बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाको केन्द्रीय समितिको आकस्मिक बैठक : महर्जनको निधनमा शोक प्रस्ताव पारित

मङ्गलबार, ०२ कात्तिक २०७८, १० : २८
मङ्गलबार, ०२ कात्तिक २०७८

विवेकशील साझाले पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको जनाएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय थिए । गत स्थानीय तहको निर्वाचनमा उनले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गरेका थिए । 

२०७२ सालको महाभूकम्पपछि उनले पाटनमा नेवाः वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व समेत गरेका थिए । 

नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय थिए । महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति भएको विवेकशीलले शोक विज्ञप्तिमा उल्लेख गरेको छ । एक साताअघि कोभिड–१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको सोमबार अपराह्न निधन भएको हो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप