शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डसमक्ष केन्द्रीय सदस्य रामकुमारको गुनासो

मङ्गलबार, ०२ कात्तिक २०७८, १८ : ००
मङ्गलबार, ०२ कात्तिक २०७८

नेकपाबाट अलग भएपछि संगठन पुनर्निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रको प्रायः हरेक संगठनमा विवाद देखिन्छ । ती विवादहरु दैनिकजसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु पुग्ने गरेका छन् । मधेसमा पनि माओवादीभित्र चरम विवाद छ । मधेसमा माओवादी केन्द्रको विभिन्न गुट छन् ।

मधेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई पटकपटक भेटेर आफ्ना गुनासो राख्दै आएका छन् । यसै क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले अध्यक्ष प्रचण्डलाई असोज २८ गते उनकै निवासमा गएर भेटेका थिए ।

भेटमा नेता शर्माले खुलेर आफ्ना गुनासो राखे । माओवादी आन्दोलनमा लागेर जागिर छाडेको, परिवारका एकजना सहिद भएको, आफू बल्ल बल्ल जोगिएको, मधेस आन्दोलन हाँकेको, माओवादी आन्दोलनकै क्रममा घरबारविहीन भएको, संसदबाट राजीनामा दिएको अवस्थामा पनि पार्टीले आफूलाई नपत्याएको भन्दै उनले अध्यक्ष प्रचण्डसामु गुनासो गरेका छन् ।

‘मैले केही मागेको छैन, मन्त्री बनाइदिनुस् पनि भनेको होइन, संगठनमा जिम्मेवारी दिएर काम गर्ने अवसर दिनुस् मात्रै भनेको हुँ,’ उनले भने । मधेसमा चरम गुटबन्दी रहेको र गुटमा लाग्नेहरूको मात्र कुरा सुन्ने गरिएको उल्लेख गर्दै उनले कुनै गुटमा नलागेकाले पार्टीमा कुनै जिम्मेवारीसमेत पाउन नसकेको अवस्था रहेकोतर्फ उनले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका छन् । भेटमा उनले प्रचण्डलाई भने, ‘मधेसमा देखिएको गुटबन्दीलाई अन्त्य गर्नुस्, पार्टीमा एउटा पद्धति अनुसार जिम्मेवारी बाँडफाँट गर्नुहोस् ।’

उनले चुरे संरक्षण एवं भ्रष्टाचारविरुद्ध हुलाकी अभियान चलाउन आफूले चाहेको भन्दै त्यसमा सहयोग गर्न पनि प्रचण्डसमक्ष आग्रह गरे । पूर्व–पश्चिम हुलाकी राजमार्गमा त्यो अभियान सञ्चालन गर्ने, चुरे संरक्षण तथा भ्रष्टाचारको विषयमा जनतालाई जागरुक गराउने योजना उनले प्रचण्डलाई सुनाएका थिए ।

हुलाकी अभियान सकेपछि चक्रपथ अभियान सञ्चालन गर्ने र त्यो अभियानबाट कम्तीमा १० लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाएर भ्रष्टाचार अन्त्य गराउन दबाब दिने योजना रहेको पनि उनले बताए । बाइक तथा आठ सयदेखि १२ सय सीसीको चार पाङ्ग्रे गाडीमा लाग्ने कर कम गर्न, बैंकको व्याजदरलाई ‘वन डिजिट’ गराउन पनि सरकारलाई दबाब दिने आफ्नो योजना रहेको उनले अध्यक्ष प्रचण्डलाई सुनाएका थिए । आफूसँग थुप्रै योजना रहेको र त्यसमा काम गर्ने मौका दिन उनले प्रचण्डलाई आग्रह गरेका छन् ।

जवाफमा प्रचण्डले शर्मालाई सबै योजना राम्रा रहेको र यसबारे गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । उनले संगठनमा जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको र खासगरी मधेसको बारेमा पार्टीले गम्भीर भएर सोचिरहेको पनि शर्मालाई बताए ।

प्रचण्डलाई भेटेको दुई दिनपछि शर्माले आफ्नो फेसबुकमा ‘म माओवादी किन भए ?’ भन्ने स्टाटस लेखेका छन् । उनले असमान सन्धी सम्झौतामार्फत देशको नदीनाला बेच्ने राष्ट्रघाती काँग्रेस–एमालेबाट नेपालको राष्ट्रियता जोगाउन आफू माओवादी बनेको उल्लेख गरेका छन् ।

गरिव, किसान, मजदुर एवं असहायको जीवनमा परिवर्तनका लागि, एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देशको ठाउँमा, बहुभाषिक, बहुसांस्कृतिक पहिचानसहित जनताबाट निर्वाचित प्रतिनिधियुक्त शासन प्रणालीको लागि, एकात्मक एवं नश्लीय व्यवस्थाको ठाउँमा समानुपातिक समावेशी प्रतिनिधित्व सहित संघीय लोकतान्त्रिक गणतन्त्रको लागि आफू माओवादी बनेको उनले उल्लेख गरेका छन् ।

जातपात र छुवाछुत मुक्त नेपालको लागि, भ्रष्टाचारमा डुबेको मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनको लागि, शिक्षा एवं स्वास्थ्यमा भएको व्यापारीकरणको ठाउँमा निःशुल्क गुणस्तरीय एवं सर्वसुलभ शिक्षा र स्वास्थ्यका लागि, सामुदायिक एवं सहकारीमार्फत कृषिलाई, प्रविधि मैत्री एवं व्यावसायिक बनाउनका लागि आफू माओवादी बनेको तर फर्केर हेर्दा हालको उपलब्धि आंशिक रहेको उनले फेसबुकमा उल्लेख गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप