मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सोमबार, ०१ कात्तिक २०७८, १३ : ०४
सोमबार, ०१ कात्तिक २०७८

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

यता ईलामको माइजोगमाई गाउँपालिका-२ घारेगाउँस्थित सडकमा को.१ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

त्यस्तै सुनसरीको कोशी गाउँपालिका-३ स्थित सडकमा प्र.३-०१-०२४ च ४२६७ नम्बरको गाडीले को.५ प ७९१६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रमधुनी नगरपालिका-१ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय रोहित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा शान्ति चोकमा ग.३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने म्याग्दी घर भएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकमा बा.१४ च १३८७ नम्बरको गाडीले भे.८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई आइतबार राति ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अर्जमान ईद्रिसीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र साईकल चालकको सोही नर्सिङहोमना उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप