमधामका साथ मनाउँदै छन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा जुलुस निकालेर मोहम्मद जयन्ती मनाइएको हो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाबाट आएका स–साना जुलुस रामग्राम–१२ स्थित शान्तिचौरमा भेला भएको थियो ।

शान्तिचौरबाट निकालिएको मोहम्मदी जुलुस बाईपास, जिल्ला प्रशासन कार्यालय हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । जुलुसमा सहभागीले रङ्गीचङ्गी ब्यानर, ईस्लामी तथा राष्ट्रिय झण्डा बोकेका थिए ।

ईस्लाम धर्मका प्रवर्तक पैगम्बर आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामी तथा सामाजिक सन्देश र अमनचयनका सन्देश प्रवाह गर्न मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदै आएका छन् । बर्सेनि अरबी हिजरीकोे छैटौं महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउने गरेको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाँले बताए ।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुप्रथा तथा विकृति विसंगतिलाई समाप्त पारी सही मार्गदर्शन गरेको मुस्लिम समुदायको धार्मिक मान्यता रहेको मुस्लिम नेता हैदर अली मोमिनले जानकारी दिए ।

मोहम्मद जयन्तीको अवसरमा विभिन्न गाउँमा मिलादी तथा फतेहा खानीजस्ता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरान पढ्ने, दान गर्ने, सामाजिक सद्भाव कायम गर्ने मिठो पकवान पकाएर साथीभाइलाई खुवाउने र शान्ति तथा ईस्लाम धर्मका सन्देश दिनेजस्ता कार्य गरिने मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिए ।

कार्यक्रममा संविधानसभा सदस्य हाजी अलाउद्दीन अन्सारी, मुस्लिम जिल्ला नेता हैदर अली मोमिन, अमिरुल्लाह मिया, बुद्धन अली, ईजहार मिया, अली हुसैन धुनिया, समाजसेवी हाजी ईस्हाक मिया, हाजी सैयद ईजहार मिया, विभिन्न मदरसाका अध्यक्ष एवं प्रधानाध्यापक र विद्यार्थी तथा मुस्लिमहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप