शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैङ्कको चाहनाविपरीत बढ्यो ब्याजदर

निक्षेपको ब्याज हिमालयनको सबैभन्दा बढी, पछ्याउँदै एनआईसी र लक्ष्मी
मङ्गलबार, ०२ कात्तिक २०७८, १५ : ५२
मङ्गलबार, ०२ कात्तिक २०७८

ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्‍याइएको छ । वाणिज्य बैङ्कहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएका छन् । योसँगै नेपाल राष्ट्र बैङ्कको चाहना विपरीत ब्याजदर दोहोरो अङ्कमाथि पुगेको छ ।

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा हिमालयन बैङ्क सबैभन्दा अगाडी छ । असोज महिनामा ‘फिक्स्ड डिपोजिट’मा ९ प्रतिशत ब्याज दिँदै आएको हिमालयनले अहिले २.२७ प्रतिशतले बढाएर ११.२७ रुपैयाँ पुर्‍याएको छ । यो, निक्षेप रकममा वाणिज्य बैङ्कहरूले दिएको अहिलेसम्मको सबैभन्दा बढी ब्याज हो । ब्याजदर बढाउने प्रतिस्पर्धामा एनआईसी एसिया र लक्ष्मी बैङ्कले हिमालयनलाई पछ्याइरहेका छन् । हाल एनआईसी एसियाले ११.१ प्रतिशत र लक्ष्मी बैङ्कले ११.०५ प्रतिशत ब्याज तोकेका छन् । यो, दोहोरो अङ्कको ब्याज हो ।

यस्तै, कात्तिक १ गतेदेखि लागू हुने गरेर सात वटा वाणिज्य बैङ्कले निक्षेप रकमको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका छन् । कुमारी, नेपाल बंगलादेश, सेञ्चुरी, सिभिल, बैङ्क अफ काठमाडू, एनसीसी र सिद्धार्थ बैङ्कले निक्षेप ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका हुन् ।

कुन बैङ्कले कति प्रतिशत बढाए निक्षेप ब्याजदर ?

पाँच बैङ्कको ब्याजदर स्थिर

२७ वटा वाणिज्य बैङ्कमध्ये १९ वटा बैङ्कले निक्षेपको ब्याजदर बढाए पनि पाँच वटा बैङ्कले भने बढाएका छैनन् । अहिलेसम्म ग्लोबल आईएमई, नबिल, प्रभु, नेपाल बैङ्क र स्ट्याण्डर्ड चार्टडले ब्याजदर बढाएका छैनन् । यी बैङ्कले अहिलेसम्म गत असोज महिनाकै ब्याजदर लागू गरिरहेका छन् ।

ब्याजदर नबढाएका बैङ्क

तीन बैङ्कले घटाए

यसबीचमा तीन वटा वाणिज्य बैङ्कले भने ब्याजदर घटाएका छन् । सनराइज, सानिमा र मेगा बैङ्कले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका हुन् । अघिल्लो महिनाको तुलनामा सनराइज बैङ्कले १.०७ प्रतिशतले ब्याजदर घटाएको छ । यस्तै, सानिमाले १ प्रतिशत र मेगा बैङ्कले ०.२८ प्रतिशतले ब्याजदर घटाएका छन् ।

जसअनुसार, सनराइज बैङ्कको निक्षेप ब्याजदर ९ प्रतिशत, सानिमाको ८.५१ प्रतिशत र मेगाको ९.२७ प्रतिशत छ ।

‘ब्याजदर वृद्धिले आर्थिक वृद्धि नै रोक्छ’

वित्तीय विश्लेषक अनलराज भट्टराईले ब्याजदर वृद्धिमा देखिएको अस्वाभाविक प्रतिस्पर्धाले नेपालको आर्थिक वृद्धि नै रोक्ने बताएका छन् । उनले बैङ्कहरूबीच ब्याजदर वृद्धिमा अस्वाभाविक प्रतिस्पर्धा हुँदा समग्र अर्थतन्त्र सुस्ताउने बताए ।

रातोपाटीसँग भने, ‘ब्याजदर वृद्धि हुँदा सेयर बजारमा ठुलो प्रभाव देखिइसकेको छ । ३२ सय पुगेको सेयर बजार परिसूचक अहिले २४ सय अङ्कमा आइसकेको छ । व्यावसायिक घरानाहरूले लिएको ठुलो कर्जामा पनि यसले समस्या बनाउँछ ।’

त्यसैले, केन्द्रीय बैङ्कले छिटोभन्दा छिटो ब्याजदर वृद्धि रोक्ने उपाय ल्याउनुपर्ने उनको भनाई छ । आयात बढ्दा र पर्याप्त मात्रामा सरकारी खर्च नहुँदा तरलतामा असार महिनादेखि नै समस्या देखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप