बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी सम्मेलनको कार्यतालिका हेरफेर, विभिन्न आयोग गठन

मङ्गलबार, ०२ कात्तिक २०७८, २३ : १०
मङ्गलबार, ०२ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ छ । त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।

प्रवक्ता महराकाअनुसार लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ । त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ । बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिए । प्रवक्ता महराले भने, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरूको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म म्याद थपिएको छ । संगठन सम्बन्धी केही निर्णयहरू भएका छन्, १४९ जनाको सल्लाहकार समिति बनाइएको छ,ज्येष्ठ कम्युनिस्ट मञ्च बनाइएको छ ९९ जनाको, विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ, लेखा समिति २५ जनाको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको छ,भूगोल भन्दा बाहिर काम गर्ने साथीहरूको विशेष समिति १७५ जनाको बनाइएको छ, हामीले हाम्रो पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक कुराहरूको बारेमा पनि छलफल भएको छ, यसमा कार्यदलले एउटा प्रतिवेदन प्रस्तुत गरेको छ, प्रतिवेदनमा विभिन्न ४५ साना ठुला दलहरूले निर्णय गरेका छन्, त्यस निर्णयअनुसार कार्यदलले गरेको छलफललाई अनुमोदन गरेको छ ।’

माओवादीको अर्को बैठक कार्तिक ४ गते पुन बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप