मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कश्यपको कथा : कामासुरको अन्त्य

मङ्गलबार, ०२ कात्तिक २०७८, ०८ : २९
मङ्गलबार, ०२ कात्तिक २०७८


धेरै पहिले वासनापुर नामक देशमा कामासुर नामक वासनाप्रेमी सेठ थिए । जन्म त उनको उच्च खानदानी कुलमा भएको थियो तर व्यवहार भने साह्रै निच र तस्लोस्तरको गर्थे । खासगरी कामवासनाको क्षेत्रमा निकै कुख्याति थियो उनको । उनकै कारण गाउँका उमेरदार सुन्दरी छोरीचेलीलाई इज्जत बचाएर हिँड्न पनि गाह्रो पर्ने गथ्र्यो तर उनी भने न दण्डित हुन्थे न कारवाहीमै पर्थे । प्रायः पक्राउ नै पर्दैनथे । कदाचित पक्राउ परिहाले पनि पहुँच देखाएर तत्कालै छुट्थे । फलतः उनको उदण्डता प्रतिदिन बढ्दै गएको थियो, प्रहरी प्रशासन हायलकायल ।  

कामासुर एकदिन नदी किनारमा डुल्दै थिए महादेव र पार्वती त्यतैबाट कतै जाँदै रहेछन् । पार्वती यसै पनि राम्री थिइन् । त्यसमाथि श्रृङ्गार पनि बढी नै गरेकी रहिछिन् । उनको सौन्दर्य देखेर कामासुर साह्रै मोहित भए तर महादेव साथमा भएका कारण अरूलाई जस्तै सोझै उठाएर लान भने सकेनन् । त्यसैले कुनै तरिकाले महादेवलाई छक्याएर काम फत्ते गर्ने योजना बनाई महादेवको आराधना गर्न लागे ।

उनको आराधनाबाट खुसी हुँदै महादेवले आएर भने–

‘उठ वत्स ! भन के चाहिन्छ । तिम्रो आराधनाबाट प्रशन्न छु । कठिन आराधना गरेका छौ, जे मागे पनि पाउनेछौ ।’

कामासुर यस्तै मौकाको प्रतीक्षामा थिए । कलुषित मनलाई थप कुटील पार्दै भने–

‘खासै केही चाहिन्न महादेव ! हजुरका कृपाले सबै चीज छन् । तैपनि हजुरले भनिहाल्नुभयो । वरदान दिनै चाहनुहुन्छ भने जसको टाउको आफ्नो हात राख्नेछु उसको तत्कालै मृत्यु होस् ।’

‘यति कडा ?’ महादेवले मुस्कुराउँदै भने–

‘यस्तो वरदान दिन त नहुने हो तर वचन दिहालेँ । निसन्देह वरदान त पाउँछौ तर दुरुपयोग चाहिँ नगर्नु नि ।’

‘यसमा शङ्कै छैन महादेव !’ 

त्यसपछि तथास्तु भनेर महादेव हिँडे तर दुईतीन पाइलो पनि अघि बढ्न भ्याएका थिएनन् कामासुरले चिच्याउँदै भने–

‘एऽऽ पख्नुस् पख्नुस् ।’

महादेवले किन, के भयो र भन्दै फर्केर हेर्न के खोजेका थिए उनी त महादेवकै टाउको हात राख्न तम्सिसकेका रहेछन् । अब महादेवलाई आपत प¥यो । उनी डराएर भाग्न लागे । विचरा बूढा महादेवले जहाँ गए पनि लुक्ने स्थान पाएनन् । यो कुरा सर्वत्र फिँजियो । सबै महादेव आपतमा छन् रे मात्र भन्थे बचाउन जाने हिम्मत कसैको पनि थिएन ।

कुरा बिस्तारै चतुर्भुज शर्मा (चतुरे) को कानसम्म पनि पुग्यो । त्यसपछि उनी लौ बित्यास पर्न आँट्यो भन्दै कामासुरको अगाडि गएर उभिए । एउटा सामान्य मानिसले बाटो छेकेको देखेर कामासुरले रिसाउँथे भने–

‘ओ चन्दने ! मेरो बाटो छाड ।’

‘बाटोले त छाडौँला नै तर पहिले यो त बताउनुस् किन यसरी कुद्दै हुनुहुन्छ ?’

‘जे भए पनि तिमीलाई के चासो ? आफ्नो काम गरन ।’

‘तैपनि सहयोग गर्न सक्छु कि भनेको नि ।’

‘कस्ताकस्ता कहाँ गए मुसाको चल्ला दरबारमा ?’

‘त्यसो नभन्नुस् महाशय ! छेस्को पनि काममा आउँछ ।’

चतुरेको कुरा कामासुरलाई ठीकै लाग्यो । आखिभूईँ कक्र्याउँदै भने–

‘महादेवलाई खोज्दै हिँडेको,  यतैबाट गएका थिए । कता लुके कता । कतै तिमीले पो देखेका थियौ कि ?’

‘ए कुरा त्यसो पो ? देख्न त देखेको थिएँ तर यता होइन ऊ पल्लो बाटोमा । अहिलेसम्म अलि परै पुगिसकेका होलान् तर यो त बताउनुस् महादेवलाई खोज्दै हिँड्नुको कारण चाहिँ के हो नि ?’

‘किनकि उनको टाउकोमा हात राख्नुछ ।’

‘महादेवको टाउकोमा हात राख्नुछ ?’

‘हो हात राख्नुछ ।’

‘किन र ?’

‘किनकि उनलाई भस्म पार्नु छ ।’

‘उनको टाउकोमा हात राख्दैमा भस्म हुन्छन् नै भन्ने ग्यारेन्टी छ र ?’

‘छ, किन छैन ।’

‘कसरी ?’

‘कसरी भन्ने नि ।’ नालीबेली लगाउँदै कामासुरले भने–

‘महादेवलाई झुक्याउन उनको तपस्या गरेको थिएँ । उनले खुसी भएर यही वरदान दिएका छन् ।’

‘त्यो त बुझियो अनि महादेवलाई भस्म पार्नुको कारण चाहिँ के हो नि ?’

‘किनकि उनकी श्रीमती पार्वती हत्याउनु छ ।’

‘पार्वती हत्याउने रे ?’ चतुरेले कुरा घुमाउँदै भने–

‘महादेवले तपाईँलाई ढाँटे जस्ता छन् ।’

‘हो र  ?’

‘हो तनि ।’

‘कारण ?’

‘प्रष्टै छ नि, हिजो आज उनको श्राप र वरदान कुनै पनि काम लाग्दैनन् ।’

‘कहाँ त्यस्तो हुन्छ ?’

‘हुन्छ, किन हुँदैन ।’

‘के छ प्रमाण ?’

‘प्रमाण एउटा होइन धेरै छ ।’

‘जस्तै ?’

‘जस्तै कि पहिलो कुरा उनलाई दक्षप्रजातिको श्राप परेको छ । दोस्रो कुरा सतिदेवी मरेदेखि उनी बौलाएर हिडेका छन् । तपाईँजस्ता ठूला सेठले पनि त्यस्तो बहुलाका कुरा पत्याउने ?’

‘त्यो त हो तर वरदानले काम गर्दैन भन्ने पनि त छैन नि ?’

‘परीक्षा गर्नुस् न ।’

‘कुरा त ठीकै हो तर गर्ने पो कसरी ?’

‘आफ्नै टाउकोमा राख्ने नि । अहिलेको अहिल्यै दूधको दूध, पानीको पानी भइहाल्छ नि ।’

चतुरेका कुरा कामासुरलाई ठीकै लाग्यो । दायावाया कतै नहेरी त्यस्तै गरे । महादेवको वरदान न हो किन खेर जान्थ्यो र तत्कालै टाउको फुटेर त्यहीँ भस्म भए ।

भनिन्छ, वासनाले मानिसलाई अन्धो बनाउँछ । कामासुरलाई पनि त्यस्तै भयो । आफ्नो टाउकोमा हात राख्दा आफैँ मरिन्छ कि भन्ने कुरा उनले सोच्नुपर्ने थियो तर वासनाले गर्दा यतिसम्म पनि हेक्का राख्न सकेनन् । अन्ततः त्यही भयो जे हुनुपर्ने थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप