देश किन बनेन ? प्रचण्ड भन्छन्– माओवादीलाई हेप्दा समस्या भयो
नेपालमा २०६२/०६३ को दोस्रो जनआन्दोलनले सशस्त्र विद्रोहको विधिवत् अन्त्य गर्दै भूमिगत माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । संविधानसभाको चुनाव भयो । गणतन्त्र स्थापना भयो । १० वर्ष ढिलो भए पनि संविधान बन्यो । समानुपातिक–समावेशितासहितको संघीय शासन प्रणाली स्थापना भयो । पहिलो आम चुनावमार्फत बहुमतको सरकार बन्यो । स्थानीय तह र प्रदेशहरू संस्थागत भए । तैपनि देशमा राजनीतिक स्थिरता, सुशासन र विकास हुन सकेन, किन ?
शान्ति प्रक्रियामा आएपछि माओवादीले देशमा केही गर्छ कि भन्ने धेरै मानिसहरूमा आशा थियो । त्यही कारणले पहिलो संविधानसभामा माओवादीले सबैभन्दा धेरै सीट जित्यो । तर, माओवादी बिस्तारै खुम्चँदै गयो, उसले जनताको विश्वासलाई बचाउन सकेन ।
आखिर गणतन्त्र आएको डेढ दशक हुँदा पनि देशमा किन स्थिरता र विकास हुन सकिरहेको छैन ? देशले गति नलिनुमा प्रणालीकै दोष छ या पात्रहरूको ? अथवा, अरू नै के कारण छन् जसले गर्दा देश अगाडि बढ्न सकिरहेको छैन ? यसबारेमा जति बहस हुनुपर्ने हो, हुन सकिरहेको देखिँदैन ।
आखिर ०६२/०६३ को परिवर्तनपछि पनि के कारणले गर्दा हामी अलमलिइरहेका छौँ त ? यस विषयमा बहस होस् भन्ने हिसाबले हामीले यो सामग्री तयार पारेका छौँ । यसमा गणतन्त्रका संवाहक प्रचण्ड, वैकल्पिक राजनीतिका अभियन्ता रवीन्द्र मिश्र र नागरिक आन्दोलनका अभियन्ता युग पाठकसँग हामीले प्रश्न गरेका छौँ– देश किन बनेन ?
माओवादीलाई हेप्न खोज्दा समस्या आयो : प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्ड रातोपाटीसँगको कुराकानीका क्रममा भन्छन् ‘हामी ०६२/०६३ सालमा सशस्त्र जनयुद्धको बाटो छाडेर इमानदारिता पूर्वक नै शान्ति प्रक्रियामा आएका हौँ । तर, संसदवादी दलहरूले माओवादीलाई साथमा लिएर होइन कि फुटाउने र सिध्याउने गलत नियत राखे । उनीहरूले माओवादीलाई हेप्न खोजे, जसले गर्दा अहिलेको परिस्थिति आएको हो ।’
प्रचण्ड अगाडि भन्छन्, ‘हुन त शान्ति प्रक्रियामा आइसकेपछि पनि सुरु–सुरुमा हाम्रा केही साथीहरूमा विद्रोहबाटै सत्ता कब्जा गर्नुपर्छ भन्ने ह्याङओभरले काम गरेको थियो । तर, म त्यो ह्याङओभरमा छैन । मैले सबैलाई मिलाएर लोकतन्त्रलाई सुदृढ गर्दै आर्थिक समृद्धि र समाजवादको बाटोमा अघि बढ्ने सोचेको छु । यही कारणले कहिले एमालेसँग त कहिले काँग्रेससँग मिलेर अघि बढ्ने नीति लिएको हुँ ।’
तर, आफूले सबैसँग मिलेर अघि बढ्न चाहँदा चाहँदै पनि संसद्वादीहरुले माओवादीलाई खुइल्याउने, बदनाम गर्न खोज्ने, हत्यारा इत्यादि भन्ने गरेका कारण समस्या आएको र देशले विकासको गति पक्डन नसकेको प्रचण्डको विश्लेषण छ ।
केपी शर्मा ओली पहिलोचोटि प्रधानमन्त्री भएका बेला माओवादीलाई कर्नरमा पार्न, सहमतिहरू पालना नगर्न र हेप्न खोजिएकाले आफूले एमालेसँगको गठबन्धन तोडेर नेपाली काँग्रेससँग सहकार्य गरेको प्रचण्डले सङ्केत गरे । तर, २०७४ को आम निर्वाचनमा वामपन्थी एकतामा जोड दिँदै एमालेसँग गठबन्धन र पार्टी एकता गर्न आफू तयार भएको प्रचण्ड बताउँछन् ।
पार्टी एकतापछि पनि एमाले नेताहरूले माओवादीलाई हेप्ने, पाखा लगाउने र परिवर्तनका एजेण्डाहरु उल्ट्याउने प्रयास गरेका कारण अहिले फेरि काँग्रेससँग गठबन्धन बनाउनुपरेको प्रचण्डको तर्क छ । उनी थप्छन्, ‘माओवादीलाई हेप्न खोज्दा यो परिस्थिति आएको हो ।’
अब प्रचण्ड कमजोर भइसके, उनले केही पनि गर्न सक्दैनन् भन्दै माओवादीलाई होच्याउने गरिएको बताउँदै प्रचण्डले अगाडि भने, ‘मैले अखिल क्रान्तिकारीको सम्मेलनमा आत्मादेखि नै बोलेको थिएँ, त्यो भाषणमा मैले आत्मसमर्पण वा सुसाइड गरिँदैन, आवश्यक पर्यो भने एकचोटि फेरि विद्रोह गरिन्छ भन्ने भावमा बोलेको छु, एकपटक सबैले त्यो भाषण सुनिदिनुहोला ।’
अखिल क्रान्तिकारीको कार्यक्रममा आफूले बोलेको कुराको अंशलाई मात्र लिएर कतिपयले प्रचण्ड निराश बनेको र आत्महत्या गर्नेसम्मको कुरा गरेको भन्नेजस्ता टिप्पणीहरू आएको प्रचण्डको गुनासो छ । उनी भन्छन्, ‘मैले निराश कुरा गरेको छैन, अगाडि बढ्ने कुरा गरेको छु ।’
परिवर्तनका एजेण्डाहरु उल्ट्याउने र दक्षिणपन्थी बाटोमा देशलाई लैजान खोज्ने शक्तिका विरुद्धमा माओवादी पार्टीलाई फेरि एकचोटि पुनर्जाग्रित गर्नुको विकल्प नरहेको प्रचण्डको निष्कर्ष छ । अहिले देशैभरि माओवादीको संगठन विस्तार भइरहेको र पार्टी पुनः अगाडि आउने सङ्केतहरू देखिन थालेको उनी बताउँछन् । माओवादी कमजोर हुँदा देशले गति लिन नसकेको उनको दाबी छ ।
पात्र र प्रणाली दुवै दोषी देखिए : रवीन्द्र मिश्र
संसद्वादी पार्टीहरूले परिवर्तनको पक्षधर माओवादीलाई हेप्दा अहिलेको समस्या आएको प्रचण्डले बताइरहँदा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र चाहिँ काँग्रेस, एमाले र माओवादीलाई एउटै तराजुमा राखेर जोख्दा फरक नपर्ने बताउँछन् । अहिले देखिएको समस्याका पछाडि पात्र र प्रवृत्ति दुवै कारक रहेको उनी बताउँछन् । वैकल्पिक राजनीतिक अभियन्ता मिश्रको ‘देश किन बनेन ?’ भनेर रातोपाटीले सोधेको प्रश्नमा मिश्रको जवाफ जस्ताको त्यस्तै–
यसमा पात्र र प्रणाली दुवै दोषी देखिए । प्रारम्भिक रूपमा ०४६ साल पछाडिको कुरा गर्ने हो भने पात्रहरूको कमजोरीले गर्दा प्रणाली फेल भयो । तर, ती पात्रहरूको कमजोरीबाट प्रणाली फेल हुँदाखेरि हामीले त्यसलाई संरचनागत समस्या नै थियो, त्यो हुनाले प्रणाली फेल भयो भन्यौँ । संरचनागत समस्याहरू केही थिए, तर यो देशलाई साँच्चिकै रूपान्तरणको दिशामा लैजानका लागि अवरोधचाहिँ थिएन । र, रूपान्तरणको दिशामा लैजान सकेको भएदेखि संरचनामा भएका त्रुटिहरू पनि सुधार गर्दै लान सकिन्थ्यो । त्यसकारणले हामी पात्रमा पनि चुक्यौँ ।
र, ०६२–०६३ पछि फेरि पहिलो त्रुटि पात्रहरूमै रह्यो । यदि पात्रहरूले ०६२–०६३ पछिको परिवर्तनलाई सकारात्मकरुपमा संस्थागत गरेर अगाडि लैजान सकेको भए प्रणालीमाथि प्रश्न उठ्दैनथ्यो । त्यो गौण भएर जान्थ्यो । तर, फेरि पनि पात्रहरू चुक्दाखेरि प्रणाली अत्यन्त कमजोर भएर गयो ।
कतिपयले प्रणाली ठिक हो, पात्र गलत भए भन्छन् । बुझ्नुपर्ने कुरा के हो भने पात्र र प्रणाली अविभाज्य रूपमा जोडिएका हुन्छन् । जस्तो– चीनको प्रणाली ठिक हो लोकतान्त्रिक आँखाले हेर्दा ? सिंगापुरको प्रणाली ठिक हो लोकतान्त्रिक आँखाले हेर्दा ? अथवा, रुसको प्रणाली ठिक हो लोकतान्त्रिक आँखाले हेर्दा ? अथवा खाडीका कैयौँ देशहरूको प्रणाली ठिक हो लोकतान्त्रिक आँखाले हेर्दा ? प्रणाली ठिक नहुँदा पनि ती देशहरूले द्रुत रूपमा रूपान्तरण गरे । किनभने, पात्रहरू सक्षम भए ।
तर, हामीकहाँ चाहिँ पात्र पनि कमजोर भए । कमजोर पात्रले प्रणालीलाई पनि कमजोर बनाइदिए । अहिलेको परिप्रेक्ष्यमा त प्रणालीलाई यत्ति जर्जर बनाइदिए कि त्यसले अब राम्रो पात्रलाई पनि धान्न गार्हो हुन लागिसक्यो । किनभने, देशको सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान, देशको जातीय सन्तुलन, धार्मिक सन्तुलन र देशको सामाजिक सन्तुलन नै खलबल्याएर ल्याएपछि अब त्यो पात्रको मात्रै दोष रहेन, अब प्रणालीको पनि दोष रह्यो ।
पात्रहरूको कुरा गर्दा काँग्रेस, एमाले, माओवादी यी तीनैवटालाई एउटै तराजुमा राखे हुन्छ, केही पनि फरक पर्दैन । कसैको के कमजोरी छ, कसैको के । कमजोरी सबैको छ । जस्तो– नेपाली काँग्रेसले आफ्नो वैचारिक धार परिवर्तन गर्दा नेपाली समाजको सन्तुलन गुम्यो । नेपाली राजनीतिको सन्तुलन गुम्यो । र, नेपाली काँग्रेसको विकृत वामपन्थीकरण भयो । एमाले त्यही विकृत वामपन्थीकरणमै फस्यो ।
माओवादीको त मैले भन्दै आएको कुरा के हो भने देशमा लोकतन्त्र नहुँदा कुनै विद्रोही शक्तिले हिंसाको सहारा लिँदा थोरै मात्रै भए पनि ठिकै होला, तर लोकतन्त्र भएको ठाउँमा आफ्नो दृष्टिकोणबाट जनताको मन जित्न नसकेर, लुकेर अर्काका छोराछोरी र बाबुआमा, दिदीभाइ, दाजुभाइहरू मार्नु त्यो अपराध हो । त्यो मानवताविरुद्धको अपराध हो । र, त्यो अपराधको धरातलबाट उनीहरू माथि उठ्नै सकेनन् ।
यसको विकल्प चाहिँ के त ? यसबारेमा मैले त प्रष्ट भनिसकेको छु, प्रणालीमा पनि सुधार चाहिएको छ । यही भएर मैले ल्याएको ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेजको सार नै त्यही हो । प्रणालीमा पनि परिवर्तन चाहिएको छ र पात्रमा पनि परिवर्तन चाहिएको छ ।
असफल विचार बोकेर देश अगाडि बढ्दैन : युग पाठक
देश किन बनेन भन्नेबारे नागरिक अभियन्ता एवं लेखक युग पाठकको विचार चाहिँ रवीन्द्र मिश्रको भन्दा अलि फरक छ । पुरानै विचारमा फर्किएर देश अगाडि बढ्न नसक्ने पाठक बताउँछन् । पाठकको प्रतिक्रिया उनकै शब्दमा ः
मेरोचाहिँ पछिल्लो समयको खोज नै यही कुरामा छ कि के भएर देशमा गडबड भयो ? यही विषयमा मैले खोजिरहेको छु । मलाई यो कुनै प्राविधिक कुरा हो जस्तो लाग्दैन । यो कुनै निर्वाचन प्रणाली अदली–बदली गरेर समस्या समाधान हुन्छ जस्तो मलाई लाग्दैन । समानुपातिक निर्वाचन प्रणालीलाई बदलेर बहुमत आउने बनाउँदैमा केही हुँदैन । बहुमत त पाएका थिए त, केही गरेर त खाएनन् त । बहुमत ल्याउँदैमा त केही पनि हुँदो रहेन छ आखिरमा । त्यसैले यो प्राविधिक विषय मात्र हो जस्तो मलाई लाग्दै लाग्दैन ।
माओवादी आयो अनि माओवादी कमजोर भयो, अथवा माओवादी आफैँ बिग्रियो अनि यस कारणले नभएको, अथवा गणतन्त्र सम्हाल्न सकेनन् र यो कौशलको कुरा हो भन्ने पनि भन्ने पनि मलाई लाग्दैन । यो देशको ब्युरोक्रेसीले काम गर्न दिएन भन्छन्, त्यो पनि मलाई हो जस्तो लाग्दैन ।
हामीले ०६२/०६३ को जनआन्दोलनसम्म आइपुगेपछि र संविधानसभाको बहससम्म आइपुग्दा मूलभूतरुपमा चाहिँ केही कुरा खुट्याएको हो जस्तो लाग्छ । हामीलाई विल्कुल ज्ञान नभएको चाहिँ होइन । हाम्रो समाजमा त्यो ज्ञान उत्पादनचाहिँ भइसकेको हो ।
यो राज्यको संरचना, जुन गोर्खाली सत्ताले निर्माण गरेर ल्यायो, यसको आधारभूत संरचनामै समस्या छ । त्यसकारण यो देशमा भएका सबै प्रकारका मान्छेले ऐनामा आफ्नो अनुहार देख्ने राज्यसत्ता पुनसंरचना गरेर बनाउन सक्यो भने बल्ल यो देश एउटा नयाँ बाटोमा लाग्छ र नयाँ प्रयोग हुन्छ । त्यसपछि आउने नयाँ खालका कमी कमजोरी र समस्याहरूको समाधान नयाँ तरिकाले खोज्न सकिन्छ ।
हाम्रो देशमा पहिलो संविधानसभा विघटन भएदेखि नै प्रतिगमन भयो भनेर एउटा भाषामा हामीले भन्ने गर्छौँ । यसलाई अर्को भाषामा भन्दाखेरि राज्य पुनसंरचनाको एजेण्डा तुहाउने काम त्यहीँबाट भयो । र, त्यसले सँगसँगै एउटा ज्ञानलाई नकार गर्न खोज्यो, जुन ज्ञान हामीले यत्रो वर्षका विभिन्न आन्दोलनहरूको सारसंक्षेपसहित निकालेका थियौँ ।
यो ज्ञानमा नेपालको बौद्धिक जगत्, राजनीतिक जगत्, विश्व समुदाय र विभिन्न जाति, जनजाति, महिला मधेसी सबैले यो राज्य हाम्रो हो भन्ने अनुभूतिबाट राज्यलाई आफ्नो बनाउने कामको दोस्रो चरण सुरु हुन्छ भन्ने विश्वास गरिएको थियो । यो ज्ञानलाई विल्कुल नकार गर्न र यो ज्ञानलाई होइन भनेर जबरजस्ती सिद्ध गर्न खोज्ने र कैयौँ प्रशंगमा त अहिले पञ्चायतको ज्ञानमा फर्कने कोसिस भइरहेको छ ।
पञ्चायतको आइडियाले जति सफल हुने हो, त्यतिबेलै भएको हो । जति सफल हुन सकेन, त्यसका लागि हामीले नयाँ बाटो खोजेको हो नि त । ०४६ सालको आन्दोलनपछि प्राप्त भएको बहुदल पनि जति सफल हुने हो, भयो । त्यो खालको बहुदल पनि पार लागेन ।
जनयुद्धले समाजको भित्री तहको संरचनासम्म गएर मान्छेको चेतनालाई भत्काउने काम गरेको हो र एउटा नयाँ संरचना बनाउनका लागि नयाँ ज्ञानअनुसार कोसिस भएको हो । पछि बौद्धिकहरूले नयाँ ज्ञान थपे । त्यो राज्य संरचनाको प्रतिवेदन एकदम राम्रो थियो । तर, त्यसलाई नकार्ने क्रम सुरु भएदेखि नै सबै कुरा उल्टो भयो ।
२०४८ सालतिर समाजमा एक प्रकारको निराशा थियो । त्यसबेला नेताहरु बिग्रिए, भ्रष्टाचारको विरुद्ध इमान्दार व्यक्तिहरुको पार्टी बनाउने पो हो कि भन्ने टाइपका कुराहरू त्यतिबेला पनि आएका थिए । अब त्यही कुरालाई दोहोर्याएर समस्याको समाधान हुँदैन । मूल समस्याचाहिँ राज्यसत्ता चलाउने विचारमा छ ।
राज्यसत्ता मात्रै होइन, पार्टी चलाउने विचारमा पनि अहिले त्यही समस्या जस्ताको त्यस्तै छ । राज्यका संरचना चलाउनेहरूमा पनि त्यही विचार छ । वैकल्पिक शक्ति बनाउँछु भन्नेहरूको चेतनामा पनि त्यही समस्या छ । भनेपछि, यो त विचारको समस्या हो । अगाडि बढ्दा आउने नयाँ विचारहरूमा काम गर्न पायो भने पो समाज अगाडि जान्छ । समाज बन्ने भनेको त्यसरी हो ।
प्रचण्डले शान्ति प्रक्रियामा आउँदा टेक्निकल्ली सम्झौता गर्नुपर्यो होला, त्यसलाई मानियो । टेक्निकल्ली त पोलिटिक्समा लेनदेन हुन्छ । प्राविधिकरुपमा सम्झौता गरे पनि विचारको लडाइँ त छोड्न हुँदैन नि त । विचारमै सम्झौता गर्दिएपछि त सक्किगो नि । अहिले विचारमा सम्झौता गरेको हुनाले माओवादी पार्टी यस्तो भयो ।
त्यतिबेला गणतन्त्रको नेतृत्व गरेको काँग्रेसकै कुरा गर्नोस्, विचारको लडाइँ कहाँ पुगेको छ भन्दाखेरि हिन्दुराष्ट्र ल्याउने भन्नेमा पुगेको छ । धर्म निरपेक्षताको विरुद्धमा पुगेको छ । संघीयता ठिक छैन, यसले देश टुक्र्याउँछ भन्ने पञ्चायतकालको कुहिसकेको विचारमा पुगेको छ । यही विचार हरेक पोलिटिकल पार्टीभित्र छ अहिले । अगाडि कसरी जाने भन्ने बहस नै छैन पोलिटिकल पार्टीमा । अनि कसरी यो समाज अगाडि जान्छ ? कसरी राजनीतिले समाजलाई नेतृत्व दिन्छ ?
अहिले समाधान खोज्छु भन्नेले उल्टो ठाउँमा समाधान खोजिरहेका छन् । जुन विचार असफल भइसक्यो, त्यही विचारमा समाधान खोजिराखेका छन् । अबको विकल्प भनेको हामी पछाडि फर्कने होइन, अगाडि जाने नै हो । अगाडि जाने भनेको हामीले अहिलेसम्म प्राप्त गरेको ज्ञानलाई थप समृद्ध बनाउनुपर्यो । प्रतिगमनको विचार लिएर आएर धेरै मानिसलाई कन्भिन्स गरेको छ भने नयाँ ज्ञानलाई थप विकास र परिमार्जन गर्दै यसलाई डिस्कोर्षमा लिएर गएर धेरै मान्छेलाई कन्भिन्स गर्नुपर्यो ।
यो कामचाहिँ खासमा राजनीतिक पार्टीहरुको काम हो । वौद्धिकको पनि काम हो, तर पोलिटिकल पार्टीहरुको मुख्य काम हो । यसरी कुनै राजनीतिक शक्तिले कोसिस गर्यो भने यो समाज अगाडि जान्छ र देश पनि बन्ने क्रम सुरु हुन्छ । किनभने, बन्ने काम जहिले पनि चेतनाबाटै हुन्छ । चेतनामै नबनिसकेपछि जे–जे ठोकठाक गरे पनि बाँकी ठाउँमा चाहिँ बन्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने