बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिप्स अभाव : कार निर्मातादेखि ग्राहकसम्म प्रभावित

मङ्गलबार, ०२ कात्तिक २०७८, ११ : ३४
मङ्गलबार, ०२ कात्तिक २०७८

कोभिड–१९ विश्वव्याधीले अनेक आयाममा प्रभाव पार्‍यो । आधारभूत मानवीय आवश्यकतादेखि सेवा सुविधा र सुरक्षाका साधनसम्ममा कोभिड असर देखा पर्‍यो । अझ, मानिसलाई संसारको एक कुनाबाट अर्को कुनासम्म पुर्‍याउने सवारीसाधनको उत्पादनसम्मलाई कोरोना महामारीले छोडेन । यतिखेर संसारभर हातमा रकम भएपनि मानिसहरूले गाडी पाइरहेका छैनन् ।

आधुनिक सभ्यतामा गाडीलाई सुविधाको रूपमा मात्रै हेरिँदैन, सुरक्षा र स्वास्थ्यका दृष्टिले पनि अपरिहार्य नै ठानिन्छ । कोरोना भाइरस संक्रमण फैलिएको बेला एक मान्छेदेखि अर्को मान्छेबीचको भौतिक दुरीको प्रसंग आउँदा निजी कारको महत्व अझै बढेको हो । ‘एक बारको जुनीमा स्वास्थ्यसँग सम्झौता गर्नुभन्दा केही दुःख गरेर भए पनि गाडीको जोड्नुपर्छ’ भन्ने निष्कर्षमा धेरै मानिस पुगेका छन् ।

विडम्बना ! गाडीको आवश्यकता र माग बढिरहेको यो बेला कोरोनाको कुप्रभाव गाडी उत्पादनमा पनि परेको छ । कारण हो–चिप्स उत्पादनमा कमी । अहिले विश्वभर नै चिप्स अभाव बढेको छ । परिणाम–गाडी पारखीदेखि निर्मातासम्मलाई समस्या परेको छ ।

चिप्स के हो ?

हामी आधुनिक सवारीसाधनमा बाहिरी आँखाले देख्ने पार्टपुर्जा इन्जिन, गियरबक्स, च्यासिस, ह्वील, टायर, ग्लास, प्लास्टिक र स्टिल आदिलाई मात्रै याद गर्छौं । तर, पछिल्लो समय एउटा गाडीलाई बढी सुविधासम्पन्न बनाउन धेरै किसिमका इलेक्ट्रोनिक कन्डक्टर तथा माइक्राचिप्सजस्ता पाटर््स पनि आवश्यक पर्न थालेको छ ।

अहिले अत्याधुनिक कारहरूमा इन्जिनमा कति तेल पठाउने भन्ने कुराको निर्धारण गर्नेदेखि विन्ड स्क्रिनको वाइपर वा हेडलाइटको टाइमिङ, एयरब्याग र क्लाइमेट कन्ट्रोलजस्ता कामहरू कम्प्युटर चिप्सको मद्दतबाट सञ्चालन हुने गरेको छ ।

आफ्नो गाडीमा एड्भान्स टेक्नोलाजी होस् र त्यसले यात्रालाई आरामदायी र सुविधासम्पन्न बनाओस् भन्ने सोचिरहेका हुन्छौँ । प्रविधिको बढ्दो प्रयोगसँगै एउटा कारमा झन्डै १०० वटाजति माइक्रोचिप्सहरूको प्रयोग हुन थालेको छ । अझ, कारमा व्यापक रूपमा कनेक्टेड फिचर र अटोनोमस प्रविधिको विकास भएसँगै चिप्सको मागमा अत्यधिक वृद्धि हुँदै गएको छ । ती चिप्सहरूले हाम्रो शारीरिक कठिनाइलाई निकै कम गराउँदै लगेको छ ।

विश्वव्यापी रूपमा कोरोनाको कहर फैलिएसँगै चिप्सको आपूर्ति प्रणालीमा नराम्रो धक्का पुगेको छ, जसकारण अटोमोबाइल कम्पनीहरूले अन्य पार्ट्सको उपलब्धता भए पनि कम्प्युटर चिप्स तथा सेमीकन्डक्टर नपाउँदा उत्पादनमा कटौती गर्न बाध्य भएका छन् ।

जापानी अटो जायन्ट टोयोटाले सेप्टेम्बरको उत्पादनमा ४० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो । अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले आफ्नो दुईवटा उत्पादन प्लान्टको डबल सिफ्ट बन्द गर्ने निर्णय गर्नु परेको थियो । निसानले अमेरिकी र मेक्सिकोस्थित प्लान्टमा हुने उत्पादनलाई घटाएको छ । फक्सवागेनले आफ्ना १० हजार कामदारलाई घर पठाउन बाध्य भएको जनाएको छ । यस्तो चित्रले हामीलाई झस्काइदिन्छ । यसले अटोमोबाइलको दायरा र अवसरमा धक्का पुग्नेबारे सरोकारवालाहरू थप चिन्तित भएका छन् ।

विश्व बजारमा महत्वपूर्ण हिस्साा ओगटिरहेका भारतीय अटोमोबाइल कम्पनीहरू पनि यस समस्याबाट टाढा छैनन् । चिप्स आपूर्तिमा आएको मन्दीका कारण सवारीसाधन उत्पादन घटेको छ । यसकारण ग्राहकहरूले आफ्नो रोजाइको सवारी साधन पाउन धेरै समय कुर्नुपर्ने बाध्यता आइपरेको हो ।

नेपाली गाडी बजारको झन्डै ९७ प्रतिशत सवारीसाधन भारतीय उत्पादनमा निर्भर रहेका कारण चिप्स अभावबाट सृजित समस्याको प्रत्यक्ष प्रभाव यता पनि स्वाभाविक रूपमा प¥यो नै ! महिन्द्राका उत्पादनहरू विगत १ वर्षदेखि मागअनुसार आपूर्ति भइरहेको छैन । हुन्डाई, सुजुक र टाटा मोटर्सका भारतीय प्लान्टबाट उत्पादन हुने कारका कतिपय मोडल खरिद गर्न लामो समयसम्म कुर्नुपर्ने अप्ठ्यारो बाध्यता आइलागेको छ । मागअनुसार पूर्ति नहुने क्रम बढ्दै जाँदा सम्बन्धित क्षेत्रमा हाहाकार हुने खतरा बढ्छ ।

अटोमोबाइलमा कसरी बिग्रियो आपूर्ति श्रृंखला ?

कोभिड– १९ को कहरसँगै कारको बिक्रीमा विश्वव्यापी मन्दी आएको थियो । सोहीसमयमा धेरै कार कम्पनीहरूले उत्पादन कटौती गरे । अझ कतिपय कार प्लान्ट त महिनौँसम्म बन्द भए । यस्तो समयमा अटोमोबाइल उत्पादकहरूले कम्प्युटर चिप्सको अर्डर रद्द गरे । तर, सोहीसमयमा विश्वव्यापी रूपमा फैलिएको डिजिटल प्रविधि प्रयोग तथा ‘वर्क फ्रर्म होम कल्चर’ ले अफिसियल काम गर्ने परिपाटीको विकास ग¥यो ।

शिक्षा क्षेत्र, अनलाइन सपिङ तथा बैकिङजस्ता गतिविधिले स्मार्टफोन, ल्यापटप, वेभक्याम, मनिटरजस्ता वस्तुहरूको माग धेरै गुणाले बढाइदियो । फलस्वरूप कन्जुमर इलेक्ट्रोनिक्स उत्पादकहरूले भने आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्दै लगे । अटोमोबाइल क्षेत्रले रोकेको अर्डर कन्जुमर इलेक्ट्रोनिक्स कम्पनीहरूले एकैपल्ट सबै खरिद गरिदिए ।

जब अटोमोबाइल क्षेत्रको बिक्रीमा ‘रिबाउन्स’ सुरु भयो, तब अटोमोबाइल कम्पनीहरू चिप्स सप्लायर कहाँ दौडिन लागे । तर, उनीहरू सप्लाइ लाइनको पुछारमा पुगिसकेका थिए । भविष्यको धेरै समयसम्मको सप्लाइ कन्जुमर इलेक्ट्रिोनिक्स कम्पनीहरूले बुक गरेका कारण अटो निर्माता कम्पनीहरू अहिले आएर आफ्नो नियमित उत्पादन नै कटौती गर्न बाध्य भए ।

चिप्स कम्पनीहरूले पनि अटोमोबाइललाई प्राथमिकतामा राखेका पक्कै छैनन् । विश्वबजारको सबै सेमीकन्डक्टर उत्पादनको मात्र ८ प्रतिशत हिस्साा अटोमोबाइल कम्पनीले उपभोग गरिरहेका छन् । उदारहणका लागि एप्पलले वार्षिक रूपमा चिप्सका लागि ५६ अर्ब अमेरिकी डलर खर्च गर्छ भने टोयोटा जत्रो अटोमोबाइल कम्पनीको वार्षिक खर्च चिप्सलगायत सेमीकन्डक्टरहरूमा मात्र ४ अर्ब डलरको रहेको छ । यस्तो अवस्थामा चिप्स कम्पनीहरूले आफ्नो ठूलो ग्राहकलाई सधैँ पहिलो छनोटमा राख्नु कुनै अनोठो कुरा होइन ।

यदि अटोमोबाइल कम्पनीलाई पहिलो प्राथमिकतामा राखियो भने पनि लाखौँ सर्किटहरूलाई जोडेर बनाइने सानो सिलिकनको टुक्रा आकारको चिप्स बनाउनका लागि कम्पनीहरूलाई २६ हप्ता अर्थात् आधा वर्षजति समय लाग्छ । उद्योगहरूमा गरिएको अध्ययनअनुसार एउटा कम्प्युटर चिप्स बनाउन ८ हजार लिटर पानीको आवश्यकता पर्छ ।

यति धेरै पानीको प्रयोग हुने हुँदा चिप्सको उत्पादन बढाउन कम्पनीहरूलाई दैनिक करोडौं लिटर पानी थप आवश्यक हुन्छ । यही कारण कम्पनीहरूले चाहेर पनि अटोमोबाइलको चिप्सको मागलाई पूरा गर्न सक्दैनन् ।

यस्तो छ चिप्सको मार्केट सेयर

भौगोलिक आधारमा सबैभन्दा धेरै सेमीकन्डक्टर तथा चिप्सको उत्पादन एसिया प्यासेफिक क्षेत्रमा हुने गर्छ । चिप्सको उत्पादन गर्ने स्थानलाई ‘फाउन्ड्री’ भनिन्छ । यस्ता फाउन्ड्रीहरू भियतनाम, ताइवान, चीन, जापान तथा दक्षिण कोरियामा धेरै रहेका छन् ।

सन् २०२१ को पहिलो क्वाटरको डाटाअनुसार विश्वको चिप्स तथा सेमीकन्डक्टर मार्केटको सबैभन्दा धेरै ५६ प्रतिशतको बजार हिस्सा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) को रहेको छ । त्यसपछि कोरियाली कम्पनी सामसुङको हिस्सा करिब १८ प्रतिशत रहेको छ ।

त्यस्तै, ग्लोबल फाउन्ड्री तथा युएमसीको समान ७ प्रतिशत रहेको छ । बाँकी कम्पनीहरूले १२ प्रतिशत मात्रै चिप्स बनाउने गर्छन् । चिप्स अभाव भएपछि गाडी निर्माताहरू मात्रै समस्यामा परेका छैनन्, अटो उद्योगको राजस्वमा २१० अर्ब डलरभन्दा धेरै नोक्सान भएको छ ।

यस्तो पनि अनुमान लगाइँदैछ कि अटोमोबाइलले २०२१ मा ७.७ मिलियन युनिट उत्पादन पनि गर्न सक्दैन । उत्पादनमा कमी आउनुमा कच्चा पदार्थ मात्रै कारक नभएर श्रमको कमीलाई पनि महत्वपूर्ण पाटोको रूपमा उल्लेख गरिएको छ । चिप्सको कमीपछि केही देश र क्षेत्रमा यस्तो चिन्ता बढ्न थालेको छ कि यही कारणले सम्पूर्ण अर्थव्यवस्था नै गडबड हुने त होइन ?

चीन–अमेरिकाको व्यापार युद्ध सुरु भएसँगै अमेरिकाले यस्ता फाउन्ड्रीको स्थापना अमेरिकामै बढाउँदै लगेको छ । अमेरिकाले आफ्ना उत्पादनहरूमा प्रयोग हुने चिप्स अमेरिकामै उत्पादन गर्ने लक्ष्यका सँथ काम गरिरहेको छ । उता, चीनमा पनि सन् २०२१ को सुरुआतसँगै चिप्स डिजाइनिङ तथा म्यानुफ्याक्चरिङको क्षेत्रमा काम गर्ने १५ हजारभन्दा बढी कम्पनीहरू स्थापना भएका छन् ।

जापानले पनि सेमीकन्डक्टर उत्पादनको रिसर्चका लागि ३७ अरब जापानी येनको लगानी गरेको छ । जापानको हिताची हाइटेक कर्पोरेसनले टीएसएमसीसँगको सहकार्यमा उत्पादन गर्ने योजना अघि बढाएको छ । जापानकै अन्य २० कम्पनीसमेत यस्ता उत्पादन बढाउन काम गरिरहेका छन् । दक्षिण कोरियाले पनि यस्ता कम्पनीहरूका लागि ५१० ट्रिलियन कोरियन वानको कर छुट योजना अघि बढाएको छ ।

हामीले जुनसुकै आँकडाबाट तथ्यांक पल्टाएपनि चिप्सको अभावका कारण अन्य उत्पादनजस्तै अटो उद्योगमा पनि ठूलो संकट आइलागेको देखिन्छ । तर, चिप्सको अभावलाई कसरी परिपूर्ति गर्ने भन्नेबारे ठोस विकल्प र पहलकदमी दृश्यमा देखिँदैन । सही समाधान नभए यसले विशाल आर्थिक घाटा सहनुपर्ने र ग्राहकहरूले आफ्नो रोजाइमा अत्याधुनिक सवारीसाधन प्रयोग गर्न पाउने अवसरमा पनि कमी आउने देखिन्छ नै ।

हामी अहिले यति मात्रै भन्न सक्छौँ– सम्बन्धित क्षेत्रले बेलैमा ध्यान देओस् र अत्याधुनिक गाडी सहजै चढ्ने ग्राहकको माग र चाहना बेलैमा सम्बोधन होस् । र, आर्थिक समृद्धिको सपनालाई साकार पारोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप