मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ‘बुद्धको मूर्ति’ दिने मूर्तिकारको कथा

मङ्गलबार, ०२ कात्तिक २०७८, १० : ०९
मङ्गलबार, ०२ कात्तिक २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठक कक्षमा सजावटका विभिन्न सामग्रीका बीचमा एउटा आकर्षक बुद्धको मूर्ति छ । त्यो बुद्धको मूर्तिको बेलाबेला सामाजिक सञ्जालमा पनि चर्चा हुने गर्दछ । उक्त मूर्तिसँग सम्बन्ध जोडिएका व्यक्ति हुन्– ललितपुर निवासी स्वयम्भुरत्न ध्वाख्वा । बेलाबखत सार्वजनिक भइरहने प्रचण्डनिवासको त्यो मूर्तिको पाश्र्वभागमा स्वयम्भुरत्नको संघर्षशील जीवन–कथा जोडिएको छ ।

पाटन नागबहालमा जन्मिएका स्वयम्भुरत्नले पाटन क्याम्पसमा बीकम अध्ययन गर्दागर्दै बीचमै पढाइ छोडे । १८ बर्षको उमेरमै उनले आफ्नै योजनाबाट ह्यान्डीक्राफ्ट पसल सुरु गरे । आफ्नै पसल राख्नका लागि उनले जग्गा किने, घर बनाए अनि पसल राखे । भाडामा पसल राख्न महंगो पर्ने भएकाले आफैंले घर बनाएर त्यहाँ आफैंले बनाएका सामानहरु बिक्री गर्न थाले ।

अहिले कुपण्डोल हाइटमा ध्वाख्वाको ‘आर्ट डेकोर’ छ । आर्ट डेकोरमा बुद्धका विभिन्न स्वरुपमा मूर्ति सजिएका छन् । उनको आर्ट ग्यालेरीमा १५ सय रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म पर्ने हस्तकलाका सजावटका सामग्री छन् । धेरै जसो ८ देखि १२ हजार मूल्यसम्मका सामग्रीहरु बढी बिक्री हुने गरेको उनले बताए । जसमा विभिन्न देवी देवताका मूर्तिदेखि अधिकांश विभिन्न स्वरुप र शैलीका बुद्ध मूर्तिहरू छन् ।

स्वयम्भुरत्न उमेरले ६८ बर्षका भइसके । तर, उनको दैनिक खटाइ कुनै युवाको भन्दा कम छैन । उनलाई फुर्सदको समय कसरी बिताउने होला भन्ने चिन्ता छैन । बिहानदेखि बेलुकासम्म आफ्नो दैनिक काममा खटिइरहेका हुन्छन् । उनी भन्छन्, ‘म बच्चादेखि नै दुःख गर्दैै अघि बढेको मान्छे हुँ । १८ बर्षको छँदै मैले आफ्नो छुट्टै व्यवसाय सुरु गरिसकेको थिएँ । मैले यो काम मेरो परिवारबाट सिकेको पनि हैन । म बच्चैदेखि दुःख गर्ने, मिहिनेत गर्ने मान्छे भएको हुनाले अहिले ६८ बर्षको हुँदा पनि निरन्तर काम गरिहेको छु । शहर बजारमा बस्ने अरुले यो उमेरमा मैले जसरी काम गर्दैनन् । अरु त रिर्टायर भएर बसेका छन् ।’

‘रिलिफ आर्ट’ को प्रयोग

स्वयम्भुरत्नले धातु, ढुङ्गा तथा काठबाट बनेका मूर्ति तथा हस्तकलाका सामानलाई केमिकल उत्पादनमा ढाल्ने गरेका छन्, जसलाई ‘रिलिफ आर्ट’ भनिन्छ । जसको मास्टर पिस धातु, काठ र ढुङ्गाबाट बनेको हुन्छ । त्यसबाट ढुङ्गाको धुलो र केमिकल मिसाएर सोही स्वरुपमा अर्को बस्तु निकाल्ने गरिन्छ ।

धातुबाट बनेका मूर्ति तथा हस्तकलाका समान धेरै महंगो हुने भएकाले सबैले खरिद गर्न सक्दैनन् । केमिकलमा ढुङ्गाको धुलो मिसाएर बनाइने यस्ता सामग्री ढुङ्गा जतिकै बलियो हुने तर सस्तो पर्ने उनले सुनाए । यस्ता सामानहरु खासगरी घर, कार्यालय तथा ठूला र अत्याधुनिक होटलहरुमा सजावटका लागि राख्ने गरिन्छ ।

उपहारका रुपमा धेरैजसो बुद्धको मुर्तिको माग हुने भएकाले योसँग सम्बन्धित सामग्रीहरु उत्पादन तथा विक्री गर्ने गरिएको स्वयम्भुरत्नले रातोपाटीलाई बताए । उनी भन्छन्, ‘चार लाख, पाँच लाख पर्ने सामग्री सबै मान्छेले प्रयोग गर्न सक्दैनन्, त्यो सामानको रिप्लिका बनायो भने तीस–चालिस हजारमा तयार हुन्छ । त्यो सामान मध्यम वर्गदेखि धनाढ्य सबैले प्रयोग गर्न सक्ने हुन्छ ।’

यस किसिमका हस्तकलाका सामग्री बनाउनका लागि तीनजनाको आवश्यकता पर्छ । उनी भन्छन् ‘यसमा फ्रेम बनाउनका लागि एकजना अलग्गै चाहिन्छ । त्यसमा काष्टिङ गर्ने अलग्गै र आर्ट गर्ने आष्र्टिट अलग्गै चाहिन्छ । तर, फ्रेम बाहेक अरु सबै काम हामी आफैं परिवार मिलेर गर्छौं । हामीले ह्यान्डिक्राफ्टको काम गरेको ५० बर्ष हुन लाग्यो । यो हामीले आफैं सिक्दै, काम गर्दै आइरहेका छौँ ।’

ध्वाख्वाले कुपण्डोल हाइटमा यो पसल राखेको १० बर्ष भयो । यो बीचमा मुस्किलले १० जना बिदेशीले सामान किनेको उनले सुनाए । ध्वाख्वाले भने, ‘घर तथा होटलहरुमा सजावटका लागि यहाँको हस्तकलाका सामग्री प्रशस्तै राख्ने गरेका छन् । स्वदेशी तथा विदेशी पाहुनालाई गिफ्ट दिनका लागि लैजाने गर्छन् । विदेशमा बसेका नेपालीहरुले त रोजी रोजी लैजाने गरेका छन् । नेपाल सरकारकातर्फबाट बिदेशी पाहुनालाई केही गिफ्ट दिनुप¥यो भने पनि यहाँबाट लैजाने गर्छन् ।’

इपोक्सी रेजिन’ केमिकलमा ढुङ्गाको धुलो मिसाएर बनाइने प्रविधि हो । यो ढुङ्गा जतिकै कडा हुने गर्छ । रिप्लिका गर्दा मूल सामग्रीबाट हुबहु अर्को हस्तकताको सामग्री निस्कने उनले बताए । यो सामग्री निर्माण गर्नका लागि उनका दुई छोरी र एक छोराले पनि सघाउने गरेका छन् ।

स्वदेशमै लक्षित थियो, विदेशसम्म पुग्यो

स्वयम्भुरत्नले यस्ता हस्तकलाका सामान नेपालीहरुलाई नै लक्षित गरेर बनाएको र धेरैजसो नेपालीहरुले नै खरिद गर्ने सुनाए । तर, उनले तयार पारेका हस्तकलाका सामग्री स्वदेशमा मात्र खपत नभई विदेशमा पनि रुचाइने गरिएको छ । केही समय नेपाल आएर फेरि विदेश फर्कने नेपालीहरुले पनि हस्तकलाका सामग्री लैजाने गरेको ध्वाख्वा बताउँछन् । धेरैजसोले नयाँ घर बनाएपछि घरको भित्तामा कलात्मक बस्तुले सजाउनका लागि उनको पसलबाट सजावटका सामानहरु लैजाने गरेको उनी बताउँछन् ।

स्वयम्भुरत्नको आर्ट ग्यालरीमा केही बर्ष पहिले भारतीय कांग्रेस नेता दिग्विजय सिंह घुम्न आइपुगे । उनको पसल भ्रमण गरेर केही हस्तकलाका सामान किनेर लगे । यस्तै, हाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बनेका प्रेमबहादुर आलेले पनि वन तथा वातावरण मन्त्री भएका बेला केही बुद्धका मूर्तिहरु किनेर लगेको ध्वाख्वाले सुनाए ।

खासगरी पाहुनाका लागि उपहार दिन, नयाँ घर तथा होटल निर्माण गरेपछि भित्तामा सजाउनका लागि उनले तयार पारेका हस्तकलाका सामग्रीहरुको माग हुने गरेको छ । चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले हस्तकलाका सामग्री उपहारका रुपमा दिएका थिए, जुन ध्वाख्वाकै हातको सीप हो ।

तीनपटक त उनको ग्यालरी पूरै खाली नै हुने गरी व्यापारीले सबै सामान किनेर विदेश लगे । एकपटक नेपाली व्यापारीले चीनमा एक्स्पो हुँदा पूरै पसल उठाएर लगेका थिए । अर्को पटक तिब्बतका एकजना व्यापारीले पनि पूरै पसलका सामान खरिद गरेर लगेका थिए । अर्कोपटक पनि चिनियाँ व्यापारीले नै त्यसरी नै सामान लगेका थिए । उनीहरुले चीनमा लगेर ती सामान बिक्री गर्ने गरेको उनले रातोपाटीलाई बताए ।

खासगरी यूरोपियन पर्यटकहरुले हस्तकलाका ब्यापारीलाई चोर जस्तो ठान्ने, ठग्नका लागि बसेको जस्तो मान्ने र हेप्ने गरेको उनको तीतो अनुभूति छ । उनी भन्छन्, ‘एकपटक हामीले कुनै सामानको मूल्य १ हजार रुपैयाँ भन्दा उनीहरुले बार्गेनिङ गरेर २ सयसम्म भन्न थाले । त्यो देखेपछि मलाई रीस उठ्यो । अब यूरोपियनहरुलाई सामान नबेच्ने, बरु नेपालीहरुलाई नै बेच्ने भन्ने उद्देश्य राखेँ । नेपालीलाई सामान बेचेर नै आत्मनिर्भर हुने भन्ने सोचेर मैले रिलिफ आर्टको काम थालेर हस्तकलाका सामग्रीहरु उत्पादन गर्न थालेको थिएँ ।’

छोराछोरी विदेशिने डर छैन

आफैं सामान बनाउने र आफैंले बेच्ने पसल खोल्नुको अर्को कारण छोराछोरीप्रतिको माया पनि रहेको ध्वाख्वा सुनाउँछन् । उनी भन्छन्, ‘पढेपछि छोराछोरीहरु विदेश जालान् भन्ने मलाई ठूलो पीर थियो । उनीहरुलाई यहीँ नेपालमै बाँधिराख्नुप¥यो भनेर दुई छोरी र एक छोरालाई यो पसलको पार्टनरका रुपमा राखेको छु ।’

पसलबाट जति आम्दानी हुन्छ, त्यो ३ जनालाई नै बराबरी बाँडेर दिने गरेको सुनाउँदै उनले भने, ‘यसमा छोराछोरीलाई दुबैलाई समान हक दिएको छु । उनीहरु ड्युटी गर्न पनि यही पसलमा आउँछन् । यसले गर्दा हरेक दिन मैले छोराछोरीको मुख हेर्न पाएँ । विदेश पनि गएनन् । यहीँ आत्मनिर्भर पनि हुन पाए । अर्काको नोकरी गर्नु पनि परेन । अर्काको लात खानु पनि परेन, आफ्नै खुसीअनुसार काम गर्न पाइयो । काम गर्र्दै, सिक्दै सिकाउँदै आएँ । अब उनीहरु आफैँ यो काम गर्न सक्छन् ।’

ध्वाख्वाका ३ छोराछोरी सबैले एमबीए उर्तीण गरेका छन् । छोराछोरीलाई अन्त जागिर नखाउ, बरु अरुलाई जागिर देऊ भन्ने गरेको उनले सुनाए ।

लकडाउनमा काम नहँदा कौसी खेती 

कोरोना संक्रमणपछि ध्वाख्वाको हस्तकलाका सामग्री बनाउने काम र पसल दुबै बन्द भए । हात खाली राखेर बस्न नसक्ने र केही न केही काम गर्ने बानी भएका उनले लकडाउनमा नयाँ काम थाले– ‘कौसी खेती । उनी भन्छन् ‘मेरो कौसी खेती देखेर धेरै मान्छे प्रभावित भएका छन् । रामतोरिया, खुर्सानी, काउली, काँक्रो, गोलभेँडा, भन्टा, करेला लगायतका तरकारी कौसीमा लगाएको छु ।’

आजभोलि बिहानको समय कौसी खेतीमा बित्ने गरेको छ । उनले कौसीमा लगाएको रामतोरियाको ५० बोटले ३ महिनासम्म तरकारी खान पुग्यो । गोलभेडा, खुर्सानी पनि निकै राम्रो फलेको उनले बताए ।

बाथरुम सिंगर !

स्वयम्भुरत्नको एक्लै भएका बेला गीत गाउने सौख छ । अलिकति फुर्सद मिल्यो भने बेलाबखत एक्लै गुन्गुनाउने गर्छन् । उनलाई मोहम्मद रफी, नारायण गोपालका गीत गाउन मनपर्छ । उनी माउथ हार्मोनियम पनि बजाउन मन पराउँछन् ।

उनलाई आफ्नै आवाजमा गीत रेकर्ड गराउन भने मन छैन । उनी भन्छन् ‘म केवल बाथरुम सिंगरका रुपमा सीमित छु । त्यहाँबाट अगाडि बढ्न पनि मन लागेन । खाली समयमा झ्याल ढोका थुनेर गाइरहेको हुन्छु ।’

खाली समयमा गीत गाउनका लागि उनले स्पीकर माइक समेत किनेर राखेका छन् । तर, दुःखको कुरा, गीत गाएको सुनेर घर परिवारमा सबैले गाली गर्ने उनले सुनाए । घरमा बस्दा आफ्नै कोठामा ढोका थुनेर मात्र गीत गाउने गरेको उनले बताए ।  उनी पन्ध्र–सोह्र बर्षको उमेरमा सिकेको माउथ हार्मोनी आजभोलि पनि बजाउने गर्छन् ।

स्वयम्भुरत्नलाई जति गीत गाउन मन पर्छ, त्यति नै उनकी श्रीमतीलाई गीत मन पर्दै् । श्रीमती शान्ति प्रेमी रहेको उनी बताउँछन् । हल्लाखल्ला र आवाज आउने ठाउँमा बस्न नरुचाउने भएका कारण श्रीमतीको अगाडि गीत गाउन नमिल्ने उनले बताए । उनले भने, ‘गीतहरु बजाएको, बच्चाहरु खेलेको, कराएको उनलाई मन पर्दैन । उनलाई हल्ला मन पर्दैन । पसलमा आएका बेलामा ढोका थुनेर बेस्सरी कराएर गीत गाउने गरेको छु । यहाँ भए कसैले केही भन्दैनन् ।’

युवा अवस्थामा उनले खुब फिल्म हेरे । हलमा गएर एउटै फिल्म आठ–नौ पटकसम्म हेरे । पाटनमा रहेको अशोक हलमा धेरै फिल्म हेरे । हाल बिशाल बजार रहेको जनसेवा चलचित्र हलमा उनले अंगुलीमाल भन्ने चलचित्र हेरेको उनको दिमागमा अझै ताजा छ । तर, आजभोलि उनलाई फिल्म हेर्न मन पर्दैन, फुर्सद पनि छैन ।

करिब तीन वर्ष पहिले माओवादी अध्यक्ष प्रचण्ड एउटा काम विशेषले कुपण्डोल हाइटमा आएका बेला ‘आर्ट डेकोर’मा ठोक्किए । उनी त्यहाँभित्र छिरे । आर्ट डेकोरमा बुद्धका विभिन्न स्वरुपका मूर्तिहरु थिए । स्वयम्भुरत्न भन्छन्, ‘मेरो पसल देख्नेवित्तिकै उहाँ प्रवेश गर्नुभयो । ग्यालरीमा राखिएका आर्टहरु एकदम दंग परेर हेर्नुभयो । उहाँले एउटा बुद्ध मूर्तिलाई यो त गज्जपकै रहेछ भनेर प्रशंसा गर्नुभयो । मलाई पनि एउटा गिफ्ट दिनुपर्छ भन्ने सोचाइ आयो । र, उहाँलाई एउटा मायाको चिनो दिएँ ।’

स्वयम्भुरत्नले दिएको त्यही मायाको चिनो अहिलेसम्म प्रचण्डले आफ्नो बैठक कक्षमा सजाएर राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप